शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

झापामा सयपत्री फूलको माग बढ्यो

मंगलबार, असोज २८ २०८२
झापामा सयपत्री फूलको माग बढ्यो

'फूल फलाउनु मात्र पर्दोरहेछ, ग्राहकको अभाव नहुने रहेछ। यसपटकबाट पाठ सिकेर आगामी दिनमा अझ व्यवस्थित गरेर थप खेती बढाउँछौँ।'

झापा- फूलहरूको पर्वका रूपमा रहेको नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै सयपत्री फूलको माग बढ्न थालको छ। तिहारमा लक्ष्मी पुज्न, घर सजाउन र दाजुभाइलाई लगाउनका साथै जिल्लामा हुने हरेक कार्यक्रममा अतिथिलाई सयपत्री फूलको माला लागाइदिने प्रचलन सुरु भएसँगै माग बढेको हो।

विर्तामोड नगरपालिका-७ का फूल किसान विवेक साहले तिहारका लागि दैनिकजसो माग गर्नेको सङ्ख्या बढिरहेको बताए। उनले भिनाजु दीपक साहसँगको समन्वयमा दुई बिघा जमिन भाडामा लिएर फूलको व्यावसायिक खेती गर्दै आएका छन्।

सयपत्री फूलको ८० हजार बिरुवा रोपेका साहले हाल दैनिक ३०० माला बिक्री गर्दै आएको बताए। उनले फूल टिप्ने र माला बनाउने काममा स्थानीयलाई रोजगारी प्रदान गरेका छन्।

'तिहारका लागि धमाधम माग आइरहेका छन्', साहले भने, 'गत हप्ता आएको अविरल वर्षाले करिब १० हजार माला हुने फूल नष्ट गर्‍यो। मागअनुसार पुर्‍याउन सक्छु कि सक्दिन चिन्ता थपिएको छ।' उनको ढकमक्क फूलेको फूल टिप्न नपाउँदै पानीले नष्ट गरिदिएको थियो।

उनले हाल दैनिक दुईदेखि ३०० माला बिक्रीका लागि विर्तामोड, दमक र विराटनगरका व्यापारीलाई पढाउँदै आएको बताए। उनको फूलबारीमा टिकटक बनाउने र भिडियो खिच्ने स्थानीयवासीको भीड लाग्ने गरेको छ। 

साहले प्रतिमाला ५० रूपैयाँका दरले बिक्री गर्दै आएको जानकारी दिए। हालसम्मको मूल्य ५० रूपैयाँ तोकिए पनि तिहारमा अवस्था हरेर मूल्य कायम गरिने उनको भनाइ छ। 'हेर्दै रहर लाग्ने गरी फूल फुलेको छ', उनले भने, 'बाढीले क्षति गरे पनि लगानी उठाउन सक्छु कि भन्ने आँट छ।'

उनका अनुसार एकपटक लगाएको सयपत्री फूल तीन पटकसम्म टिप्न मिल्छ। उनले एकपटकको टिपाइबाट २० हजार बढी माला हुने बताए। उनले तिहारमा एक लाख माला हुने फूल उत्पादन गरेर बिक्री गर्ने लक्ष्य राखेको भन्दै पानीका कारण लक्ष्य पूरा नहुनेमा चिन्ता व्यक्त गरे।

पहिलोपटक फूलखेती गरेका साहले भने, 'फूल फलाउनु मात्र पर्दोरहेछ, ग्राहकको अभाव नहुने रहेछ। यसपटकबाट पाठ सिकेर आगामी दिनमा अझ व्यवस्थित गरेर थप खेती बढाउँछौँ।'

यसैगरी, विर्तामोड नगरपालिका-९ मा सुष्मा पौडेलले पनि सात कठ्ठा जमिनमा सयपत्री फूलको खेती गरेकी छिन्। उनले केही फूल दसैँमा बिक्री गरिसकेको बताइन्। उनको बारीमा ढकमक्क फूलको सयपत्रीमा पनि पानीका कारण क्षति पुगेको छ। 

'तिहारका लागि साचेर राखेको करिब दुई लाख ५० हजार रूपैयाँको फूल पानीका कारण नष्ट भयो', पौडेलले भनिन्, 'धेरै माग आएको थियो अब पुर्‍याउन सक्ने स्थिति छैन।' विगत पाँच वर्षदेखि व्यावसायिकरुपमा फूलखेती गर्दै आएकी उनले पछिल्लो समय हरेक कार्यक्रममा खादाको सट्टा सयपत्री फूलको मालाको प्रयोग बढेसँगै माग बढेको बताइन्।

जिल्लाको विर्तामोड, बाहुनडाँगी, गौरादहलगायत स्थानमा सयपत्री फूलको व्यावसायिक खेती हुन थालेको छ। रासस


प्रकाशित : मंगलबार, असोज २८ २०८२११:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend