शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

मन्त्री घिसिङ र यूएनडीपीका प्रतिनिधिबीच भेटवार्ता

बुधबार, असोज २२ २०८२
मन्त्री घिसिङ र यूएनडीपीका प्रतिनिधिबीच भेटवार्ता

यूएनडीपीका तर्फबाट निर्वाचनका लागि सहयोग उपलब्ध गराउने, जलवायु कोषबाट नेपालले पाउने आर्थिक सहायताका लागि पहल गर्नेलगायतका विषयमा सहयोग उपलब्ध गराउने बताइएको थियो।

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री कुलमान घिसिङ र नेपालका लागि संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी)का आवासीय प्रतिनिधि क्योको योकोसुका नेतृत्वको टोलीबीच शिष्टाचार भेटवार्ता भएको छ। 

सिंहदरबारस्थित सहरी विकास मन्त्रालयमा भएको भेटमा यूएनडीपीले निर्वाचनका लागि उपलब्ध गराउन सक्ने सहयोग, हाल ऊर्जा, जलवायु परिवर्तनलगायतका क्षेत्रमा उपलब्ध गराइरहेको सहायता एवम् सञ्चालित योजना कार्यान्वयन अवस्थाबारे छलफल भएको थियो।

रोजगारीका सिलसिलामा विदेशमा रहेका नेपालीलाई पनि मतदानको अवसर दिने सरकारले तयारी गरिरहेको जानकारी गराउँदै मन्त्री घिसिङले अन्य देशमा प्रयोगमा ल्याइएको अनलाइन मतदान प्रविधि नेपालमा पनि अपनाउन आवश्यक सहयोग उपलब्ध गराउन अनुरोध गरे। 

उनले जलवायु परिवर्तनबाट सिर्जित प्रभाव न्यूनीकरण, ग्रामीण क्षेत्रमा लघु तथा मझौला उद्योगमार्फत रोजगारी सिर्जना, जोखिमुक्त हिमतालको अध्ययन, विपद्को पूर्वसचेतना प्रणाली, पूर्वतयारीमा सघाउन अनुरोध गरे।

यस्तै, जिवाष्म इन्धनबाट सञ्चालित सवारीसाधन एवम् घरायसी प्रयोजनमा प्रयोग हुने परम्परागत ऊर्जालाई विद्युतीय ऊर्जाबाट विस्थापित गर्ने, ऊर्जा बढी खपत गर्ने उद्योगमा विद्युतीय ऊर्जा प्रयोगलाई प्रवर्द्धन, इँटाभट्टामा प्रयोग भइरहेको कोइलालाई प्रतिस्थापन गरी विद्युतीय ऊर्जा प्रयोग गरी कार्बन उत्सर्न घटाउनेलगायतमा पनि आवश्यक सहयोग गर्न उनले अनुरोध गरे।

यूएनडीपीका तर्फबाट निर्वाचनका लागि सहयोग उपलब्ध गराउने, जलवायु कोषबाट नेपालले पाउने आर्थिक सहायताका लागि पहल गर्नेलगायतका विषयमा सहयोग उपलब्ध गराउने बताइएको थियो।


प्रकाशित : बुधबार, असोज २२ २०८२१८:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend