शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

तीन महिनापछि चितवन मिल्क उद्योगमा दूध प्रशोधन

मंगलबार, असोज २८ २०८२
तीन महिनापछि चितवन मिल्क उद्योगमा दूध प्रशोधन

जेठ अन्तिम साताबाट बन्द रहेको उद्योगमा अहिले दूध आउन थालेपछि सञ्चालन ल्याइएको हो।

चितवन- दूधको अभावमा बन्द रहेको चितवन मिल्क उद्योग डेरी र सहकारीहरुले दूध ल्याएपछि पुनः सञ्चालनमा आएको छ। जेठ अन्तिम साताबाट बन्द रहेको उद्योगमा अहिले दूध आउन थालेपछि सञ्चालन ल्याइएको हो।

उद्योगका प्रबन्धक दुर्गा पराजुलीका अनुसार गत असारमा दुई दिन मात्रै सञ्चालनमा आएर बन्द भएको उक्त उद्योग असोज पहिलो सातादेखि क्रमशः सञ्चालनमा आएको हो। अहिले दैनिक एक लाख लिटरसम्म दूध आउन थालेको छ। उनले भने, 'सालाखाला ८० हजार लिटर दूध दैनिक आउन थालेको छ।'

प्रशोधनका लागि डेरी र सहकारीहरुले दूध नल्याएपछि उद्योग आफैले दूध किनेर सञ्चालन गर्ने तयारीसमेत गरेको थियो। सो समयमा सबैतिर दूधको अभाव भएपछि उद्योग सञ्चालन हुन सकेको थिएन।

दसैँ बिदाको समयबाहेक यो महिना लागेपछि नियमितजस्तो उद्योग सञ्चालनमा रहेको प्रबन्धक पराजुलीले जानकारी दिए। किसानबाट संकलित दूध बिक्री नभएपछि डेरी र सहकारीहरुले यहाँ ल्याएर प्रशोधन गर्ने गर्दछन्। उद्योगले धुलो (पाउडर) दूध र नौनी (बटर) उत्पादन गर्ने गर्दछ।

चितवन, मकवानपुर, नवलपरासी, रुपन्देहीलगायतका जिल्लाबाट दूध आउन थालेको प्रबन्धक पराजुलीले जानकारी दिए। गत वर्ष बिक्री नभएपछि डेरी र सहकारीले यहाँ थन्काएका नौनी, घ्यू र धुलो दूध लगिसकेका छन्। प्रशोधन गरिएका उत्पादन सम्बन्धित संस्थाले नलगेपछि उद्योगका सबै ठाउँ नौनी र पाउडर दूधले भरिएको थियो।

भरतपुर महानगरपालिका-१ ठिमुरामा उद्योग रहेको छ। विसं २०७५ देखि उद्योगले डेरी र सहकारीको दूध शुल्क लिएर प्रशोधन गर्ने काम गरिरहेको छ। प्रतिलिटर पाउडर दूधको ११३ र घ्यू (बटर) को प्रतिकिलो ५५ रूपैयाँ लिएर उद्योगले प्रशोधन गर्दै आएको छ।

विसं २०६४ मा स्थापना भएको सो उद्योग २०७२ सालमा आएको भूकम्पसँगै बन्द भएको थियो। बन्द हुनुअघि उद्योग आफैले दूध खरिद गरेर प्रशोधन गरी बजारमा बिक्री गर्दै आएको प्रबन्धक पराजुलीले बताए। रासस


प्रकाशित : मंगलबार, असोज २८ २०८२१६:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend