शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

मनसुन बाहिरिए पनि दुई प्रदेशमा वर्षाको सम्भावना

सोमबार, असोज २० २०८२
मनसुन बाहिरिए पनि दुई प्रदेशमा वर्षाको सम्भावना

हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको र ती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षासमेत भइरहेको छ।

काठमाडौं- जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले नेपालको पश्चिमी भू-भागबाट यस वर्षको मनसुन बाहिरिए पनि कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ। 

महाशाखाले आज मनसुन बाहिरिए पनि पश्चिमी वायूको प्रभावका कारण विशेषगरी आज र मंगलबार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी र तराईका भू-भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जनाएको हो।

महाशाखाका अनुसार हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको र ती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षासमेत भइरहेको छ।

ती प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातसमेत हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। विशेषगरी कृषि र पर्यटन क्षेत्रमा प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। 

विभागका अनुसार चार दिन ढिला गरेर नेपालबाट मनसुन बाहिरिन थालको छ। मनसुन सामान्यतया २ अक्टोबरमा बाहिरिने भए पनि चार दिनजस्तो ढिला गरी आजदेखि मात्रै बारिन थालेको विभागले जनाएको छ।

'यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानबाट बाहिरिएको छ', विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ। 

महाशाखाका मौसमविद् रोजन लामिछानेले प्रायः मनसुन बहिर्गमन हुने समयमा सक्रिय हुने गरेको जानकारी दिए। 'सामान्यतया अक्टोबर २ मा मनसुन बाहिरिने गर्छ, तर कहिलेकाहीँ मनसुन लम्बिन पनि सक्छ। यो वर्ष सरदर मितिभन्दा केही ढिला गरी मनसुन बहिरगमन भएको छ', उनले भने। रासस


प्रकाशित : सोमबार, असोज २० २०८२१७:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend