शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

लुम्बिनी प्रदेश सरकारद्वारा खर्चमा मितव्ययिता अपनाउन निर्देशन

शनिबार, असोज २५ २०८२
लुम्बिनी प्रदेश सरकारद्वारा खर्चमा मितव्ययिता अपनाउन निर्देशन

बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयबाट प्राप्त मार्गदर्शन सरकारको निर्देशनका अतिरिक्त खर्च व्यवस्थापनमा थप व्यवस्था मिलाउने निर्णय गरेको छ।

लुम्बिनी- देशको वर्तमान आर्थिक अवस्था र स्रोत संकुचनको सम्भावित अवस्थालाई मध्यनजर गर्दै लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको खर्च नियन्त्रण गर्न विशेष निर्णय गरेको छ।

प्रदेश सरकारको आजको मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकारको योजना तथा कार्यक्रममा विनियोजन भएको रकमको ८० प्रतिशतलाई अधिकतम सीमा मानी योजना, कार्यक्रम कार्यन्वयनमा लैजान र मितव्ययिता अपनाउन प्रदेश सरकार मातहतका निकायलाई निर्देशन दिने निर्णय गरेको छ।

बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयबाट प्राप्त मार्गदर्शन सरकारको निर्देशनका अतिरिक्त खर्च व्यवस्थापनमा थप व्यवस्था मिलाउने निर्णय गरेको छ।

बैठकले चालु आर्थिक वर्ष २०८२/८३ मा कार्यान्वयन हुने बजेटका क्रममा दोहोरो प्रविष्टि भएका आयोजना, कार्यक्रम तथा क्रियाकलापमध्ये एउटा मात्र कार्यान्वयन गरी बाँकी रोक्का गर्न र विभिन्न शीर्षकमा २० प्रतिशत रकम रोक्का गर्न निर्देशन दिएको छ।

पुँजीगत खर्च शीर्षकमा समपूरक अनुदानबाट सञ्चालित आयोजना, बहुवर्षीय आयोजना र सडकतर्फको नियमित मर्मतसम्भार शीर्षकबाहेकका आयोजनामा विनियोजित बजेटको २० प्रतिशत रकम रोक्का गर्ने निर्णय गरिएको छ। 

चालु खर्च शीर्षकमा अनुगमन तथा मूल्यांकन खर्च, कार्यक्रम खर्च, मसलन्द तथा कार्यालय सञ्चालन खर्च, विविध कार्यक्रम खर्च, सीप विकास तथा जनचेतना, तालिम तथा गोष्ठीसम्बन्धी खर्च र सेवा परामर्श खर्च शीर्षकमा विनियोजित बजेटको २० प्रतिशत रकम रोक्का गर्ने निर्णय गरिएको छ।

प्रदेश सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीका अनुसार मन्त्रिपरिषद्को बैठकले युवाको भावना र मर्मलाई आत्मसात् गर्दै प्रदेशमा सुशासन प्रवर्द्धन गर्न नीतिगत, कानूनी तथा अन्य सुधारका विषयमा अध्ययन गरी प्रतिवेदन पेस गर्न प्रमुख सचिवको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्ने निर्णय पनि गरेको छ।

बैठकले लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालनसम्बन्धी विधेयक स्वीकृत गर्ने, जीवनाशक विषादी व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति दिने, अपांगता रोकथाम तथा पुनःस्थापना कार्यक्रम कार्यविधि पारित गर्ने र प्रदेश स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति (छैटौँ संशोधन) नियमावली २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ। रासस


प्रकाशित : शनिबार, असोज २५ २०८२१६:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend