काठमाडौं- दुई दिनसम्मको अविरल वर्षापछि भैरहवा वरपर अलपत्र परेका यात्रुहरूलाई नेपाल एयरलाइन्सको ठूलो जहाजमार्फत काठमाडौं ल्याइने भएको छ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आज साँझसम्ममा आकस्मिक रुपमा काठमाडौं पुग्नैपर्ने यात्रुहरूलाई विमान चार्टर गरेर ल्याउने तयारी गरेको जनाएको छ।
नेपाल एयरलाइन्सको विमानमार्फत अप्ठेरोमा परेका यात्रुहरूलाई काठमाडौं लाने व्यवस्था भइरहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) टोकराज पाण्डेले जानकारी दिए। नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आकस्मिक उडानको अनुमतिलगायत प्रक्रिया पूरा भइसकेको पाण्डेले बताए।
‘विशेषगरी वैदेशिक रोजगारीमा जानुपर्ने र उपचारका सिलसिलामा अलपत्र परेका यात्रुहरूलाई विमान चार्टर गरेर काठमाडौं पठाउन लागेका हौं,’ सीडीओ पाण्डेले भने। नेपाल एयरलाइन्सको दिल्ली उडानको तालिका मिलाएर भैरहवा उडान हुनेगरी समन्वय भइरहेको उनले जानकारी दिए।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अलपत्र यात्रुहरूको गुनासो बढेपछि सम्बन्धित प्रशासन कार्यालयलाई उद्धारका लागि निर्देशन दिइएको थियो। सोही निर्देशनअनुसार रुपन्देही प्रशासनले अलपत्र यात्रुहरूलाई काठमाडौं पठाउन तयारी थालेको थियो।
नेपाल एयरलाइन्सको विमानमार्फत अप्ठेरोमा परेका यात्रुहरूलाई काठमाडौं लान लागिएको हाे।
भैरहवामा रहेका डेढ सयभन्दा बढी यात्रुलाई नेपाल एयरलाइन्सको ठूलो विमानमार्फत काठमाडौं ल्याउने तयारी भइएरहेको छ।