काठमाडौं- अर्थमन्त्री रामेश्वर खनाल र नेपालका लागि जापानका राजदूत माइदा तोरुबीच भेटवार्ता भएको छ।
आइतबार अर्थ मन्त्रालयमा भएको शिष्टाचार भेटमा नेपालको हालको परिवर्तित अवस्था, नेपाल-जापानबीचको ऐतिहासिक सम्बन्ध र जापानले नेपालको आर्थिक एवं सामाजिक विकासमा पुर्याइरहेको सहयोगका विषयमा छलफल भएको छ।
छलफलमा अर्थमन्त्री खनालले विशिष्ट परिस्थतिमा गठन भएको वर्तमान सरकारको मुख्य कार्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु रहेको र यस अवधिमा पुनर्निर्माणलगायत आर्थिक-सामाजिक विकासका कार्यहरुलाई निरन्तरता दिइने बताए।
उक्त अवसरमा निर्माणाधीन नागढुंगा टनेल मार्ग परियोजना, तनहुँ जलविद्युत आयोजनालगायतका सहयोगका क्षेत्रहरु र निकट भविष्यमा सम्झौता हुन गइरहेको कोटेश्वर इन्टरसेक्सन इम्प्रुभमेन्ट प्रोजेक्ट र बाढी प्रभावित सिन्धुली सडकको पुनर्स्थापनालगायत विविध विषयमा कुराकानी भएको अर्थ मन्त्रालयले जनाएको छ।
उक्त बैठकमा अर्थसचिव घनश्याम उपाध्याय र वैदेशिक सहायता समन्वय महाशाखाका सहसचिव धनीराम शर्माको समेत उपस्थिति रहेको थियो।