शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

हेटौँडा-काठमाडौं जोड्ने दुई सडक सञ्चालनमा

सोमबार, असोज २० २०८२
हेटौँडा-काठमाडौं जोड्ने दुई सडक सञ्चालनमा
फाइल तस्बिर

पहिरो खस्दा अवरुद्ध बनेको हेटौँडा-काठमाडौं जोड्ने भीमफेदी-कुलेखानी-सिस्नेरी सडक र कान्ति लोकपथ सडक भने अझै सञ्चालनमा आउन सकेका छैनन्।

बागमती- अविरल वर्षाका कारण अवरुद्ध भएको हेटौँडा-काठमाडौं जोड्ने दुई सडक आज बिहानदेखि सञ्चालनमा आएका छन्।

सडकमा खसेको पहिरो पन्छाएपछि आज बिहानदेखि हेटौँडा-कुलेखानी-फाखेल-फर्पिङ सडक खण्ड र हेटौँडा-पालुङ-नौबिसे सडक खण्ड सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर सापकोटाले जानकारी दिए।

उनका अनुसार पहिरो खस्दा अवरुद्ध बनेको हेटौँडा-काठमाडौं जोड्ने भीमफेदी-कुलेखानी-सिस्नेरी सडक र कान्ति लोकपथ सडक भने अझै सञ्चालनमा आउन सकेका छैनन्।

भीमफेदी-कुलेखानी-सिस्नेरी सडक खण्डमा पर्ने डोढारे खोलाले सडकको केही भाग बगाएको र दक्षिणकाली मन्दिरनजिकै पहिरो गएकाले सवारीसाधन सञ्चालनमा आउन नसकेको प्रहरी निरीक्षक सापकोटाले बताए। बगाएको सडक पुनर्निर्माण तथा पहिरो पन्छाउने कार्य भइरहेको उनको भनाइ छ।

यस्तै हेटौँडा-काठमाडौं जोड्ने कान्ति लोकपथ सडकमा पर्ने बगुवा खोलासम्म पहिरो खसेर सडकको केही भाग बगाएको प्रहरी निरीक्षक सापकोटाले बताए। ठाउँठाउँमा खसेको पहिरो पन्छाउने र सडक मर्मतको कार्य भइरहेको प्रहरीले जनाएको छ। रासस 


प्रकाशित : सोमबार, असोज २० २०८२१२:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend