धरान- इटहरी उपमहानगरपालिका-४ की कृष्णकुमारी विकले सालको पात बिक्री गरी यस वर्षका चाडपर्वका लागि खर्च जुटाइरहेकी छिन्।
उनीले उदयपुरको गाईघाट पुगेर ल्याइएका सालका पात बेचेर खर्च जुटाउने गरेकी छिन्। हुन त अरु बेला पनि यो उनीका लागि आम्दानीको मुख्य स्रोत हो। हरेक हप्ताजसो गाईघाट गएर पात सङ्कलन गर्ने र इटहरीका विभिन्न स्थानमा लाग्ने हटिया बजारमा बिक्री गर्दै आएको विकले बताए।
उनीले भनिन्, 'अरु बेला पनि यो काम गरिरहेकी छु, तर चाडपर्वलगायत विशेष समयमा बढी बिक्री हुन्छ। अरु समयमा ज्यालामजदुरी कामसमेत गर्छु, तर चाडपर्वको समय आएपछि भदौ महिनादेखि मङ्सिरसम्म यही काम गर्छु । यसबेला पात बिक्रीबाट राम्रो आम्दानी हुने गरेको छ।'
धेरैजसो चाडपर्वमा यही पात बेचेरै आफुनो खर्च जुटाउने गरेको बताउँदै विकले एक हप्तामा आठ हजारदेखि १० हजार रुपैयाँसम्मको पात बिक्री हुने गरेको सुनाइन।
सालको पातको माग चाडपर्व, एकादशी, छठपूजालगायत धार्मिक अवसरमा अत्यधिक हुने गर्छ। यसबेला ठेलागाडामा कोला र तरकारी बेच्ने व्यापारीहरूले समेत पात बेच्ने गर्छन्। यसले केही समस्या हुने गरेको पात बचेर खर्च जुटाउनेहरूको गुनासो छ।
इटहरी उपमहानगरपालिका-७ कि इन्द्रदेवी घिमिरे पनि विगत चार वर्षदेखि सालको पात बेच्दै आएको बताइन। उनीले पनि गाईघाटबाट पात सङ्कलन गरेर बिक्री गरिरहेको बताइन।
घिमिरेका अनुसार भदौ, असोज र कात्तिक महिनामा पातको बिक्री उच्च हुने भएकाले यसबाट चाडपर्वको खर्च जोहो हुने गरेको छ। 'दसैँतिहारको समयमा दैनिक ३० देखि ४५ मुठासम्म पात बिक्री हुने गरेको छ। यसबाट मासिक ३० हजारदेखि ४० हजारभन्दा बढी आम्दानी हुन्छ। सानो मुठा ४० देखि ६० र ठूलो मुठा एक सयम रुपैयाँ सम्म बिक्री गरिरहेकी छु', उनीले भनिन्। रासस