शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

हतुवागढीका विपन्न परिवारलाई जस्तापाताको छानो वितरण

बिहीबार , असोज २३ २०८२
हतुवागढीका विपन्न परिवारलाई जस्तापाताको छानो वितरण
फाइल तस्बिर

गाउँपालिकाले १०६ परिवारलाई जस्तापाता उपलब्ध गराएको हो। जस्ताको छानो पाएपछि विपन्न समुदायले खुसी व्यक्त गरेका छन्।

भोजपुर- यहाँको हतुवागढी गाउँपालिकाले वर्षौँदेखि फुसको छानोमा बस्दै आएका अति विपन्न परिवारलाई जस्तापाताको छानो वितरण गरेको छ। गाउँपालिकाले १०६ परिवारलाई जस्तापाता उपलब्ध गराएको हो।

जस्ताको छानो पाएपछि विपन्न समुदायले खुसी व्यक्त गरेका छन्। चुहिने छानोले सास्ती भोगेकामा गाउँपालिकाले जस्तापाता दिएपछि सहज भएको स्थानीय चिनिमाया खड्काले बताइन्।

'फुसको छानो हुँदा धेरै समस्या थियो', उनले भनिन्, 'म एकल महिला भएकाले छानो फेर्ने क्षमता थिएन। पानी परेपछि चुहिने ठाउँमा गाग्री, खड्कुला राखेर बस्थेँ। अहिले सहज छ।'

गाउँपालिकाले हालसम्म विभिन्न आर्थिक वर्षमा छानो फेर्नका लागि ७० लाख रूपैयाँ खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिए। उनका अनुसार प्रतिघर ७५ हजार रूपैयाँ बराबरको सहयोग गरिएको छ।

'आर्थिक अवस्था कमजोर भएर छानो फेर्न नसक्ने परिवारलाई प्राथमिकतामा राखेर हामीले सहयोग गरेका हौँ,' निरौलाले भने, 'छानो फेरिएपछि वर्षाको समयमा उनीहरूलाई सहज भएको छ।' 

गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले केन्द्र सरकारले निरन्तर बजेट नदिँदा गाउँपालिकाले आफ्नै पहलमा कार्यक्रम अघि बढाएको बताए। दलित, एकल महिला र अति विपन्न परिवारलाई प्राथमिकतामा राखेर जस्तापाता वितरण गरिएको अध्यक्ष राईले जानकारी दिए।

स्थानीय तह सञ्चालनमा आएपछि सुरक्षित आवास, जनता आवास र गाउँपालिकाको आफ्नै कार्यक्रममार्फत हालसम्म ४०५ परिवारका लागि जस्तापाता वितरण गरिसकेको गाउँपालिकाले जनाएको छ। रासस


प्रकाशित : बिहीबार , असोज २३ २०८२१३:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend