तनहुँ- यहाँको व्यास नगरपालिकाद्वारा सञ्चालित ‘बैरेनी जग्गा एकीकरण’ आयोजनाअन्तर्गत ५० प्रतिशत पूर्वाधार निर्माण सम्पन्न गरिएका छन्।
व्यास-१० स्थित बैरेनीमा कुल एक हजार ५३७ रोपनीमध्ये पहिलो चरणमा २६२ रोपनी क्षेत्रफलमा एकीकृत बस्ती विस्तार गरिएको छ। सो आयोजनाअन्तर्गत जटिल प्रकृतिका काम सकिएको र अब ६ महिनाभित्र घडेरी छुट्याइने आयोजना प्रमुख इन्जिनियर रवीन्द्र मुलले जानकारी दिए।
उनले भने, 'अब नाला निर्माण, कालोपत्र, विद्युत् खम्बा, खानेपानी जडान, पार्क, खेल मैदान र दुई वटा विद्युत् ट्रान्समिटर जडान गर्नु पर्नेछ, ट्रान्समिटरका लागि विद्युत् प्राधिकरणसँग समन्वय गरिएको छ।'
कित्ताकाटका लागि नक्सा ‘प्रिन्ट’ भइसकेको उनले जानकारी दिए। नापी र मालपोतबाट प्रमाणीकरण हुन बाँकी रहेकाले प्रमाणीकरण पछि स्थानीयलाई पुर्जा प्रदान गरिने उनले बताए। विसं २०८२ भित्र जग्गाधनीलाई पुर्जा वितरण गर्ने लक्ष्य आयोजनाको छ।
विसं ०७९ मङ्सिर १४ गते सम्झौता गरी २०८५ सालसम्म ऋण सम्झौता रहेकामा तीन वर्षअगावै सम्पन्न गर्ने लक्ष्य राखिएको उनको भनाइ छ। उनका अनुसार पहिलो चरणमा विकसित निजी घडेरी ६९ दशमलव १७ प्रतिशत, बाटो र ढल निर्माणमा १८ दशमलव ९४ प्रतिशत, खुला क्षेत्र सार्वजनिक पाँच दशमलव ८८ प्रतिशत, बिक्रीयोग्य जग्गा चार दशमलव ७९ प्रतिशत र खोल्सी तथा रिटेनिङ पर्खालमा एक दशमलव १२ प्रतिशत आयोजनाको भूउपयोगका लागि छुट्याइएको छ।
बिक्री योग्य चार दशमलव ७९ प्रतिशत जग्गा बिक्री गरेर नगर विकास कोषको ऋण तिर्ने योजना आयोजनाको छ। विसं २०७७ मा नगर विकास कोषको प्राविधिक सहयोगमा बैरेनी जग्गा एकीकरण विकास आयोजना सुरूआत गरिएको थियो। विसं २०७८ फागुन २ गते राजपत्रमा आयोजना स्वीकृतिको सूचना प्रकाशित भएपछि निर्माण सुरु गरिएको हो।
'एकीकृत बस्ती आयोजनाको निर्माण सम्झौताअगावै सम्पन्न गर्नेमा भक्तपुरपछिको व्यास नगरपालिका अग्रसर बनिरहेको छ', उनले भने, 'उक्त आयोजनामा नगर विकास कोषको ७० र नगरपालिकाको ३० प्रतिशत लगानी छ।'
कुल १३ करोड रूपैयाँमध्ये कोषले नौ करोड १० लाख ५० हजार ४०० रूपैयाँ र नगरपालिका तथा गण्डकी प्रदेशको चार करोड रूपैयाँ लगानी छ। नगर विकास कोषसँग लिएको ऋण भुक्तानी गर्नुपर्ने अवधि ६ वर्षको छ भने वार्षिक ब्याजदर आठ प्रतिशतमा ऋण लगानी छ।
'विसं २०८१ सम्म आयोजनाको निर्माण अवधि छ', इन्जिनियर मुलले भने, 'निर्माण अवधिभर लिएको ऋणको कुनै ब्याज र किस्ता तिर्नुपर्दैन।'
सम्झौताअगावै एकीकृत बस्ती बसाउन दीर्घकालीन सोचका साथ नगरपालिका अघि बढेको व्यासका नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए। 'दमौली बजार र भादगाउँ क्षेत्र बस्ती विस्तारले साँघुरिँदै छ', उनले भने, 'भावि पुस्ताका लागि बस्ती बसाउन नगरपालिकाले नगरविकास कोषसँग हातेमालो गर्दै अघि बढेका हौँ।' रासस