शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

यस्तो छ भारी, धेरै भारी र अति भारी वर्षाको मापन

आइतबार, असोज १९ २०८२
यस्तो छ भारी, धेरै भारी र अति भारी वर्षाको मापन

यो बेलामा धेरै प्रयोग गरिने शब्दहरु हुन् हल्कादेखि मध्यम, भारी, धेरै भारी  र अति भारी वर्षा। यस्तै हल्का बदली, आंशिक बदली र साधारणतया बदली र पूर्ण बदलीजस्ता शब्द पनि मौसमविद्हरुले प्रयोग गरिरहेका छन् र यो हिजो र आजको वर्षामा पनि धेरै प्रयोग भएको शब्द हो।

काठमाडौं- गत शुक्रबार र शनिबारको वर्षाले पश्चिम नेपालबाहेकको जनजीवन प्रभावित बनायो। आज मौसम बदली कायम रही मनसुनी वायुको प्रभावले पूर्वी नेपाल थप प्रभावित बनाइरहेको छ।

आज दिनभर नै कोशी प्रदेशका अधिकांश भागमा मधेस प्रदेश र बागमती प्रदेशका केही भागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले आज बुलेटिन सार्वजनिक गरिसकेको छ। 

कोशी प्रदेशका केही जिल्ला अति भारी वर्षा हुने र कोशी जलाधार क्षेत्रमा पर्ने साना ठूला नदीहरुमा बहाव उल्लेख्ने बढ्ने विभागको बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुली जानकारी दिएका छन्। इलामलगायत पहाडी जिल्लामा बढी वर्षा हुँदा पहिरोको पनि उत्तिकै जोखिम रहेको उनले पूर्वानुमान गरे।

यो बेलामा धेरै प्रयोग गरिने शब्दहरु हुन् हल्कादेखि मध्यम, भारी, धेरै भारी  र अति भारी वर्षा। यस्तै हल्का बदली, आंशिक बदली र साधारणतया बदली र पूर्ण बदलीजस्ता शब्द पनि मौसमविद्हरुले प्रयोग गरिरहेका छन् र यो हिजो र आजको वर्षामा पनि धेरै प्रयोग भएको शब्द हो। 

जल तथा मौसम विज्ञान विभागले आफ्ना सूचनाहरुमा उक्त शब्द नियमित रुपमा प्रयोग गर्दै आएको छ। मौसमसम्बन्धीका जानकारहरुले यी शब्दहरु बुझ्न सक्छन् तर आम सर्वसाधारणले यस्ता प्राविधिक शब्दहरु नबुझेका हुनसक्छन्। तपाइँ पनि यी शब्दबारे दोधारमा हुनुहुन्छ भने अब प्रष्ट हुनुहुन्छ।

यस्तो छ भारी, धेरै भारी र अति भारी वर्षा मापन

जल तथा मौसम विज्ञान विभागले ती शब्दहरुको परिभाषित नै गरेको छ। यस्ता प्राविधिक शब्द र भनाइलाई उसले अथ्र्याएर जानकारी दिने गरेको छ। 

बेलाबेलामा भिडियोमार्फत पनि यस्ता शब्दका बारेमा यसरी जानकारी दिने गरिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले बताए।

विभागका अनुसार १० मिलिमिटरभन्दा कम वर्षा मापन भएको अवस्थालाई हल्का वर्षाको रुपमा परिभाषित गर्ने गरिएको छ। दश मिलिमिटरभन्दा माथि र ५० मिलिमिटरभन्दा तलको वर्षालाई मध्यम वर्षा भनेर उल्लेख गर्ने गरिएको छ। ५० मिलिमिटरदेखि माथि १०० मिलिमिटरभन्दा तलको वर्षालाई भारी वर्षाका रुपमा मापन गर्ने गरिएको छ।

यस्तै १०० मिलिमिटरभन्दा माथि २०० मिलिमिटरभन्दा तलको वर्षालाई धेरै भारी वर्षा भन्ने गरिएको छ। यस्तै २०० मिलिमिटरभन्दा माथिको वर्षालाई अति भारी वर्षाको वर्गमा राखिने गएिको विभागले जनाएको छ। 

हल्का बदली, अधिकांश बदली र पूर्ण बदली

यस्तै बदलीका बारेमा पनि बुझ्न जरुरी छ। विभागले वर्षाको जस्तै बदलीको बारेमा समेत परिभाषित गरेको छ। बादल नभएको अवस्थालाई मौसम सफा भनिन्छ। आकाशको २५ प्रतिशत भागमा बादल लागेको अवस्था छ भने त्यसलाई मुख्यतया सफा भनेर भन्ने गरिएको छ। 

छब्बीसदेखि ५० प्रतिशतसम्म बादल लागेको अवस्थालाई आंशिक बदली भनिन्छ। साधारणतया बदली भनेको ५१ प्रतिशतदेखि ७५ प्रतिशत बादल लागेको अवस्थालाई जनाउँछ।

यस्तै ७६ प्रतिशतमाथि ८८ प्रतिशतसम्म आकासमा बादल लागेको छ भने अधिकांश क्षेत्रमा बदली भन्ने गरिएको छ भने १०० प्रतिशत बादल लागेको अवस्थालाई भने पूर्ण बदली भनेर परिभाषित गर्ने गरिएको मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले बताएका छन्। रासस


प्रकाशित : आइतबार, असोज १९ २०८२१०:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend