शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

घरआँगनकै फूलबाट आम्दानी गर्दै स्थानीय

सोमबार, असोज २७ २०८२
घरआँगनकै फूलबाट आम्दानी गर्दै स्थानीय

घरआँगनको शोभाका लागि रोपिएका केही बोट फूलबाटै नगद पाउन थालेपछि यहाँका गृहिणीले आम्दानी लिन थालेका हुन्।

महोत्तरी- तिहार पर्व नजिकिँदै गर्दा यहाँका सर्वसाधारणलाई आफ्नै घरकरेसाको फूल नगद आर्जनको स्रोत बनेको छ। 

फूल खोज्दै हिँडेका व्यापारीले बैना रकम दिन थालेपछि यहाँका स्थानीय दंग छन्। घरआँगनको शोभाका लागि रोपिएका केही बोट फूलबाटै नगद पाउन थालेपछि यहाँका गृहिणीले आम्दानी लिन थालेका हुन्।

'के छन् र त्यही ५० जति सयपत्रीका बोट होलान् घर वरिपरी, व्यापारीले अहिले नै एक हजार बैना थमाएर गए', भंगाहा-५ राजपुरकी गृहिणी हरिप्रिया महतो भन्छिन्, 'यो फूल दिपावलीताका फुल्ने गरी लगाउने हो भने त राम्रै आम्दानी पो हुने रहेछ।' फूल लिन आउँदा अझै एक हजार दिने बोलकबोल व्यापारीले गरेका उनको भनाइ छ।

'फूलबाट पैसा पाइएला भन्ने सोचेकै थिएन, अहिले घरै आएर व्यापारीले पैसा दिँदैछन्', हरिप्रियाकै छिमेकी रामवती चौधरी भन्छिन्, 'अहिले यही पैसाले मेरो बटुवा (कपडाको सुर्के थैली) धनी भएको छ।'

आफ्नो घरआँगन र करेसाका करिब ६०/६५ बोट सयपत्री र १५/१६ वटा मखमली फूलबाटै दुई हजार प्राप्त गरेको उनले बताइन्। आगामी वर्षको दिपावलीताकालाई २०० बोट फूल फुलाउने चौधरीको धोको छ।

मिथिलामा दीपावली थरिथरिका फूलका माला र जताततै झिलिमिली बत्तीको उज्यालोको पर्व मानिन्छ। यस पर्वमा मैथिल परम्पराका कागपूजा, लक्ष्मीपूजा, गोधन र भैयादुजसम्मका लागि चाहिने मालाको माग बढ्दै गएपछि फूल आम्दानीको स्रोत बनेको हो। पर्वअघि फूल खोज्दै बस्ती/बस्ती पस्ने व्यापारीले सोचेभन्दा बढी मूल्य दिन थालेपछि हम्मेसी पैसा नपर्ने स्थानीय हौसिएका छन्।

जिल्लामा फूलको व्यावसायिक खेती विस्तार धेरै नभए पनि अब यस्को सम्भावना रहेको कृषि विज्ञ बताउँछन्। दिपावली, छठ जस्ता पर्व र सालैभरि आयोजना हुने धार्मिक अनुष्ठान एवं पूजाअर्चना तथा सभा समारोहलाई लक्षित गरी व्यावसायिक खेती सुरु गरिए जिल्लामा थप एउटा भरपर्दो आर्जनको बाटो खुल्ने कृषि ज्ञान केन्द्र महोत्तरीका सूचना अधिकारी अविरल महतो बताउँछन्। रासस


प्रकाशित : सोमबार, असोज २७ २०८२११:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend