शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

यात्रुसँग बढी भाडा असुल्ने यातायात व्यवसायीलाई कारबाही

मंगलबार, असोज २१ २०८२
यात्रुसँग बढी भाडा असुल्ने यातायात व्यवसायीलाई कारबाही

यात्रुलाई बढी भाडाको टिकट दिएर चलानीमा कम रकम उल्लेख गरेर ठगी गरेकालाई कारबाही गरिएको हो।

चितवन- राजधानी फर्कने यात्रुसँग बढी भाडा लिएको गुनासोपछि स्थानीय प्रशासनले अनुगमन गरी बढी भाडा लिने सवारीसाधनका चालक र धनीलाई कारबाही गरेको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको नेतृत्वमा अनुगमनमा गएको सुरक्षा निकायका प्रमुखसहितको टोलीले उनीहरुलाई कारबाही गरेको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गायत्री शर्माका अनुसार नारायणगढको पुलचोक, पोखरा बसपार्क र आँपटारीमा प्रमुख जिल्ला अधिकारी अर्याल, प्रहरी उपरीक्षक गोविन्द पुरी, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख सुरेश तिवारीसहितको टोलीले सडकमा जाँच गरी कारबाही गरेको हो।

सो क्रममा बढी भाडा लिने ६ जनालाई नियन्त्रणमा लिइएको छ। यात्रुलाई बढी भाडाको टिकट दिएर चलानीमा कम रकम उल्लेख गरेर ठगी गरेकालाई कारबाही गरिएको हो। सो क्रममा २५ माइक्रोबसले उठाएको बढी भाडा फिर्तासमेत गरिएको प्रहरी निरीक्षक शर्माले बताए।

प्रमुख जिल्ला अधिकारी अर्यालयका अनुसार चलानीबिना यात्रु लिएर हिँडेका सवारी चालक र बढी भाडा असुल गरेकालाई सचेत गराइएको, भाडा फिर्ता गराइएको, जरिवाना लगाइएको र नियन्त्रणमा लिइएको छ। अटेर गरेकालाई पक्राउ गरी कालोबजारी ऐनअन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए। चितवन हुँदै काठमाडौंतर्फ गुड्ने सवारीसाधनमा अनुगमन गरिएको हो।

दसैँ मानेर काठमाडौं फर्किनेको चाप बढेपछि यातायात व्यवसायीले उनीहरुबाट चर्को भाडा असुल्ने गरेको गुनासो सुनेपछि नियमितरुपमा अनुगमन गर्न थालिएको प्रहरी उपरीक्षक पुरीले बताए। रासस


प्रकाशित : मंगलबार, असोज २१ २०८२१३:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend