शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

वीरगञ्जबाट भन्सार छली गरेको दुई किलो सुन र १० किलो चाँदी बरामद

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असोज २८ २०८२
वीरगञ्जबाट भन्सार छली गरेको दुई किलो सुन र १० किलो चाँदी बरामद

सशस्त्र प्रहरीले सुनजस्तो देखिने थप पाँच सय ५९.१० ग्राम र चाँदीजस्तो देखिने पाँच सय ५० ग्राम पनि बरामद गरेको जनाएको छ।

वीरगञ्ज- सशस्त्र प्रहरी बल नेपाल पर्सा र  पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले भन्सार छली गरेर गोदाममा राखेको भन्दै दुई हजार २५४ ग्राम सुन र १० हजार ३५४ ग्राम चाँदी बरामद गरेको छ। 

विशेष सूचनाका आधारमा वीरगञ्ज महानगर-८ स्थित माईस्थानस्थित अभिषेक सर्राफको घरमा अवैध रूपमा भन्सार छली गरेको सुन र चाँदी गोदाममा रहेको सूचनाका आधारमा सो परिमाणको सुन र चाँदी बरामद गरेको हो।
 
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटरका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले बरामद भएको सुनचाँदी र नगद राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको जानकारी दिए।

'भन्सार छली गरेर सुन चाँदी भित्र्याएको आशंकामा सोमबार छापा मर्दा सो परिमाणको सुनचाँदी बरामद भएको हो', उनले भने, 'संयुक्त टोलीद्वारा उक्त सुनचाँदी नियन्त्रणमा लिई सुन चाँदी व्यवसायी संघमा लगी मापन गर्दा सुन दुई हजार २५४.८६ ग्राम र चाँदी १० हजार ३५४.०७ ग्राम फेलापरेको छ।' 

सशस्त्र प्रहरीले सुनजस्तो देखिने थप पाँच सय ५९.१० ग्राम र चाँदीजस्तो देखिने पाँच सय ५० ग्राम पनि बरामद गरेको जनाएको छ। त्यसैगरी सोही गोदामबाट एक लाख नौ हजार नेपाली रुपैयाँ र भारु ४१ हजार ६० पनि बरामद गरेको छ। 

पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयका प्रमुख हरिप्रसाद शर्माले सुनचाँदीको परीक्षण र अन्य अनुसन्धानको काम अघि बढाइने बताए। 'बरामद भएको सुनचाँदीको परीक्षण भएपछि राजस्व अनुसन्धान विभागबाट अनुसन्धान अधिकृत तोकेर आएपछि छानबिनको प्रक्रिया अघि बढ्नेछ', उनले भने। राजस्व चुहावटको सूचनाका आधारमा सो सुनचाँदी बरामद भएकाले पनि आवश्यक कागजात हेरेर मुद्दा चलाइने उनको भनाइ छ। रासस


प्रकाशित : मंगलबार, असोज २८ २०८२१०:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend