काठमाडौं- नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुस्ताङको कोरला नाकाको थप स्तरोन्नति र व्यवस्थित सञ्चालनका लागि नेपाल सरकारसँग आग्रह गरेका छन्।
महासङ्घको गण्डकी प्रदेश समिति तथा सम्बन्धित जिल्ला उद्योग वाणिज्य सङ्घका नेतृत्वसँग सो नाकाको निरीक्षणपछि अध्यक्ष ढकालले भने, 'कालीगण्डकी करिडोर निर्माण पूरा भएपछि कोरला नाका नेपाल, चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो मार्ग बन्नेछ। यसलाई त्रिदेशीय व्यापार, पर्यटन र आर्थिक गतिविधि प्रवद्र्धनका लागि प्रयोग गर्न सकिन्छ। नेपाल सरकारले यसतर्फ ध्यान दिनु जरुरी छ।'
अध्यक्ष ढकालले नाकाका लागि आवश्यक पूर्वाधार नेपालतर्फ पर्याप्त नहुँदा सहज आवतजावत र सेवा प्रभावित भएको बताए। उनले भन्सार कार्यालयलाई व्यवस्थित बनाउन, आवश्यक पूर्वाधार निर्माण गर्न र अध्यागमन सेवा छिटो सुरु गर्न सरकारसँग आग्रह गरे। उनले उल्लेख गरे, 'बाह्र दिनअघिको भन्सार कार्यालयबाट १ अर्ब ४० करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ। यसले देखाउँछ कि यस नाकाको व्यवस्थित सञ्चालनले नेपाललाई ठूलो आर्थिक फाइदा पुर्याउन सक्छ।'
कोरला नाका चीनको ल्हासाबाट रसुवासम्म दुई दिन लाग्ने यात्रालाई एकैदिनमा सम्भव बनाउने भएकाले चिनियाँ पर्यटक र मानसरोवर यात्राका लागि छोटो मार्गको रुपमा पनि महत्वपुर्ण हुने अध्यक्ष ढकालको भनाइ थियो।
उहाँले नाकाको वरिपरि सरकारी कार्यालय निर्माण, बसोबास र अन्य व्यवस्थापन सहज नभएमा निचुङ क्षेत्रमा पूर्वाधार निर्माण गरी स्थायी रुपमा सञ्चालन गर्न सुझाव दिनुभयो। यसले बिजुली, पानी, इन्टरनेट र अन्य आधारभूत व्यवस्थापनमा सहजता ल्याउने विश्वास गरिएको छ।
गतवर्ष मुस्ताङमा करिब सात लाख आन्तरिक र बाह्य पर्यटक पुगेको तथ्याङ्क प्रस्तुत गर्दै अध्यक्ष ढकालले धार्मिक पर्यटनका लागि मुक्तिनाथ, दामोदरकुण्ड लगायतका स्थल र मानसरोवर यात्रा सहज बनाउन कोरला नाका महत्वपूर्ण भएको बताए।
साथै, माथिल्लो मुस्ताङ प्रवेशका लागि विदेशी पर्यटकबाट लागाइएको ५०० अमेरिकी डलर शुल्क अव्यवहारिक भएकाले त्यसमा पुनर्विचार गर्न पनि अध्यक्ष ढकालले माग गरे।
अध्यक्ष ढकालले नेपाल उद्योग वाणिज्य महासङ्घको तर्फबाट कालिगण्डकी करिडोर छिटो सम्पन्न गर्न र कोरला नाकालाई व्यवस्थित तथा दिगो सञ्चालनका लागि आवश्यक पहलमा निजी क्षेत्र पनि प्रतिबद्ध रहेको बताए। रासस