शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

पोखराको लिची बगैँचा जग्गा प्रकरणमा पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

बुधबार, असोज २२ २०८२
पोखराको लिची बगैँचा जग्गा प्रकरणमा पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तत्कालिन मन्त्री तथा संघीय संसद, प्रतिनिधि सभा (हाल विघटित) सदस्य राज कुमार गुप्ताविरुद्ध ७८ लाख रुपैयाँ बिगो दाबी गरिएको छ।

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको लिचीबारी जग्गा प्रकरणमा पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, तत्कालीन भूमि व्यवस्थामन्त्री बलराम अधिकारी र पूर्वमन्त्री रञ्जिता श्रेष्ठ लगायतविरुद्ध बुधबार मुद्दा दायर गरेको हो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तत्कालिन मन्त्री तथा संघीय संसद, प्रतिनिधि सभा (हाल विघटित) सदस्य राज कुमार गुप्ताविरुद्ध ७८ लाख रुपैयाँ बिगो दाबी गरिएको छ। 

अख्तियारले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ज) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (च) बमोजिम कैद र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजाय गरी लिइसकेको घुस रिसवत भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१ क) बमोजिम जफत हुन, साथै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजायसमेत हुन मागदाबी लिएको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका पूर्वमन्त्री तथा संघीय संसद, प्रतिनिधि सभा (हाल विघटित) सदस्य रन्जिता श्रेष्ठसँग पनि ७८ लाख रुपैयाँ नै बिगो रकम दाबी गरिएको छ। 

यस्तै मालपोत कार्यालय पोखराका तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीविरुद्ध ५३ लाख रुपैयाँ, घरजग्गा व्यवसायी/बिचौलिया प्रतिवादी सुजन लामा वा सुजन कुमार लामा भन्ने सुजन कुमार तामाङसँग ७८ लाख रुपैयाँ, याम कुमारी गुरुङसँग ७८ लाख रुपैयाँ, खेम पुन भन्ने खमबहादुर पुनसँग २५ लाख रुपैयाँ र प्रतिवादी तुल्सीराम बुढा मगरसँग ७८ लाख रुपैयाँ बिगो दाबी गरिएको छ। 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तत्कालीन मन्त्री राजकुमार गुप्ताले कास्की मालपोत कार्यालयका तत्कालिन प्रमुख रामचन्द्र अधिकारीलाई सरुवा थमौती गरिदिन्छु भनी घरजग्गा व्यवसायीसँग ५३ लाख रुपैयाँ लिएको र तीनै घरजग्गा व्यवसायीबाट मन्त्री गुप्ताले भूमि आयोगको सदस्य बनाउनका लागि २५ लाख रुपैयाँ घुस डिल गरेको अडियोसमेत अख्तियारले छानबिन गरेको थियो।

'कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १६ (साविक बाटुलेचौर-१) मा रहेको दिप विर्ता (लिची बगैँचा)मा रहेको भनिएको नक्सा नं. २५, २६ र २८ को जग्गाको सम्बन्धमा अदालतको फैसलाबमोजिम दुर्गादेवी शाहको हकवालाहरु सुरज शाह ठकुरी समेतको नाममा दा.खा. तथा नामसारी गर्ने गराउने कार्यको लागि निज सुरज शाह ठकुरीले मालपोत कार्यालय कास्कीमा निवेदन दिएकोमा उक्त कार्यालयका प्रमुख मालपोत अधिकृत प्रतिवादी रामचन्द्र अधिकारीसमेतले अश्वाभाविक विलम्व गरेपश्चात घर जग्गा व्यवसायी/बिचौलिया प्रतिवादी सुजन कुमार तामाङको सम्पर्कमा पुगेको देखिएको' अख्तियारले उल्लेख गरेको छ।

सुजन कुमार तामाङले अन्य प्रतिवादीहरु याम कुमारी गुरुङ र तुल्सीराम बुढा मगरसँगको मिलेमतो तथा योजनामा उक्त नक्सा नं. २५,२६,२८ को जग्गाको दा.खा नामसारी गराएवापत दुर्गादेवी शाहको हकवालाहरुको नाममा दर्ता हुन आएको एकमुष्ठ जग्गामध्ये ४० प्रतिशत जग्गा आफूसमेतले लिने खाने गरी मिति २०८१ जेठ २० गते करारनामा कागज गरेको देखिएको अख्तियारले उल्लेख गरेको छ।


प्रकाशित : बुधबार, असोज २२ २०८२१६:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend