शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अर्थशास्त्रीलाई

सोमबार, असोज २७ २०८२
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अर्थशास्त्रीलाई

उनीहरुलाई ‘नवप्रवर्तनमा आधारित आर्थिक वृद्धिलाई व्याख्या गरेको’ (इनोभेसन ड्रिभन इकोनोमिक ग्रोथ)मा यो पुरस्कार दिइएको हो।

काठमाडौं- यो वर्ष अर्थात् २०२५ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा भएको छ। नोबेल पुरस्कार छनोट समितिले तीनजना अर्थशास्त्रीलाई २०२५ को नोबेल पुरस्कार दिने निर्णय गरेको हो।

सोमबार रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले २०२५ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा गरेको हो। समितिले तीनजना अर्थशास्त्री जोयल मोकिर, फिलिप एगियन र पिटर हाविटलाई २०२५ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।

उनीहरुलाई ‘नवप्रवर्तनमा आधारित आर्थिक वृद्धिलाई व्याख्या गरेको’ (इनोभेसन ड्रिभन इकोनोमिक ग्रोथ)मा यो पुरस्कार दिइएको हो। पुरस्कारको आधा जोयल मोकिरलाई ‘प्राविधिक प्रगतिमार्फत निरन्तर वृद्धिका लागि आवश्यक पूर्वसर्तहरु पहिचान गरेको’मा प्रदान गर्ने निर्णय भएको छ।

पुरस्कारको बाँकी आधा संयुक्तरूपमा फिलिप एगियन र पिटर हाविटलाई ‘क्रिएटिभ डिस्ट्रकसन’मार्फत निरन्तर वृद्धिको सिद्धान्तका लागि दिइएको नोबेल पुरस्कार छनोट समितिले जनाएको छ।

जोयल मोकिर (डच-इजरायली-अमेरिकी आर्थिक इतिहासकार)ले ऐतिहासिक स्रोतहरुको प्रयोग गर्दै दिगो आर्थिक विकासको लागि आवश्यक सामाजिक र बौद्धिक वातावरणलाई व्याख्या गरेका हुन्। उनको अनुसन्धानले प्राविधिक प्रगति तबमात्र निरन्तर हुन्छ जब समाजमा नयाँ विचार र परिवर्तनप्रतिको खुलापन कायम रहन्छ र नवीनतालाई वैज्ञानिक व्याख्याले समर्थन गर्छ भन्ने धारणा अघि सारेका हुन्।

फिलिप एगियन फ्रान्स र पिटर हाविट क्यानडाका अर्थशास्त्री हुन्। उनीहरुले क्रिएटिभ डिस्ट्रकसनको शक्तिशाली सिद्धान्तलाई गणितीय मोडेलमा ढालेर व्याख्या गरे। यो सिद्धान्तले नयाँ र उत्कृष्ट उत्पादन बजारमा आउँदा पुराना प्रविधिहरु र कम्पनीहरुलाई विस्थापित गर्छ, जसले गर्दा अर्थतन्त्रमा वृद्धि हुन्छ। यो प्रक्रियाले सिर्जना र क्षति दुवै समावेश गर्दछ भन्ने उनीहरुको व्याख्या रहेको छ।

पुरस्कार समितिका अनुसार यी तीन अर्थशास्त्रीहरुको कामले नीति निर्माताहरुलाई आर्थिक प्रगतिको मूल जरो बुझ्न र नवीनतालाई प्रोत्साहन गर्ने नीतिहरु बनाउन मद्दत गरेको विश्लेषण गरिएको छ।

यो पुरस्कार नोबेल पुरस्कार सिजनको अन्तिम घोषणा हो। सन् १९६८ यता अर्थशास्त्रतर्फ ५६ पटक पुरस्कार दिइएको र हालसम्म ९६ जना अर्थशास्त्रीहरुले पुरस्कार प्राप्त गरेका छन्।

नोबेल पुरस्कार छनोट समितिले २०२५ को मेडिकल, फिजिक्स, केमेस्ट्री, साहित्य र शान्तितर्फको विधामा गतसाता नै पुरस्कार घोषणा गरिसकेको छ। 


प्रकाशित : सोमबार, असोज २७ २०८२१७:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend