बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

चाडपर्वमा तस्करीको जोखिम, भन्सार चुहावट रोक्न सफल होला सरकार?

मंगलबार, असोज १४ २०८२
चाडपर्वमा तस्करीको जोखिम, भन्सार चुहावट रोक्न सफल होला सरकार?

पछिल्ला आर्थिक वर्षमा निरन्तर बढ्दै गएको भन्सार असुलीलाई थप सुधार गरेर अर्थतन्त्रको आधार बलियो बनाउने सरकारको तयारी छ।

विराटनगर- भन्सार विभागले विराटनगर भन्सार कार्यालयमा मूल्यांकन डाटाबेस प्रणाली लागु गरेको छ। भन्सार चुहावट नियन्त्रणको लागि प्रभावकारी देखिएको भन्दै विद्युतीय प्रणालीको प्रयोग गर्न लागिएको हो। विराटनगरबाट सुरु गरिएको प्रणाली अन्य भन्सार कार्यालयमा समेत प्रयोग गर्ने विभागको तयारी छ।

बुधबार अर्थमन्त्री रामेश्वर खनालले विराटनगर भन्सार कार्यालय पुगेरै डाटाबेस प्रणालीको उद्घाटन गरे। भन्सार छानबिनको लागि विश्वसनीय प्रणाली भएकाले वैध व्यापारलाई सहजीकरण गर्ने बताए। कारोबार मूल्यलाई भन्सार मूल्यको मान्यता दिएको सरकारले भन्सार मूल्यांकन निष्पक्ष ढंगले निर्धारण हुने उनको दाबी छ। 

नयाँ प्रणालीले भन्सार चुहावट नियन्त्रणमा सफलता पाउने दाबी गरिएको छ। एउटा सामानको भन्सार तिरेर अर्को सामान पैठारी गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने सरकारको तयारी छ। भ्रष्टाचार विरोधी अभियानबाट स्थापित भएको सरकारले निजी क्षेत्रबाट हुने भ्रष्टाचार र भन्सार छलीबाट हुने हानिको नियन्त्रणमा सरकार लागि परेको मन्त्री खनालले स्पष्ट पारेका छन्। 

पछिल्ला आर्थिक वर्षमा निरन्तर बढ्दै गएको भन्सार असुलीलाई थप सुधार गरेर अर्थतन्त्रको आधार बलियो बनाउने सरकारको तयारी छ। ६ महिनाको लागि गठन भएको सरकारका अर्थमन्त्री यसअघि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका संयोजकसमेत हुन्। अहिले आफैले दिएको सुझाव कार्यान्वयन गराउन लागिपरेका छन् खनाल।

अर्थमन्त्री खनालले अर्थतन्त्रको बलियो आधार तयार पार्ने प्रयत्न गरिरहँदा अर्थ मन्त्रालय मातहतको राजस्व अनुसन्धान थला परेको छ। राजस्व अनुसन्धान कार्यालयहरू जलेर थिलथिलो बनेको समयमा थप कारबाही प्रक्रिया अगाडी बढाउन सक्ने अवस्था छैन। राजस्व अनुसन्धान प्रभावकारी नबन्दा तस्करहरू निस्फिक्री तस्करीमा व्यस्त छन्।

taskari news - binaya barhakoti (1).jpg

यही समय नेपाल प्रहरीले समेत चेकजाँचलाई खुकुलो गरेको छ। पूर्वका महत्त्वपूर्ण काँकरभिट्टा, जोगवनी, भन्टावारि, पशुपतिनगर लगायत नाकामा चेकजाँच कमजोर बनाइएको छ। भारतीय सीमा सुरक्षा बलले सीमापारिका बजारमा जान नेपाली परिचयपत्र अनिवार्य गरेको छ।

यता रात्रिकालीन तस्करीमा नियन्त्रणमा गस्ती बढाइएको सशस्त्र प्रहरी बल बराह बाहिनी पकलीले जनाएको छ। फरार कैदीहरू भारतीय नाका कटेर जानसक्ने कुरालाई विशेष प्राथमिकतामा राखिएको बराह बाहिनीका प्रहरी वरिष्ठ उपरीक्षक सुधीरजंग थापाले बताए। त्यसबाहेक तस्करी नियन्त्रणको लागि खास रणनीति बन्न सकेको छैन।

यसअघि गृहमन्त्री रमेश लेखकले तस्करी नियन्त्रण गर्न निर्देशन दिए पनि हाल सरकार परिवर्तन भइसकेको छ। नयाँ सरकार गठन र आन्दोलन पछिको तरलताको अवस्थामा तस्करी मौलाउन सक्ने आकलन गरिएको छ।

त्यसबाहेक आन्तरिक राजस्वदेखि पालिकास्तरबाट हुने अनुगमन समेत हुन सकेका छैनन्। चाडपर्वलक्षित हुने अनुगमनले उपभोक्तालाई भरोसा र तस्करलाई केही त्रास दिलाउने भएपनि जेनजी आन्दोलनपछि अनुगमनका सम्पूर्ण प्रक्रिया रोकिएको हो।

taskari news - binaya barhakoti (3).jpg

राजस्व कार्यालयबाट हुने चाडपर्वलक्षित अनुगमन यसपटक नहुने भएको छ। आन्तरिक राजस्व कार्यालय विराटनगर जलेर ध्वस्त भएपछि करदातालाई सेवा दिनेबाहेक अन्य गतिविधि अगाडि बढाउन नसक्ने अवस्थामा पुगेको कार्यालय प्रमुख केशव उप्रेतीले बताए।

उनका अनुसार कार्यालयमा भएका सरसामान जलेर नष्ट भएको अवस्थामा कर्मचारीको मनोबल बढाएर नियमित काममा सुरु गरिएको छ। बजारमा जाने अवस्था नभएको कारण अनुगमन नगरिएको उनको भनाइ छ।

विराटनगरलगायत अन्य सहरमा पनि त्यही अवस्था विद्यमान छ। इटहरीको संगीत चोक कपडा व्यापारको लागि प्रख्यात मानिन्छ। थोक तथा खुद्रा कपडा कारोबारले भरिभराउ संगीत चोकका एक व्यापारीका अनुसार रातको समयमा तस्करी गरी ल्याइएका सामान भित्र्याउने गरिएको छ।

संगीत चोककै एक अर्का व्यापारी भन्सार छलेको सामान आएको थाहा पाएर पनि केही बोल्न नसकिएको बताउँछन्। पछिल्लो जेनजी आन्दोलनपछि पहिलाभन्दा धेरै बिलबिनाका सामानहरू आइरहेको उनले बताए।


प्रकाशित : मंगलबार, असोज १४ २०८२०७:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend