शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

म्याग्दे गाउँपालिकाले विपन्नका लागि निर्माण गरिदिने

आइतबार, असोज २६ २०८२
म्याग्दे गाउँपालिकाले विपन्नका लागि निर्माण गरिदिने

म्याग्देले कुल ६० नमुना आवास निर्माण गर्ने घोषणा गरेबमोजिम गत आवसम्म ४८ घर निर्माण गरी लाभग्राहीलाई हस्तान्तरण गरिसकेको छ।

तनहुँ- यहाँको म्याग्दे गाउँपालिकाले चालु आर्थिक वर्षमा आर्थिकरुपमा विपन्न वर्गलाई १२ वटा नमुना आवास निर्माण गर्ने भएको छ। म्याग्देले कुल ६० नमुना आवास निर्माण गर्ने घोषणा गरेबमोजिम गत आवसम्म ४८ घर निर्माण गरी लाभग्राहीलाई हस्तान्तरण गरिसकेको छ।

सोही योजनाबमोजिम चालु आवमा १२ वटा घर निर्माण गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए। हालका जनप्रतिनिधि निर्वाचित भएर आएदेखि पाँच वर्षभित्र विपन्न वर्गलाई ६० वटा घर बनाउने लक्ष्यसहित पालिका अगाडि बढेको उनको भनाइ छ।

चालु आर्थिक वर्ष २०८२/८३ को वार्षिक स्वीकृत कार्यक्रम तथा नेपाल सरकारको समपूरक योजनाबाट आर्थिकरुपमा विपन्न वर्गलाई नमुना आवास कार्यक्रमअन्तर्गत उक्त आवास निर्माण गरिने गाउँपालिकाले जनाएको छ।

म्याग्देका सातवटै वडाबाट छानिएका अतिविपन्न व्यक्तिलाई उक्त घर हस्तान्तरण गरिनेछ। सातवटै वडाबाट छानिएका लाभग्राहीको नामावली सार्वजनिक गरिएको छ। वडा नं १ का एक, वडा नं २ का एक, वडा नं ३ का दुई, वडा ४ का दुई, वडा नं ५ का दुई, वडा नं ६ का दुई र वडा नं ७ का दुईजना रहेका छन्। वडा नं १ र २ का दुई/दुई जनालाई वैकल्पिक लाभग्राहीको सूचीमा राखिएको छ।

नमुना आवास निर्माणका लागि छनोट भएका लाभग्राहीले सात दिनभित्रमा घर बन्ने जग्गाको सक्कल लालपुर्जा, जग्गाको नापी नक्सा र नागरिकताको प्रमाणपत्रसहित गाउँपालिकामा सम्पर्क राख्न गाउँपालिकाले अनुरोध गरेको छ।

गाउँपालिकाले घरविहीन वा जोखिमयुक्त घरमा बस्न बाध्य रहेका परिवारलाई लक्षित गर्दै यो ‘नमुना आवास कार्यक्रम’ सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए। उनका अनुसार सम्बन्धित वडा कार्यालयको सिफारिसका आधारमा विपन्न लाभग्राही छनोट गरिएको हो। 

उनले भने, 'मैले निर्वाचित भएपछि पाँच वर्षभित्रमा कम्तीमा ६० घर बनाउछौँ भन्ने प्रतिबद्धताअनुसार अहिलेसम्म ४८ घर बनाएर हस्तान्तरण गरिएको र बाँकी १२ वटा घर यसै आवमा हस्तान्तरण गरिनेछ।' रासस


प्रकाशित : आइतबार, असोज २६ २०८२१२:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend