सुर्खेत- कर्णाली प्रदेश सरकारले गरिव तथा विपन्नका लागि हालसम्म चार हजार ८५६ घर निर्माण गरेको छ। जनता आवास (प्रदेश), जनता आवास (संघ) र विपन्नको घर निर्माण कार्यक्रमअन्तर्गत कर्णालीका १० जिल्लाका विभिन्न पालिकामा घर निर्माण गरिएको हो।
भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका प्रवक्ता रमेश सुवेदीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा जनता आवास (संघ)तर्फ तीन हजार १५० घर निर्माण भएका थिए।
त्यस्तै, जनता आवास (प्रदेश)ले ५२२ घर गरिब तथा विपन्न स्थानीयवासीका निर्माण गरेको थियो। आव २०८१/८२ मा संघले ३८० र प्रदेशले १८४ घर निर्माण गरेको प्रवक्ता सुवेदीले जानकारी दिए। त्यस्तै विपन्नको घरतर्फ आव २०८०/८१ मा ३९७ घर र आव २०८१/८२ मा २२३ घर निर्माण गरिएको थियो।
आव २०८१/८२ मा जनता आवास संघतर्फ सबैभन्दा बढी कालिकोटमा कालिकोटमा १८१ घर निर्माण गरिएका थिए। सुर्खेतमा १४२, दैलेखमा ३८ र जाजरकोटमा १९ घर निर्माण गरिएको छ। जनता आवास प्रदेशतर्फ सुर्खेतमा ३३, दैलेखमा १४, सल्यानमा १६, रुकुमपश्चिममा २३, जाजरकोटमा २७, डोल्पामा १४, जुम्लामा २१, मुगुमा ६, कालिकोटमा १० तथा हुम्लामा २० घर निर्माण गरिएका छन्।
विपन्नको घर निर्माण कार्यक्रमअन्तर्गत सुर्खेतमा ३६, दैलेखमा ३९, सल्यानमा १३, रुकुमपश्चिममा २३, जाजरकोटमा २३, डोल्पामा ११, जुम्लामा २०, मुगुमा ८, कालिकोटमा ३० तथा हुम्लामा २० घर निर्माण गरिएको प्रवक्ता सुवेदीले जानकारी दिए। आव २०८१/८२ मा ७८७ घर निर्माण गरिएका छन्। रासस