शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

दुनाटपरी बिक्रीबाट राम्रो आम्दानी

आइतबार, असोज २६ २०८२
दुनाटपरी बिक्रीबाट राम्रो आम्दानी

यहाँको साहारा दुनाटपरी लघु उद्योगमा स्थानीय १० जना महिला दिदीबहिनीहरुले पनि नियमितरुपमा काम गर्दै आएका छन्।

दाङ- घोराही उपमहानगरपालिका-४ कि ६३ वर्षीया राधा आचार्यका लागि दुनाटपरी गाँस्ने सीप अहिले आम्दानीको स्रोत बनेको छ। ६ वर्षअघि दुनाटपरी गाँसेर बिक्री सुरु गरेकी उनका अनुसार यसबाट राम्रो आम्दानी भइरहेको छ।

वनबाट सालको पात ल्याउने र फुसर्दमा हातैले दुनाटपरी गाँस्ने उनको अहिले दैनिकी बनेको छ। उनी घर खर्चका लागि यसैबाट पैसा जुटाउन सकेको बताउँछिन्। 'पहिले आफूसँग पैसा नहुँदा अरुको भर पर्नुपर्दथ्यो, तर अहिले यसबाट आम्दानी हुन थालेपछि सामान्य खर्चका लागि अरुसँग माग्नु पर्दैन', उनले भनिन्।

आचार्यका अनुसार दुनाटपरी बिक्रीबाट मासिक ६/७ हजार रूपैयाँ आम्दानी भइरहन्छ। आचार्यले गाउँघरमा एकसय वटा टपरीलाई पाँचसय रूपैयाँमा बिक्री गर्छिन्। बजारमा बिक्री गर्दा भने अलिक सस्तो पर्ने उनको भनाइ छ। दुना भने एकसय वटालाई एकसय २० रूपैयाँमा बिक्री गरिरहेकी छिन्। 

वनमा सालको पात टिप्न श्रीमानले पनि साथ दिन्छन्। 'शरीर बुढो हुँदै गएको छ, अरु काम गर्न गाह्रो हुन्छ, फुर्सदको समयलाई सदुपयोग गर्ने यो राम्रो अवसर भएको छ, पैसा पनि आउने समय कटाउन पनि सजिलो हुने', आचार्यले भनिन्।

उनले आफैले पैसा कमाउन थालेपछि औषधि किन्न र अरु सामान्य खर्चका लागि सहज भएको बताइन्। विशेषगरी चाडपर्वमा दुना र टपरीको व्यापार राम्रो हुने उनको बुझाइ छ।

अचार्यजस्तै घोराही उपमहानगरपालिका-१६ रातामाटाका शान्ति चौधरी र उनका श्रीमान खुशीराम चौधरी पनि दुनाटपरी उत्पादन गर्दै आएका छन्। ५१ वर्षीया शान्ति र ५७ वर्षीय खुशीरामले विसं २०६९ बाट दुनाटपरी व्यवसाय गर्दै आएका हुन्। घरको काम सकेर बचेको समय यो व्यवसायमा उनीहरुको दैनिकी बित्ने गरेको छ।

यहाँको सहारा दुनाटपरी लघु उद्योगमा स्थानीय १० जना महिला दिदीबहिनीहरुले पनि नियमितरुपमा काम गर्दै आएका छन्।

उद्योगका अध्यक्ष शान्तिले आफूसँगै अन्य दिदीबहिनीहरु पनि जोडिएर आम्दानी गर्दै आएकाले खुशी व्यक्त गर्छिन्। उनले भनिन्, 'अलि गाह्रो भनेको वनबाट पात टिपेर ल्याउँदा हुने गरेको छ।' तर बजारीकरणका लागि त्यति समस्या नहुने गरेको बताइन्। चौधरी दम्पतीले दुनाटपरी बिक्रीबाट मात्रै मासिक १५ हजार रूपैयाँ कमाइरहेको उनको भनाइ छ।

दुनाटपरी आम्दानीको राम्रो स्रोतमात्र नभइ धार्मिक काममा महत्वपूर्ण मानिन्छ। टपरीको प्रयोग धेरै जसो विवाह, व्रतबन्ध, न्वारनलगायतका काममा बढी प्रयोग हुन्छ। रासस


प्रकाशित : आइतबार, असोज २६ २०८२११:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend