काठमाडौं- जेनजी आन्दोलनको क्रममा आगजनीका कारण नष्ट भएका अभिलेख पुनःस्थापना (श्रेस्ता कायम) गर्न अब जग्गाधनीहरूले ११ थरी कागजातसहित मालपोत कार्यालयमा निवेदन दिनुपर्ने भएको छ।
कलंकी, कास्की लगायतका विभिन्न मालपोत कार्यालयहरूले सूचना जारी गर्दै जग्गाधनीहरूलाई नागरिकताको प्रतिलिपीदेखि भोगसम्बन्धी सिफारिस र सक्कल पुर्जासम्मका कागजात पेश गर्न आग्रह गरेका छन्।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार जेनजी आन्दोलनको क्रममा काठमाडौंको कलंकी, कास्की, भरतपुर, बाँके, घोराही, तुलसीपुर, मोरङ, बुटवल, धनगढी र खैरहनीसहित २१ मालपोत कार्यालयमा आगजनी भएको थियो। तीमध्ये कतिपय कार्यालयमा डिजिटल अभिलेख नरहेको र अभिलेख नष्ट भएकामा श्रेस्ता कायम गर्न लामो प्रक्रिया आवश्यक पर्ने विभागका अधिकारीहरूले जनाएका छन्।
विभागका अनुसार श्रेस्ता कायमका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, स्थानीय तहको तीन पुस्ते फोटो टाँससहितको सिफारिस, जग्गा धनीसँग भएको सक्कल पुर्जा, लिखत वा मिसिलको प्रमाणित प्रति, प्लट रजिस्टर, फिल्डबुक, नक्सा र चालु आर्थिक वर्षको मालपोत बुझाएको रसिद अनिवार्य रूपमा पेस गर्नुपर्नेछ।
त्यसैगरी, रोक्का रहेको जग्गाको हकमा सम्बन्धित संस्थाको सहमति, आवश्यकता अनुसार स्थलगत सर्जमिन, ३५ दिने सार्वजनिक सूचना, र गुठी जग्गाको हकमा गुठी संस्थानको सहमति पत्र पनि मागिनेछ।
मालपोत कार्यालयका कर्मचारीहरूका अनुसार, अभिलेख नष्ट भएपछि नक्कली लालपुर्जा बनाएर दाबी गर्ने वा एउटै जग्गामा फरक–फरक व्यक्तिले अधिकार माग गर्ने जोखिम रहेकाले कागजातहरूको विस्तृत प्रमाणिकरण आवश्यक भएको हो।
विभागका अनुसार, डिजिटल रेकर्ड भएका जग्गाधनीहरूको हकमा भने यति धेरै प्रक्रिया र कागजात आवश्यक नपर्ने बताइएको छ।
