काठमाडौं- ४६औँ विश्व पर्यटन दिवसको अवसरमा नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य भएको सन्देश अन्तर्राष्ट्रिय समुदायलाई प्रवाह गरिएको छ।
शनिबार नेपाल पर्यटन बोर्डको सभा हलमा भएको कार्यक्रममा वक्ताहरुले नेपालको पर्यटन पछिल्लो जेनजी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको बताएका हुन्। यसका साथै पर्यटनलाई दिगो विकासको आधारस्तम्भ बनाउनुपर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले निजी क्षेत्रको सहकार्य बिना पर्यटन विकास सम्भव नभएको र मन्त्रालयले नीति र कानुनी अड्चन फुकाउन सधैँ खुला रहेको बताए।
उनले भने, 'नेपालमा भदौ २४ र २५ गते भएको जेनजी आन्दोलनका कारण पर्यटन क्षेत्रमा क्षति भए पनि निजी क्षेत्रले उच्च मनोबलका साथ पर्यटन उद्योगलाई उठाउन लागेको देख्दा खुसी लागेको छ। निजी क्षेत्रका समस्याहरु समाधानका लागि सहजीकरण गर्न मन्त्रालय सधैँ तयार छ।'
त्यसैगरी मन्त्रालयका सहसचिव इन्दु घिमिरेले छोटो अवधिमा पर्यटनले रिकभरी गरेको उल्लेख गर्दै सरकार व्यवसायीहरूसँगै उभिएको बताइन्। उनले भनिन्, 'पर्यटनको रिकभरी सँगसँगै दिगो रुपान्तरणका लागि सबैसँग हातेमालो गर्न आवश्यक छ। पर्यटन क्षेत्र सरकार एक्लैले वा निजी क्षेत्र एक्लैले मात्र पूर्ण नहुने भएकोले सरकार र निजी क्षेत्र सँगसँगै हिँड्न आवश्यक छ। यसका लागि आवश्यक वातावरण तयार गर्न मन्त्रालय प्रतिबद्ध छ।'
पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले सन् १९८० देखि विश्व पर्यटन दिवस मनाउँदै आइरहेको उल्लेख गर्दै भने, 'नेपालमा पर्यटक आगमन जेनजी आन्दोलनपछि फेरि रिकभर हुने चरणमा प्रवेश गरेको छ। भदौ २४ र २५ गतेको आन्दोलनअघि दैनिक औसत ३३ सय पर्यटक आगमन हुने गरेकोमा आन्दोलनको साता १६ सयमा झरेको थियो भने दोस्रो साता २२ सय पुग्यो र यस साता २९ सय हाराहारीमा पर्यटक आगमन पुगेको छ।'
उनले हरेक संकटमा सरकार र निजी क्षेत्र एक भएर पर्यटन पुनरुत्थानमा लागेको नेपाल सुरक्षित र पर्यटनमैत्री गन्तव्य भएको सन्देश अन्तर्राष्ट्रिय समुदायमा गएको समेत उल्लेख गरेका छन्।
विश्व पर्यटन दिवसको अवसरमा नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रमा उल्लेखनीय योगदान दिने संस्था र व्यक्तिहरूलाई सम्मानसमेत गरेको छ। जसमा पदयात्रा तथा साहसिक पर्वतीय पर्यटनको विकास, प्रवर्द्धन तथा व्यवस्थापनमा स्थानीय निकायहरुमध्येबाट उल्लेखनीय योगदान पुर्याएको भन्दै दार्चुलाको अपि हिमाल गाउँपालिकालाई सम्मान गरिएको छ।
त्यसैगरी पदयात्रा तथा साहसिक पर्वतीय पर्यटन विकास, प्रवर्द्धन तथा व्यवस्थापनमा ५० वर्षभन्दा बढी समय आरोहण गाइडका रुपमा काम गरेको भन्दै सोलुखुम्बुका छिरिङ टेण्डी शेर्पालाई सम्मान गरिएको छ।
पर्यवतीय उद्धार कार्यमा योगदान पुर्याएका आङ नोर्बु शेर्पा, केटु हिमालमा विश्व किर्तीमानसहित सगरमाथामा ११ पटक र मनास्लुमा ६ पटक आरोहण गरेका सिद्धिबहादुर तामाङ, आन्तरिक नागरिक उड्डयन क्षेत्रबाट रविन्द्र राज पाण्डेय, पर्यटन उद्योगमा उदीयमान नेतृत्वको रुपमा नाटाका अध्यक्ष कुमारमणी थपलिया, पर्यटन पत्रकारको तर्फबाट सबिना कार्कीलगायत १९ वटा विभिन्न संघसंस्था तथा व्यक्तिहरुलाई सम्मान गरिएको हो।
कार्यक्रमकै अवसरमा नेपाल पर्यटन बोर्ड र गाउँ पर्यटन प्रवर्द्धन मञ्चले गाउँ पर्यटन र पहिचान शीर्षकको पुस्तकसमेत विमोचन गरिएको छ। विश्व पर्यटन दिवसको अवसरमा शनिबार नेपाल अवतरण गर्ने पहिलो पर्यटक अमेरिकी नागरिक जर्ज कोर्डेल ब्रानुन र चिलीका नागरिक हर्जोग अमुनातेगुइलाई नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष स्वागत गरेका हुन्।