शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

धवलागिरि हिमाल आरोहण गर्न ‘रुट’ तयार

आइतबार, असोज १२ २०८२
धवलागिरि हिमाल आरोहण गर्न ‘रुट’ तयार

शेर्पाहरूको टोलीले हिउँमा डोरी तानेर बाटो तयार पारेपछि उनीहरूको सहयोगमा आरोहीहरू चुचुरोमा पुग्ने गर्छन्।

म्याग्दी- विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो धवलागिरि हिमालको चुचुरोमा पुग्ने ‘रुट’ तयार गरिएको छ। धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका-४ को भूगोलमा पर्छ। चालु शरदयाममा आरोहण टोली लिएर हिमालमा पुगेका चार जना शेर्पाहरूले ‘रुट’ बनाएर चुचुरोमा पुगेका हुन्।

आरोहण कम्पनी सेभेन समिट ट्रेक्सका संस्थापक मिङ्मा शेर्पाले आधार शिविरदेखि बाटो बनाएर धवलागिरिको चुचुरोमा पुगेका चारजना शेर्पाहरूको टोलीले शनिबार ‘रोप फिक्सिङ’ (डोरी तानेका) जानकारी दिए।

'चौध शिखर अभियान र सात शिखर पदयात्राका शेर्पाहरूको संयुक्त टोलीले धवलागिरिको चुचुरोसम्म मार्ग खोलेको छ', उनले भने, 'यसले गर्दा यस सिजनमा सबै पर्वतारोहीका लागि धवलागिरि हिमाल पहुँचयोग्य भएको छ।'

सङ्खुवासभाको मकालु गाउँपालिका-१ का टासी शेर्पा, लाक्पा टेम्बा शेर्पा, सोही पालिकाको वडा नं २ का पुर्वा कुसाङ शेर्पा र पासाङ नोर्वु शेर्पाको टोलीले बाटो बनाउने र डोरी तान्नुका साथै चालु शरदयाममा धवलागिरिको सफल आरोहण गर्ने पहिलो टोली भएका छन्।

शेर्पाहरूको टोलीले हिउँमा डोरी तानेर बाटो तयार पारेपछि उनीहरूको सहयोगमा आरोहीहरू चुचुरोमा पुग्ने गर्छन्। मौसम अनुकूल र अन्य समस्या नभएमा एकदुई दिनभित्र आरोहण टोली धवलागिरिको चुचुरोमा पुग्ने शेर्पाहरूले जनाएका छन्।

पर्यटन विभागका अनुसार शरदयाममा धवलागिरि आरोहणका लागि तीनवटा समूहका सात जना महिला र १७ जना पुरुषले अनुमति लिएका छन्। अनुमति लिएकाबाट रु ५० लाख ७१ हजार सलामी दस्तुर (शुल्क) प्राप्त भएको छ।

आरोही, शेर्पा, पथप्रर्दशक र सहयोगीहरूको टाली आधार शिविरमा पुगिसकेका छन्। यसपालि आरोहण टोली मुस्ताङको मार्फादेखि याकखर्क हुँदै आधार शिविर पुगेका हुन्। धवलागिरि गाउँपालिकाको मुदीबगर हुँदै जाने पदमार्ग बिग्रिएको, घुमाउरो र टाढा पर्ने भएकाले मुस्ताङको पदमार्ग प्रयोग गरेर गएका हुन्।

गत वसन्तयाममा दुईवटा समूहका १५ जनाले आरोहण अनुमति लिएबापत रु ३६ लाख ९१ हजार २६० राजस्व संकलन भएको थियो। सन् २०२४ को शरदयाममा एक समूहका १४ जना पुरुष पर्वतारोहीहरूले आरोहणको अनुमति लिएकामा रसियाका पाँच जनाको हिउँपहिरोमा पुरिएर ज्यान गएको थियो।

छिनछिनमा परिवर्तन हुने मौसम धवलागिरि आरोहणको चुनौती हो। अन्य हिमालको तुलनामा धवलागिरि आरोहणलाई जोखिमयुक्त र साहसिक मानिन्छ। सन् १९६० मे १३ मा अष्ट्रियाका कुर्ट डिम्बर्गरले पहिलोपटक धवलागिरि हिमालको सफल आरोहण गरेका थिए। डिम्बर्गरसहित पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्ज र नवाङ दोर्ज पहिलोपटक धवलागिरिको चुचुरोमा पुगेका थिए। रासस


प्रकाशित : आइतबार, असोज १२ २०८२१३:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend