शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

दुई महिनाभित्र लाइसेन्स प्रिन्ट सुरु गर्नेगरी सरकारले थाल्यो प्रिन्टर खरिद प्रक्रिया

आगजनीबाट बचेको ५ लाख स्मार्टकार्ड प्रिन्ट गर्न मिल्ने अनुमान

सोमबार, असोज २७ २०८२
दुई महिनाभित्र लाइसेन्स प्रिन्ट सुरु गर्नेगरी सरकारले थाल्यो प्रिन्टर खरिद प्रक्रिया

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विभागलाई लाइसेन्स वितरणका काम आवश्यक सबै प्रक्रिया पूरा गरेर दुई महिनाभित्र थाल्न भनेको छ। त्यसका लागि प्रिन्टर खरिदको प्रक्रिया अर्थको स्वीकृतिअनुसार फास्ट ट्राकबाट गर्ने व्यवस्था मिलाइने मन्त्रालयले जनाएको छ।

काठमाडौं- गएको भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा आगजनीबाट यातायात व्यवस्था विभाग पनि खरानी बन्यो। मीनभवनमा रहेको विभागका मुख्य भवनदेखि परिसरका सबै भवन जलेर नस्ट भएको थियो। सोहीकारण अहिले विभाग प्रांगणको खाली ठाउँबाट सेवाप्रवाह गरिरहेको छ। 

कार्यालय भवन मर्मत जारी राख्दै सेवाप्रवाह गर्दै आएको विभागले रोकिएका सबै काम क्रमशः अघि बढाउँदै लगेको हो। विभागमा रहेको लाइसेन्स प्रिन्टिङ मेसिनदेखि स्मार्टकार्डसहित सम्पूर्ण कागजात जलेको र सर्भरमा पनि समस्या आएको थियो। जसका कारण अहिले लाइसेन्स तथा सवारी दर्तासम्बन्धी ईडीएल/भीआरएसले काम गरिरहेको छैन। 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विभागलाई लाइसेन्स वितरणका काम आवश्यक सबै प्रक्रिया पूरा गरेर दुई महिनाभित्र थाल्न भनेको छ। त्यसका लागि प्रिन्टर खरिदको प्रक्रिया अर्थको स्वीकृतिअनुसार फास्ट ट्राकबाट गर्ने व्यवस्था मिलाइने मन्त्रालयले जनाएको छ। 

विभागले प्रिन्टिङ मेसिन खरिदको लागत अनुमानलगायत टेन्डर डकुमेन्ट तयार गरिरहेको र यही सातासम्ममा टेन्डर आह्वान गर्नेगरी तयारी गरिरहेको मन्त्रालयका एक अधिकारीले बताए।

‘सेवाग्राहीलाई सक्दो छिटो लाइसेन्स प्रिन्ट गरेर दिनेगरी काम गर्न मन्त्री कुलमान घिसिङले निर्देशन दिएकाले विभागसँग विभिन्न चरणमा छलफल भइरहेको छ,’ ती अधिकारीले भने, ‘विभागले यही सातासम्ममा प्रिन्टिङ मेसिनको टेन्डर आह्वान हुने बताएको छ। मेसिन खरिदको लागत ५ देखि ६ करोड रुपैयाँ पर्ने देखिएको छ।’

त्यस्तै विभागले लाइसेन्सको फारम खोल्नेलगायत काम पनि जतिसक्दो छिटो सञ्चालनमा ल्याउनेगरी काम भइरहेको जनाएको छ। मन्त्री घिसिङ विभागबाट प्रवाह हुने सबै काम जतिसक्दो छिटो सञ्चालन गर्न निर्देशन दिएका छन्।

आन्दोलनका क्रममा यातायात व्यवस्था विभागमा भएको तोडफोड, लुटपाट तथा आगजनीबाट इलेक्ट्रोनिक उपकरण, प्रिन्टर, सर्भरमा क्षति पुगेपछि लाइसेन्ससम्बन्धी सेवा अनिश्चितकालका लागि स्थगित गरिएको थियो। क्षति पुगेको सर्भर मर्मत र आवश्यक उपकरण जुटाइ सबै सेवा सञ्चालनमा ल्याउन अझै कम्तिमा एक महिनाभन्दा बढी समय लाग्नेछ।

आवश्यक कम्प्युटर, प्रिन्टर, हार्डडिस्क, फर्निचर, इलेक्ट्रोनिक्स उपकरणलगायत सामान जुटाउने काममा विभाग सक्रिय रुपमा लागेको छ। त्यस्तै विभागले आफ्नो मूल भवन रंगरोगनदेखि मर्मत तथा फर्निचर ल्याउने काम पनि सँगसँगै गरिरहेको छ। 

आगजनीबाट विभागको सर्भरमा क्षति पुगे पनि लाइसेन्ससम्बन्धी विवरण (डेटा) सुरक्षित रहेको विभागले बताएको छ। लाइसेन्स छाप्न राखिएको स्मार्ट कार्डमध्ये ५ लाख खाली कार्ड सुरक्षित रहेको र त्यो प्रिन्ट गर्न योग्य रहेको अनुमान विभागका अधिकारीहरुले गरेका छन्। उनीहरुले कार्ड हेर्दा प्रिन्टयोग्य रहेको र प्रिन्ट गर्दा के हुन्छ यकिन भएको मन्त्री घिसिङलाई ब्रिफिङ गरेका थिए।  

आगजनीबाट छापेर राखिएका २० हजार बढी लाइसेन्स, एक लाखभन्दा बढी खाली स्मार्ट कार्ड जलेर खरानी भएका थिए। देशभरबाट दैनिक औषतमा ६ देखि ७ हजारसम्म नयाँ लाइसेन्स र नवीकरणका लागि आवेदन आउने गरेको विभागको तथ्यांक छ। ट्रायल पास भएका र नवीकरणका लागि आवेदन दिएका करिब ३० लाख लाइसेन्स छाप्न बाँकी छ।

अहिले देशभरका ४२ वटा प्रदेश सरकार मातहतमा रहेका यातायात व्यवस्था कार्यालयबाट लाइसेन्स सेवा प्रदान गरिँदै आएको छ।

यातायात व्यवस्था विभागको केन्द्रीय सर्भर नबनुन्जेल लाइसेन्ससम्बन्धी कुनै पनि सेवा प्रवाह गर्न नसकिने यातायात व्यवस्था कार्यालयहरुको भनाइ छ। लाइसेन्ससम्बन्धी सबै काम केन्द्रीय सिस्टममै आधारित हुने भएकाले प्रदेश सरकारले चाहेर पनि सेवा दिन सक्ने अवस्था छैन। 


प्रकाशित : सोमबार, असोज २७ २०८२०६:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend