शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

पहिरोले बेनी-जोमसोम सडकमा यातायात सेवा प्रभावित

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असोज २१ २०८२
पहिरोले बेनी-जोमसोम सडकमा यातायात सेवा प्रभावित

सडकमुनी कालीगण्डकी नदी छ भने करिब आठ सय माथि र दुई सय मिटर चौडाईको पहिरो छ। पाखो पहिरोमा परिणत भएको छ।

म्याग्दी- म्याग्दीको रघुगंगा गाउँपालिका-२ सिरुवारीको पहिरोले कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला सडकमा यातायात सेवा प्रभावित भएको छ। 

म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा र अन्नपूर्ण गाउँपालिका हुदै हिमालपारीको पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम चिन र भारत जोड्ने सडक पनि हो। 

कालीगण्डकी नदीको तिर देखि भगवतिको माझखर्कसम्मको जमिन धाँजा फाटेर पहिरो चलेपछि बिचमा रहेको सडकमा यातायात सञ्चालनमा समस्या भएको छ।

यातायात ब्यवसायी भोजबहादुर थापाले सिरुवारी र खामभित्ताको पहिरोले बेनी-जोमसोम सडकमा यातायात सञ्चालनमा समस्या भएको बताए। 

'सामान्य बर्षा हुनेवित्तिकै पहिरो खसेर सडक अवरुद्ध हुनुका साथै साँघुरो र हिलाम्मे सडकमा जोखिम मोलेर सवारी साधन वारपार गर्नुपर्ने अवस्था छ,' उनले भने 'सवारी साधन गुडिरहेको र यात्रु हिडिरहेको अवस्थामा माथिबाट ढुङ्गा खस्ने चोटपटक लाग्ने, क्षति पुग्ने गरेकाले सावधानी अपनाएर यातायात सञ्चालन गरेका छौँ।' 

सडकमुनी कालीगण्डकी नदी छ भने करिब आठ सय माथि र दुई सय मिटर चौडाईको पहिरो छ। पाखो पहिरोमा परिणत भएको छ।

माझखर्कको बस्तिमा पनि जोखिम बनाएको छ। कोरला नाकामा सामान लिन जाने र आउने ठूला कन्टेनरहरुले पनि यही सडक प्रयोग गर्छन्।

मुस्ताङ जाने आउने यात्रुबाहक बस र गाडीहरुको सिरुबारी पहिरोमा जाम हुने गरेको छ। गाडी फस्ने र साँघुरो भएकाले जाम हुने गरेको रघुगंगा गाउँपालिका-१ का वडा सदस्य बलमान गौचनले बताए। साँघुरो भएकाले पहिरो क्षेत्रमा दुईतर्फी यातायातका साधन सञ्चालन गर्न सकिदैन्। 

बेनी-जोमसोम सडकमा यो बर्खामा सबैभन्दा धेरै अवरुद्ध सिरुवारी र खामभित्तामा भएको छ।

बेनी-जोमसोम-कोरला सडक योजनाले पहिरो नजिकै डोजर र लोडर तयारी अवस्थामा राखेको छ। बर्खायामभरी पहिरो पन्छाउदै यातायात सञ्चालन गर्दै आएको योजनाका इञ्जिनियर बिष्णु चापागाईले बताए। 

बर्षा रोकिएपछि पहिरोलाई पन्छाएर सरसफाई गरिने र दुईतर्फी गाडी चल्ने बनाइने उनले बताए। 'सिरुवारीमा ठूलो पहिरो भएकाले यसको रोकथामका लागि अध्ययन भइरहेको छ,' उनले भने 'तत्काललाई मर्मत गर्दै यातायात सञ्चालन गरिएको छ।' 

बेनी-जोमसोम सडकमा पर्ने चमेरे, बैसरी, गुइठेभिर, लाटाखोलाको पहिरो रोकथाम तथा रुप्से क्षेत्रको पहिरो प्रभावित क्षेत्रमा सडक ढलान गर्ने योजनाको ठेक्का सम्झौताको तयारी भएको पनि इञ्जिनियर चापागाईले जानकारी दिए। रासस


प्रकाशित : मंगलबार, असोज २१ २०८२१०:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend