शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

सुरक्षित बस्ती बसाउन नसक्दा हरेक वर्ष विपद्‌बाट ठूलो जनधनको क्षति : मन्त्री घिसिङ

सोमबार, असोज २७ २०८२
सुरक्षित बस्ती बसाउन नसक्दा हरेक वर्ष विपद्‌बाट ठूलो जनधनको क्षति : मन्त्री घिसिङ

‘नदीकिनार सुन्दर नभइकन सहरी सौन्दर्य कायम हुन नसक्दैन, त्यसैले काठमाडौं उपत्यकाका नदी करिडोर किनारमा रहेका बस्तीको व्यवस्थापन आवश्यक छ’, उनले भने।

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले मानिसको सामाजिक, वातावरणीय र आर्थिक पक्ष जोड्न नसक्दा एकीकृत बस्ती कार्यक्रम सफल हुन नसकेको बताएका छन्।

विश्व बसोबास दिवसको अवसरमा सहरी विकास तथा भवन निर्माण विभाग र संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रमले सोमबार राजधानीमा गरेको कार्यक्रममा भौगोलिक जोखिम परीक्षणमार्फत सुरक्षित स्थान पहिचान गरेर बस्ती बसाउन नसक्दा हरेक वर्ष विपद्‌बाट ठूलो जनधनको क्षति हुने गरेको उल्लेख गरे।

‘देशका केही ठाउँमा एकीकृत बस्ती निर्माण गर्यौँ, त्यहाँका समुदायलाई सामाजिक, वातावरण र आर्थिक पक्षसँग जोड्न नसक्दा विकास गरिएका बस्ती खाली देखिए, ग्रामीण र सहरी क्षेत्रका अव्यवस्थित बस्तीलाई सुरक्षित एवम् व्यवस्थित बनाउनु अहिलेको सबैभन्दा ठूलो चुनौती हो’, उनले भने।

यस्तै उनले मनसुनजन्य विपद्‌बाट बच्न पूर्वसूचना प्रवाह गर्दागर्दै पनि भौगोलिकरुपमा जोखिमयुक्त स्थानको म्यापिङ गरी सुरक्षित स्थानको पहिचान गरेर बस्ती स्थानन्तरण गर्न नसक्दा हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरेको बताए। अब भौगोलिम म्यापिङ गरी असुरक्षित बस्ती स्थानन्तरण गर्नु पर्ने देखिएको उनको भनाइ छ।

उनले सहर विकासको गुरुयोजना तयारी गरी कुनै एउटा सहरलाई नमुनाको रुपमा विकास गरी सोहीअनुसार पूर्वाधारका संरचना निर्माण गरिने र त्यसलाई अन्य सहर विकासमा पनि अनुसरण गर्न सकिने उल्लेख गरे।

‘जग्गा खण्डीकरण गरी सहर विकास गरिने अभ्यास रहेको छ, अब यसलाई अन्त्य गर्न सहर विकासको एकीकृत गुरुयोजना तयार गरी अगाडि बढ्नु पर्नेछ’, घिसिङले भने, ‘नदी किनार सुन्दर नभइकन सहरी सौन्दर्य कायम हुन नसक्दैन, त्यसैले काठमाडौं उपत्यकाका नदी करिडोर किनारमा रहेका बस्तीको व्यवस्थापन आवश्यक छ।’

उनले सडक, बिजुली,टेलिफोन, खानेपानीलगायतका पूर्वाधार ग्रामीण क्षेत्रमा पुगेको तर त्यहाँ बस्ती भने घट्दै गएको बताए।


प्रकाशित : सोमबार, असोज २७ २०८२१७:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend