शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

पुर्ख्यौली सीपको सदुपयोग गर्न घरमै उद्योग स्थापना

बिहीबार , असोज २३ २०८२
पुर्ख्यौली सीपको सदुपयोग गर्न घरमै उद्योग स्थापना

पुर्ख्यौली सीपलाई पुस्तान्तरण गर्न स्थापना गरिएको उद्योगमा अहिले अल्लो, गाँजा, बाँस र ऊनका कपडा उत्पादन हुने गर्दछन्।

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका-७ का जगतबहादुर सिंहलाई यतिबेला कपडा उत्पादन र तयारी पोसाक बनाउन भ्याइनभ्याइ छ। चाडपर्वका कारण बजारमा माग बढेपछि श्रीमान, श्रीमतीसहित परिवारका सदस्य कपडा बुन्न र सिलाउन व्यस्त देखिन्छन्।

घरमै तान बनाएर सुरु गरिएको उद्योगमा धागो कात्ने, कपडा बुन्ने र पोसाकसमेत तयार गरिन्छ। पुर्ख्यौली सीपलाई पुस्तान्तरण गर्न स्थापना गरिएको उद्योगमा अहिले अल्लो, गाँजा, बाँस र ऊनका कपडा उत्पादन हुने गर्दछन्।

यसबाट सीपको सदुपयोग र परिवार नै स्वरोजगार भएकाले सिंह बताउँछन्। 'हाम्रा पुर्खाले दार्चुलामा हुँदा राडी पाखीको काम गर्थे, हाम्रा पुर्खाबाट सिकेको सीपलाई सदुपयोग गर्न घरमै उद्योग स्थापना गरेका हौँ', सिंहले भने, 'तीन लाख रूपैयाँ लगानीमा हाते मेसिनबाट सुरु गरेको उद्योगमा अहिले २० लाख रूपैयाँ लगानी पुगिसक्यो।'

उनले अहिले चार वटा मोटर मेसिन थप गरेर उद्योगमा थप लगानी गरेको बताए। 'एक जना भारतीय कामदार राखेका छौँ, दुई छोरा, श्रीमती र आफू पनि उद्योगमै काम गर्छौँ', उनले भने, 'यसबाट हाम्रो परिवारको खर्च चलेको छ, सन्तुष्ट छौँ।'

सुरुवातका वर्षहरुभन्दा पछिल्ला वर्षमा तयारी कपडाको माग धेरै आउने गरेको उनले बताए। सिंह परिवारको पुर्ख्यौली पेसा नै कपडा बुन्ने हो। दार्चुलामा राडीपाखी बनाएर बिक्री गर्ने उनीहरु २०४४ सालमा तराई बसाइँ सरे। त्यसपछि पुर्ख्यौली पेसाले निरन्तरता पाउन नसके पनि ३५ वर्षपछि पारिवारिक सल्लाहपछि पुनः आफ्नो कामलाई सुरुवात गरेको उनको भनाइ छ।

'सीप हुँदाहुँदै त्यतिकै बस्नुभन्दा उद्योग स्थापना गरौँ भन्ने एक दिनको पारिवारिक बसाइमा सल्लाह भयो', सिंहले भने, 'उद्योग स्थापनापछि हरेक वर्ष राम्रो आम्दानी हुदै गएको छ, गत वर्ष मात्रै तीन लाख रूपैयाँ आम्दानी भयो।'

घरमै उद्योग स्थापना गर्दा कामदारको समस्या भोग्नु परेको उनी बताउँछन्। 'अहिले पनि उद्योगमा कामदार पाउन मुस्किल छ, भारतीय कारिगरमात्रै छन्', उनले भने, 'देशभित्र मेहनत गर्ने बानी छैन सबैमा विदेश मोह छ।'

उनले आफूले स्वदेशमै कच्चा पदार्थ प्रशोधन गरेर धागो उत्पादन गर्ने गरेको बताए। केही कच्चा पदार्थ भने भारतबाट आयात गर्ने गरेको उनको भनाइ छ। कपडाभन्दा तयारी पोसाकको माग धेरै आउने गरेकाले अहिले तयारी पोसाक उत्पादनमा जोड दिएको सिंह बताउँछन्। 'स्थानीय उत्पादन टिकाउ पनि हुन्छ स्वास्थ्यका लागि पनि फाइदाजनक छ', सिंहले भने, 'सुरुवातमा बजारमा समस्या थियो अहिले माग धेरै आउने गरेको छ।'

प्राकृतिक फाइबरबाट निर्मित कपडा शरिरका लागि निकै फाइदाजनक मानिन्छ। यसको  निर्माणका लागि अल्लो र गाँजाको धागो मात्रै उत्पादन हुने गर्दछ भने कटनका लागि भारतबाट धागो आयात गर्नुपर्ने झन्झट छ। त्यसैले यस्ता कच्चापदार्थ स्वदेशमै उत्पादन गर्न सके त्यसले घरेलु उद्योग सञ्चालनमा निकै टेवा पुग्ने उनको भनाइ छ। रासस


प्रकाशित : बिहीबार , असोज २३ २०८२१४:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend