शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

राप्ती प्रतिष्ठानका तत्कालीन उपकुलपतिसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, १२ करोड बिगो दाबी

बिहीबार , असोज २३ २०८२
राप्ती प्रतिष्ठानका तत्कालीन उपकुलपतिसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, १२ करोड बिगो दाबी

अख्तियारले १२ करोड ७ लाख ६० हजार ९४५ रूपैयाँ भ्रष्टाचार गरेको अभियोगसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो।

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति प्राडा संगीता सिंह भण्डारी, तत्कालीन कामु रजिष्ट्रार झन्कार लामिछानेसहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार प्रतिष्ठानकी तत्कालीन उपकुलपति भण्डारीसमेतले प्रतिष्ठानका लागि ‘एमआरआई’ मेसिन कम गुणस्तरको खरिद गरी/गराइ आर्थिक अनियमितता गरेको पाइएपछि आरोपितविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरिएको हो।

तत्कालीन उपकुलपति भण्डारीसमेतले एमआरआई मेसिन खरिदमा सार्वजनिक खरिद ऐन र नियमावलीविपरीत बदनियतपूर्ण ढंगले कम गुणस्तरका उपकरण खरिद गरेको र खरिद आवश्यकताको पहिचान एवं खरिद गुरुयोजना नबनाइ बजेट मााग गरी पदाधिकारी र कर्मचारीको मिलेमतोमा खरिद गरी अनियमितता गरेको पाइएको आरोपपत्रमा उल्लेख छ।

अख्तियारले भण्डारीविरुद्ध १२ करोड ७ लाख ६० हजार ९४५ रूपैयाँ भ्रष्टाचार गरेको अभियोगसहित मुद्दा दर्ता गरेको हो। सोही प्रकरणमा प्रतिष्ठानका तत्कालीन कामु रजिष्ट्रार लामिछाने, तत्कालीन फाइनान्स मेनेजर कैलाशप्रसाद देव, बायोमेडिकल इन्जिनियर शरद भण्डारी, काठमाडौंका बायोमेडिकल इन्जिनियर अमितकुमार चौधरी, प्रतिष्ठानका डेपुटी फाइनान्स मेनेजर नितिन कुर्मीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

सोही प्रकरणमा प्रतिष्ठानका शाखा अधिकृत छायाँ डिसी, शाखा अधिकृत श्रीराम चौधरी, हिरालाल भण्डारी, तत्कालीन सिभिल इन्जिनियर मदन भण्डारी, तत्कालीन वरिष्ठ सहायक अञ्जु शर्मा, तत्कालीन बायोमेडिकल इन्जिनियर सुजाता भट्टराई, लुम्बिनी हेल्थकेयर प्रालि तथा उक्त कम्पनीका मुख्य भइ काम गर्ने अध्यक्ष पोस्टराज ज्ञवालीसहितलाई १२ करोड ७ लाख ६० हजार ९४६ रूपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दर्ता गरेको हो। रासस


प्रकाशित : बिहीबार , असोज २३ २०८२१६:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend