दमौली-तनहुँको आँबुखैरेनी गाउँपालिका-१ यान्चोकका महिलाहरुले सयपत्री फूलखेती विस्तार गरेका छन्। यहाँका महिला विगत तीन वर्षदेखि सयपत्री फूलखेतीमा रमाइरहेका छन्।
पहिलो वर्ष २२ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गरेका महिलाले दोस्रो वर्ष ४० रोपनी क्षेत्रफलमा फूलखेती गरेका थिए। यस वर्ष त्यसलाई विस्तार गरी ५० रोपनी क्षेत्रफल पु¥याएको यान्चोकटार महिला लघु उद्यमी समूहका अध्यक्ष सुन्तली गुरुङले जानकारी दिइन। समूहमा आबद्ध महिला सयपत्री फूल खेतीतर्फ आकर्षित भएको उनीले बताए।
बजारको समस्या नहुने भएपछि समूहमा आबद्ध महिला व्यावसायिक रुपमा फूलखेतीमा लागिरहेको उनीको भनाइ छ। गाउँपालिकाले उत्पादित फूलको बजारीकरणमा सघाउँदै आएकाले सहज भएको उनीको भनाइ छ।
तिहार नजिकिँदै गरेकाले उत्पादित फूल टिप्न सुरु गरिएको उनले जानकारी दिए।समूहमा आबद्ध ७० महिलाले सयपत्रीको फूलखेती गरिरहेका छन्।
गाउँपालिकाले समूहमा आबद्ध महिलालाई फूलखेतीका लागि आवश्यक सीपसमेत सिकाएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिए। उनले भने, 'फूलखेती गर्ने तरिका, टिप्ने तरिकासँगै माला बनाउने सीप पनि महिलाहरुलाई प्रदान गरिएको छ।'
आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले सयपत्री फूलखेतीले महिलालाई आत्मनिर्भर बन्न सहयोग पुगेको बताए।