काठमाडौं- सरकारले सवारी साधनमार्फत काठमाडौं उपत्यका भित्रिन र बाहिरिन ३ दिनसम्मका लागि रोक लगाएको छ। देशका विभिन्न स्थानमा हल्कादेखि भारी वर्षा भइरहेकाले सरकारले यस्तो निर्णय गरेको हो।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यात्रामा जोखिम रहेकाले काठमाडौं उपत्यका भित्रिन र काठमाडौं उपत्यकाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा ३ दिनसम्मका लागि रोक लगाइएको जनाएको छ।
प्राधिकरणले जारी गरेको विज्ञप्तिमा निरन्तरको वर्षालाई ध्यानमा राखेर काठमाडौं भित्रने र बाहिरिने राजमार्ग पूर्णरूपमा बन्द गरिएको उल्लेख छ।
प्राधिकरणले लामो दुरीका सवारीसाधन र काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन सञ्चालन नगर्ने भनेको हो। सवारीसाधनलगायत अवागनम बारे व्यवस्थापनका लागि प्राधिकरणले जिल्ला प्रशासन कार्यालयलाई भनेको छ।
सम्भावित जोखिम न्यूनीकरण गर्नका लागि सरकारले सवारी आवागमनमा रोक लगाएको हो। जल तथा मौसम विज्ञान विभागले पानी पर्ने उच्च जोखिम रहेकाले सतर्कता अपनाउन अग्रज गरेको छ।
विभागका अनुसार कोशी, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशमा वर्षाको उच्च जोखिम रहेको जनाएको छ।