शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

अविरल वर्षाको प्रभाव : प्रमुख आठ नदी खतराको तह पार, १२ नदी सतर्कताको तहमाथि

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असोज १९ २०८२
अविरल वर्षाको प्रभाव : प्रमुख आठ नदी खतराको तह पार, १२ नदी सतर्कताको तहमाथि

कोशी, मधेस प्रदेश र बागमती प्रदेशका अन्य सबै नदीनालाहरुमा बहाव सतर्कता तह नजिक रहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ।

काठमाडौं- अविरल वर्षातका कारण देशका विभिन्न आठ नदीले खतराको तह पार गरेका छन्।  

जल तथा मौसम विज्ञान विभागका आज बिहानसम्मको अद्यावधिक ‘रेकर्ड’अनुसार बागमती, सुनकोशी, अरुण, तमोर, कन्काई, बूढीखोला-सुनसरी, बिरिङ खोला झापालगायत नदीका बाढी मापन केन्द्रहरुमा बाढीले खतराको तह पार गरेका हुन्। 

विभागको बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीका अनुसार अन्य १२ नदी केन्द्रहरुमा जलसतह सतर्कता तहभन्दा माथि रहेको छ। उनका अनुसार कोशी प्रदेशमा बढ्दो, बागमती र मधेस प्रदेशका केहीमा स्थिर र केहीमा घट्दो क्रममा रहेको छ। 

यसैगरी कोशी, मधेस प्रदेश र बागमती प्रदेशका अन्य सबै नदीनालाहरुमा बहाव सतर्कता तह नजिक रहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ। 

बागमती प्रदेश र मधेस प्रदेशको क्षेत्रमा वर्षाको तीव्रता विस्तारै घट्न सुरु गरेको छभने कोशी प्रदेशको धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको पनि जनाइएको छ। जुन क्रम अबको केही घण्टा कायम रहन सक्ने देखिएको विभागले आज बिहान जारी गरेको सूचनामा उल्लेख छ।

ती नदीमा आज बेलुकीसम्मै बाढीको उच्च जोखिमको पूर्वानुमान छभने मध्यम जोखिम सोमबार बिहानसम्मै रहने जनाइएको छ। रासस


प्रकाशित : आइतबार, असोज १९ २०८२१०:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend