शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

दसैँमा यात्रा गर्न बाटो सहज भइसक्यो : सडक विभाग

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज १० २०८२
दसैँमा यात्रा गर्न बाटो सहज भइसक्यो : सडक विभाग

ठोरी, भण्डारा-मलेखु, गल्छी-त्रिशूली-वेत्रावती-मैलुङ-स्यफ्रुबेँसी-रसुवागढी राजमार्गअन्तर्गत रसुवाको तातोपानी र टिमुरे पनि पूर्णरूपमा अवरुद्ध रहेको विभागले जनाएको छ।

काठमाडौं- सडक विभागले दसैँमा काठमाडौं उपत्यकाबाट बाहिरिने र भित्रिने यात्रुका लागि बाटो सहज भइसकेको जनाएको छ। 

मुलुकका अधिकांश मुख्य राजमार्गको पहिरो पन्छाएर सुधारको काम भइसकेकाले अब यात्रुहरूले सास्ती भोग्न नपर्ने विभागले जनाएको छ। पृथ्वी, अरनिकोलगायत मुख्य राजमार्ग पहिरोका कारण यात्रुहरूले सास्ती भोग्नुपरेको थियो।

यसअघि पहिरोका कारण मुग्लिन-नारायणघाट सडकखण्ड अवरुद्ध हुँदा यात्रुहरू ४० घण्टाभन्दा बढी समय ट्राफिक जाममा बस्न बाध्य भएका थिए। विभागका प्रवक्ता प्रभातकुमार झाले अब ठूलो वर्षा नभए समस्या नआउने विश्वास व्यक्त गरे।

'दसैँका लागि यात्रु बाहिरिने क्रम सुरु हुनासाथ पहिरोका कारण पृथ्वी, अरनिलगायत मुख्य राजमार्ग नै पूर्ण रूपमा अवरुद्ध भए। यात्रुहरूले धेरै सास्ती भोग्नुपर्‍यो, तर हामीले २४ घण्टा नै खटिएर पहिरो पन्छाउने काम गर्‍यौँ। हाल बाटो सहज भइसकेको छ', उनले भने।

हाल चार राजमार्ग पूर्ण रूपमा र एक सय ७१ राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा रहेका छन्। यसबाहेक ठोरी-भण्डारा-मलेखु, गल्छी-त्रिशूली-वेत्रावती-मैलुङ-स्यफ्रुबेँसी-रसुवागढी राजमार्ग अवरुद्ध हुँदा स्याउपार्किङ, रसुवागढीमा यातायात ठप्प छ।

विभागका अनुसार हाल एक्साभेटर तथा लोडर प्रयोग गरी अवरुद्ध सडक खोल्ने प्रयास भइरहेको छ। गत साउन १४ गते चीनबाट बाढी आएको र नदीले सडक कटान गरेको कारण उक्त राजमार्ग अवरुद्ध भएको हो।

यसैगरी चतरा-मुलघाट-माझीटार-अमरापुरडाँडा-गणेशचोक (तमोर करिडोर) राजमार्गअन्तर्गत ताप्लेजुङको फक्ताङलुङ वडा नं ५ र ६ जोड्ने रानीपुल बेलीब्रिज पनि पूर्ण रूपमा अवरुद्ध भएको विभागको तथ्यांकमा उल्लेख छ। रेमिट हाइड्रोबाट पुनः बेलीब्रिज निर्माणका लागि पहल भएको विभागले जानकारी दिएको छ।

करिब पाँच वर्ष पहिले रेमिट हाइड्रोबाट तमोर नदीमा निर्मित रानीपुल बेलीब्रिज गत साउन ६ गतेको बाढीले बगाएको थियो। ठोरी, भण्डारा-मलेखु, गल्छी-त्रिशूली-वेत्रावती-मैलुङ-स्यफ्रुबेँसी-रसुवागढी राजमार्गअन्तर्गत रसुवाको तातोपानी र टिमुरे पनि पूर्ण रूपमा अवरुद्ध रहेको विभागले जनाएको छ।

रानी-विराटनगर-इटहरी-धरान-धनकुटा-हिले, लेघुवाघाट-तुम्लिङटार-खाँदवारी-नुम-किमाथाङ्का (कोशी राजमार्ग) अन्तर्गत सङ्खुवासभाको अल्फटेमा यातायात अवरुद्ध रहेको छ। रासस


प्रकाशित : शुक्रबार, असोज १० २०८२१६:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend