शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

बागलुङको हुकुर्थुम गाउँका ४३ घरमा खानेपानीको पहुँच

मंगलबार, असोज २१ २०८२
बागलुङको हुकुर्थुम गाउँका ४३ घरमा खानेपानीको पहुँच

यसअघि स्थानीयले गाउँमा रहेको पाँचवटा सार्वजनिक धाराबाट पानी उपभोग गर्दै आएका थिए।

ढोरपाटन- बागलुङको बडिगाड गाउँपालिका-२ हुकुर्थुममा ‘एक घर, एक धारा’ सञ्चालनमा आएको छ। बडिगाड गाउँपालिका, नेपाल स्वास्थ्यका लागि पानी (नेवा) संस्थाको लगानी र स्थानीयको जनश्रमदानबाट हुकुर्थमका ४३ घरमा धारा निर्माण गरिएको हो। 

सो संस्थाको १५ लाख ६५ हजार रूपैयाँ, बडिगाड गाउँपालिकाको चार लाख ७२ हजार रूपैयाँ र जनश्रमदान ६ लाख चार हजार लागतमा एक घर, एक धारा निर्माण गरिएको गहते-हुकुर्थुम खानेपानी स्वच्छता तथा सरसफाइ आयोजनाका अध्यक्ष केशबहादुर कुमालले जानकारी दिए। यसअघि स्थानीयले गाउँमा रहेको पाँचवटा सार्वजनिक धाराबाट पानी उपभोग गर्दै आएको उनको भनाइ छ।

सीमित धाराबाट सिंगो गाउँले पानी उपभोग गर्दा निकै समस्या भोग्नु परेको भन्दै घर-घरमा धारा बनेपछि स्थानीयको दैनिकी नै फेरिन थालेको अध्यक्ष कुमालले बताए। एक घर, एक धारा बनेपछि एक गाग्री पानी भर्नका लागि घण्टौँ कुर्नुपर्ने समस्या समाधान भएको उनको भनाइ छ।

अध्यक्ष कुमालले भने, 'वर्षौँदेखि गाउँमा खानेपानीको समस्या थियो, यस वर्ष बल्ल समाधान भयो, घरको आँगनमै खानेपानी झर्न थालेपछि हामीहरुलाई धेरै सहज भएको छ, पहिले सरसफाइ गर्न, वस्तुभाउलाई खुवाउन साह्रै समस्या हुन्थ्यो, अब त करेसाबारीमा तरकारी खेती गर्न पनि सकिने भयो, घण्टौँ लाइन बस्नुपर्ने बाध्यताको अन्त्य भयो।'

नेवा संस्थाका कार्यक्रम अधिकृत विनोद कोइरालाले व्यक्तिगत र सार्वजनिक गरी ४५ धारा निर्माण गरेको जानकारी दिए। हुकुर्थुममा दुई किलोमिटर टाढा रहेको मरुवाईझ्याल मुहानबाट पाइप लाइनमार्फत पानी लिएर एक घर, एक धारा निर्माण गरेको उनको भनाइ छ। गाउँमा लामो समयदेखि खानेपानीको समस्या रहेका र समाधानका लागि माग गरेपछि गाउँपालिकासँग सहकार्य गरेर धारा निर्माण गरेको अधिकृत कोइरालाले बताए। रासस


प्रकाशित : मंगलबार, असोज २१ २०८२११:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend