शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

दसैँमा जुम्लामा १० करोडभन्दा बढीका भेडा तथा खसीबोकाको कारोबार

मंगलबार, असोज २१ २०८२
दसैँमा जुम्लामा १० करोडभन्दा बढीका भेडा तथा खसीबोकाको कारोबार

दसैँका लागि स्थानीय भेडाको अधिकतम मूल्य २३ हजार रूपैयाँ, न्यूनतम नौ हजार रूपैयाँ र औसत मूल्य १६ हजार रूपैयाँ तोकिएको थियो।

जुम्ला- जुम्लामा यसवर्षको दसैँमा १० करोड रूपैयाँभन्दा बढीको भेडा, खसीबोकाको कारोबार भएको छ।

सदरमुकाम खलंगा बजारलगायत यहाँका स्थानीय तहमा भएको खसी, बोका तथा भेडा खरिदबिक्रीबाट यसवर्ष १० करोड रूपैयाँ बराबरको कारोबार भएको चन्दननाथ नगरपालिकाअन्तर्गत पशुपक्षी विकास शाखाका प्रमुख वीरबहादुर रावतले जानकारी दिए। 

उनले भने, 'कारोबार भएको उक्त रकममध्ये भेडातर्फ नौ करोड ३४ लाख ८८ हजार तथा ३७ लाख ४० हजार रूपैयाँको खसी, बोका खरिदबिक्री भएको हो। चन्दननाथ नगरपालिकामा भने २६ लाख ७७ हजार रूपैयाँको राँगा, भैँसीसमेत कारोबार भएको छ।'

यस वर्षको दसैँमा जुम्लामा पाँच हजार ८४३ वटा भेडा बिक्री भएको तथ्यांक छ। यसैगरी, २५६ खसी र ६३ राँगा, भैँसी खरिदबिक्री भएको छ। दसैँमा स्थानीय भेडाको अधिकतम मूल्य २३ हजार रूपैयाँ, न्यूनतम मूल्य नौ हजार रूपैयाँ र औसत मूल्य १६ हजार रूपैयाँ तोकिएको प्रमुख रावतले जानकारी दिए।

त्यस्तै, खसीको अधिकतम मूल्य २२ हजार, न्यूनतम मूल्य आठ हजार र औसत मूल्य १५ हजार रूपैयाँ रहेको छ भने राँगो, भैँसीको अधिकतम मूल्य ६१ हजार, न्यूनतम मूल्य २४ हजार र औसत मूल्य ४२ हजार ५०० रूपैयाँ रहेको थियो। 

जुम्लामा मुगु, कालीकोट, दैलेख, बाजुरालगायत जिल्लाबाट खसी, भेडा, राँगा, भैँसी ल्याइएको थियो। गत वर्षको दसैँमा १६ करोड ३२ लाख ३१ हजार रूपैयाँ मूल्य बराबरका खसी, भेडा, राँगा, भैँसी खरिदबिक्री भएको चन्दननाथ नगरपालिका पशुपक्षी विकास शाखाले जनाएको छ।

गत वर्षभन्दा यो वर्ष भेडा र खसीको मूल्य औसत रुपमा ३० प्रतिशतले घटेको यहाँका स्थानीय व्यापारी बताउँछन्। विसं २०६८ देखि तिब्बती भेडाच्याङ्ग्रा ल्याउन छाडेपछि यहाँ जुम्ली भेडा, खसीबोका मात्रै बिक्रीवितरण हुने गरेका छन्। रासस


प्रकाशित : मंगलबार, असोज २१ २०८२१८:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend