काठमाडौं- यो साता पहिलो कारोबारमा नै व्यापक घटेको सेयर बजार दोस्रो दिन भने बढेको छ। सोमबार बजार ४४.२५ अंकले बढेर २५४७.६० बिन्दुमा उक्लिएको छ।
२ सय वटा कम्पनीको सेयर मूल्य बढ्दा बजारमा ४ अर्ब ९७ करोड ५४ लाख रूपैयाँको कारोबार भएको छ। आज ४४ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ८ वटा कम्पनीको स्थिर रहेको छ।
गएको साता भएका तीन कारोबारमा बजार समग्रमा ८१.३२ अंकले घटेको थियो। यो साता आइतबार ७८.८३ अंकले घटेर बजार २५०३.३५ बिन्दुमा झरेको थियो।
गएको साताको अन्तिम कारोबारमा बिहीबार कारोबार सुरु भएको तीन मिनेटमा नै सकारात्मक सर्किट ब्रेक लागेको भए पनि बजारले अपेक्षाकृत उचाइ लिन सकेको थिएन। बिहीबार कारोबार सकिँदा बजार २२.५९ अंकले बढेर २५८२.१९ बिन्दुमा पुगेको थियो। त्यसअघि मंगलबार ५८.५५ र बुधबार ४५.३६ अंकले बजार घटेको थियो।
नयाँ चुनावी सरकार बनेकाले चुनावसम्म बजारले गति समात्ने विश्लेषकहरूले बताइरहेका छन्। सरकारले निजी क्षेत्रमैत्री विभिन्न नीतिका साथै पुँजी बजारलाई समेत विशेष ध्यान दिइरहेको छ।
२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्। गएको वर्ष साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजार त्यसयता उतारचढावमा देखिएकोमा गएको साउन १३ गते पनि ३००२.०८ बिन्दुसम्म पुगेको थियो।
सरकारले निजी क्षेत्रमैत्री विभिन्न नीतिका साथै पुँजी बजारलाई समेत विशेष ध्यान दिइरहेको भए पनि लगानीकर्ता विश्वस्त देखिन सकेका छैनन्। राजनीतिक अस्थिरता देखिँदा बजारले लय समात्न मुस्किल भइरहेको छ। पर्ख र हेरको सोचमा देखिएका लगानीकर्तामा बजारप्रतिको विश्वास फर्कँदै जाने विश्लेषकहरूले बताइरहेका छन्।