बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

जेनजी आन्दोलन र बाढीपहिरोले ‘थकित’ पर्यटन व्यवसायी

बिहीबार , असोज २३ २०८२
जेनजी आन्दोलन र बाढीपहिरोले ‘थकित’ पर्यटन व्यवसायी

पूर्वको प्रमुख पर्यटकीय क्षेत्र इलाममा भएको प्राकृतिक विपत्तिले त कोशी प्रदेशको पर्यटन वर्षमै प्रभाव पारेको छ।

विराटनगर- कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य हो इलाम। इलामको श्रीअन्तुलाई पर्यटकीय गन्तव्य बनाउने हजारौँ पर्यटकले इलामको सौन्दर्यलाई नियालिरहेका हुन्छन्। श्रीअन्तुबाट देखिने सूर्योदयको दृश्यले बारम्बार पर्यटकलाई बोलाउने गरेको छ। 

श्रीअन्तुले पर्यटकलाई मात्र होइन पर्यटन व्यवसायीलाई पनि लगानीको लागि निमन्त्रणा गरेको छ। श्रीअन्तुलाई केन्द्र बनाएर पर्यटन व्यवसायमा जमेका सयौँ पर्यटन व्यवसायीहरू हरेक दिनलाई उत्सव मान्छन्।

बाह्रै महिना पर्यटकको भिडभाड हुने श्रीअन्तुले यसपटक भने नराम्रो दुर्घटना भोगिरहेको छ। कोरोना महामारीपछि जुरमुराएको श्रीअन्तुलाई जेनजी आन्दोलनले धक्का दियो। कोरोना महामारीपछि होमस्टे र ठूला होटेलहरू खुलिरहेको श्रीअन्तु यसपटक आन्दोलनसँगै बाढी र पहिरोले थला पारेको छ।

करिब एक अर्ब रुपैयाँ लगानी गरेर होटेल सुरुवात गरेका भक्तिप्रसाद घिमिरेले आन्दोलनको कारण धेरै बुकिङ रद्द भएको बताए। निर्माणाधीन अवस्थामा रहेको होटेल हिल टावर पूर्णरुपमा सञ्चालनमा आइसकेको छैन। तथापि पर्यटकको लागि सेवा दिँदै आएको होटेलमा आन्दोलनपछि मात्र २० लाखको बुकिङ रद्द भएको उनको भनाइ छ।

बिजनेस क्लासका कार्यक्रमको लागि भारत र अन्य देशका संस्थाहरूले बुकिङ गरेपनि आन्दोलनको कारण देखाउँदै नआउने ईमेल पठाएको उनले प्रस्ट पारे। अघिल्लो वर्ष यही सिजनमा ६० लाखको कारोबार गरेका उनले यसबर्ष ६ लाख रुपैयाँमा चित्त बुझाएका छन्।

hotel hilltown.jpg

श्रीअन्तु पर्यटन व्यवसायी संघका अध्यक्ष रुद्र घिमिरेका अनुसार अधिकांश भारतीय पर्यटकले बुकिङ रद्द गरेका छन्।

‘बाढी पहिरोको कारण विद्युत् आपूर्तिमा समस्या देखिएको छ। बिजुली नभएको कारण पानीको हाहाकार छ। भएका पर्यटकहरूलाई खान दिनसक्ने अवस्था छैन। कसैको भान्साघर भत्किएको छ कसैको गेस्ट रूपमै पहिरो पसेको छ। यो हाम्रो लागि दीर्घकालीन समस्या भएर उदायो,’ बिजनेस न्युजसँग कुरा गर्दै घिमिरेले भने। 

संघमा आबद्ध ९३ व्यवसाय र अन्य ६५ वटा होमस्टे एकैसाथ थला परेको उनको भनाइ छ। प्राकृतिक विपत्तिले इलाम पर्यटकको लागि असुरक्षित छ भन्ने म्यासेज जाने हो कि भन्ने चिन्तामा छन् उनी।

असोज १७ देखि २० गतेसम्म आएको बर्षातपछिको बाढीपहिरोको कारण इलाममा मात्र ३९ जनाको ज्यान गएको छ। अवरुद्ध रहेको मेची राजमार्ग भर्खरै मात्र सञ्चालनमा आएको छ भने भित्री सडकहरू सञ्चालनमा आउन अझै केही दिन लाग्ने भएको छ।

पूर्वको प्रमुख पर्यटकीय क्षेत्र इलाममा भएको प्राकृतिक विपत्तिले त कोशी प्रदेशको पर्यटन वर्षमै प्रभाव पारेको छ। 

pahiro ilam.jpg

इटहरीमा सञ्चालित सोल्टी वेस्टेण्डमा पनि बुकिङ रद्द भइरहेका छन्। जेनजी आन्दोलन पछि कर्पोरेट इमेन्ट्सहरु धमाधम रद्द भएको म्यानेजर निगम खनालले बताए।

आगामी सेप्टेम्बरमा मात्र कर्पोरेट ७ वटा अन्य विदेशी आइएजीको कार्यक्रमहरू स्थगित भएको उनको भनाइ छ। त्यसबाहेक कोशी पर्यटन वर्ष आधारित अहिलेसम्म एकजना पनि पर्यटकले होटेल बुक नगरेको खनालले प्रस्ट पारे। 

कोशी प्रदेशमा १० लाख पर्यटक भित्र्याउने योजनासहित प्रदेश सरकारले पर्यटन वर्ष घोषणा गरेको थियो। पर्यटन वर्ष २०८२ को रूपमा परिचित अभियानबाट धार्मिक तथा साहसिक पर्यटक नेपाल ल्याउने योजनामा थियो सरकार। भारत, बंगलादेश र भुटानका पर्यटक ल्याउने उद्देश्यले सञ्चालित अभियान सुरुवातदेखि नै विवादित बन्दै आएको छ। 

विवादमै आएर पर्यटन मन्त्रालयका सचिव विशाल घिमिरे सरुवा भएका छन्। सचिव सरुवा भएको दुई महिनासम्म पनि प्रदेश सरकारले निमित्तको जिम्मेवारी दिन सकेको छैन। पर्यटन वर्ष मनाइरहेको बेला विभागीय सचिवको अभावमा मन्त्रालय चलिरहेको छ। 

पर्यटन वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले आन्दोलनअघि नै सचिव सरुवा भएपछि धेरै कामहरू प्रभावित भएको बताए। ‘मन्त्रालय सचिवविहीन भएको अवस्था छ। निमित्तसमेत तोक्न सकिएको छैन। अब हामी सरकारको छलफल गरेर नयाँ सचिव ल्याउन पहल गर्छौँ। मन्त्रालय नै जलेर नष्ट भएको कारण के गर्ने कसोगर्ने अलमलमा परिएको छ,’ उनले भने। 

पर्यटन वर्ष तोकिए पनि कसरी पर्यटक ल्याउने भन्नेबारे अन्योलमा छन् मन्त्री मण्डल। आन्दोलनको कारण पर्यटकहरू आउन नमानेको र बाढी पहिरोले पर्यटकीय क्षेत्रमा क्षति पुगेको कारण थप छलफल जरुरी रहेको उनले बताए। 


प्रकाशित : बिहीबार , असोज २३ २०८२१३:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend