काठमाडौं- मानव सभ्यताको सुरुवातसँगै समय मापन गर्ने प्रयास पनि सुरु भएको हो। सुरुवाती समयमा सूर्य उदाउने र अस्ताउने चक्र, चन्द्रमा र ताराको गति नियाल्दै मानिसहरूले आफ्नो जीवन चलाउँथे। त्यो प्राकृतिक अन्दाजबाट अघि बढेर मानिसहरूले ठीक समय मापन गर्ने चाहाना राखेसँगै घडीको कथा सुरु हुन्छ।
घडीको इतिहास हेर्दा समयको प्राकृतिक मापनदेखि मानिसको हैसियत नाप्ने सम्पत्ति बन्दै आधुनिक विश्वमा स्मार्ट फोनले गरिएको विस्थापनसम्म हेर्नुपर्ने हुन्छ।
समयको महत्व दर्शाउन मानव जगतको उत्पत्ति कालदेखि नै अनेकौँ वस्तुहरुको परिक्षण भए। त्यहि समयलाई व्यवहारिक रुपमा मापन गर्न र प्राणी जगतको आधुनिक विकासका लागि शताब्दीऔँ अगाडिदेखि घडीको आविष्कार हुन थाल्यो।
इजिप्ट र मेसोपोटामियाबाट सुरुवात भएको छायाघडी घडीको विकासमा महत्त्पूर्ण कोशेढुंगा हो। सनडायल भनिने ती घडी करिब ३५ सय वर्षअघि इजिप्टमा बनाइएको इतिहासहरु भेटिन्छन्। उक्त घडीमा सूर्यको छाया कहाँ पर्छ भन्ने आधारमा बिहान, दिउँसो र साँझ छुट्याइन्थ्यो। यो नै मानव इतिहासको पहिलो घडी थियो। तर यो घडीले दिउँसोको समयमा मात्र काम गर्थ्यो।
सनडायलपछि पानीघडीको विकास भयो। ईसा पूर्व १६औँ शताब्दीमा मेसोपोटामिया र इजिप्टमा पानीको प्रवाहलाई प्रयोग गरेर समय नाप्ने प्रविधि विकसित भएको थियो। पानी तल बग्दै गएपछि निश्चित समयमा भाँडो भरिन्थ्यो वा खाली हुन्थ्यो। ग्रीक र रोमनहरूले पनि यसलाई सुधारेर समय मापनमा प्रयोग गरेका थिए। पानीघडी रात्रीकालिन समयमा पनि चल्थ्यो। यसैले घडिको विकासका क्रममा हेर्दा यो ठूलो उपलब्धी बन्न पुग्यो।
घडीको इतिहासमा छुटाउन नहुने अर्को विकास हो बालुवाघडी। मध्ययुगतिर समय मापनका लागि बालुवाले भरिएका दुई काँचका भाँडाहरू प्रयोगमा आएका थिए। उक्त भाँडा तल झर्ने बालुवाले घण्टा नाप्थ्यो। यो सजिलो विधि थियो। समुद्री यात्रा र चर्चहरूमा यसको निकै प्रयोग गरिन्थ्यो।
प्राकृतिक वस्तुको प्रयोग गरी समयको मापन भइरहँदा युरोप आविष्कारको युगमा प्रवेश गर्यो। त्यसपछि विकास भए मेकानिकल घडी। १४औँ शताब्दीमा युरोपमा पहिलो मेकानिकल घडी बने। ठूला टावरहरूमा घण्टी बज्ने गरी त्यस्तो घडी जडान गरिन्थ्यो। यसले समाजलाई नियमित तालिका बनाउन सहयोग गर्यो। यही घडीको आविष्कारपछि समयसँग अनुशासनको विषयसमेत जोड्न थालिएको हो।
सन् १५१० मा जर्मनीको न्युरेनबर्गमा पिटर हेनलेनले पहिलो साँच्चैको घडी बनाएपछि यसको आधुनिक इतिहास सुरु भएको थियो। स्प्रिङ-लोडेड डिजाइनको त्यो घडीमा डायल करिब ७५ एमएमको थियो, त्यसैले त्यो बेल्टमा झुन्ड्याउनका लागि उपयुक्त थियो। यही कारणले हेनलेनलाई आधुनिक घडीका पिता मानिन्छ।
सोह्रौँ शताब्दीमा धेरै साना र पातला पोर्टेबल घडीहरू बन्न थाले। फलस्वरूप, पकेट वाचको अत्यधिक माग आयो र धनी तथा सम्भ्रान्त वर्गका लागि एक महत्त्वपूर्ण फेसनको सामान तथा प्रतिष्ठाको प्रतीक बन्यो। राजा र धनी व्यापारीहरूका लागि यो केवल समय नाप्ने यन्त्रमात्र होइन हैसियत देखाउने माध्यम बन्न थालेको थियो। यसैले घडीको विकास क्रममा महत्त्वपूर्ण पाटो हो पकेट वाच।
सत्रौँ शताब्दीमा पहिलो हातमा लगाउने घडीको आविष्कार भए तापनि पुरुषहरू अझै पनि पकेट वाच नै रुचाउँथे। त्यसैले बीसौँ शताब्दीको सुरुसम्म हातमा लगाउने घडीहरू प्रायः महिलाका लागि मात्र उत्पादन गरिन्थ्यो। यस समयमा घडीहरू ठूलो मात्रामा उत्पादन हुन थालेकाले धेरै किफायती बन्दै गएका थिए।
पहिलो विश्वयुद्ध सुरु हुँदा पकेट वाच खासै व्यावहारिक देखिएन। सैनिकहरूका लागि भरपर्दो समय थाहा पाउनु अति महत्त्वपूर्ण भएकाले सन् १९१७ मा हातमा लगाउने घडीलाई सैनिक पोसाकको एक महत्त्वपूर्ण हिस्सा बनाइयो। त्यही बिन्दुदेखि पकेट वाचलाई एउटा फेसनको सामान मात्र मानिन थालियो र अहिले लोकप्रिय बनेको हातमा लगाउने घडी नै मुख्य समय बताउने यन्त्र बन्यो।
पहिलो विश्वयुद्धपछि खासगरी यातायातको माग बढेसँगै अझ भरपर्दो समयको आवश्यकता बढ्न थालेको थियो। जहाज, रेल वा हवाई यात्राजस्ता बढ्दो यातायात सञ्जालले घडीहरूमा अझ बढी शुद्धताको माग बढायो र यसको विकास तीव्र गतिमा भयो।
हातमा लगाउने घडीपछि विश्व बजारमा क्वार्ट्ज घडीको क्रान्ति नै आयो। सन् १९६९ मा सेइकोले पहिलो क्वार्ट्ज घडी बजारमा ल्यायो, जसले घडी उद्योगलाई सधैँका लागि परिवर्तन गरिदियो। उक्त विकासले ब्रान्डहरूलाई प्रतिस्पर्धी मूल्यमा पनि असाध्यै सही समय देखाउने घडीहरू उत्पादन गर्न सम्भव बनायो। उक्त घडीमा क्वार्ट्ज क्रिस्टलको कम्पनले समय अत्यन्तै सही ढंगले नाप्न सकिन्थ्यो। यसले पुराना मेकानिकल घडीहरूलाई छायामा नै पारिदियो। विश्व बजारमा त्यसको फैलावट निकै व्यापक भयो।
आज अग्रणी लक्जरी घडी निर्माताहरू र डिजाइनर ब्रान्डहरूले हरेकको रुचि र बजेटअनुसार उच्च गुणस्तरका र अविश्वसनीय रूपमा सही मेकानिकल, स्वचालित र क्वार्ट्ज मोमेन्ट घडीहरू बनाउँछन्।
बीसौँ शताब्दीमा ओमेगा, ट्याग ह्युर, ब्रिटलिङ र ट्युडरजस्ता धेरै प्रतिष्ठित लक्जरी घडी ब्रान्डहरूले असाधारण गुणस्तरका मेकानिकल र अटोमेटिक हातेघडीहरू विकास गरे। जसले गर्दा स्वीट्जरल्याण्ड आजको एक कुलीन घडी बनाउने राष्ट्रको रूपमा स्थापित भयो।
सन् १९७० को दशकदेखि एलईडी र एलसीडी स्क्रिन भएका डिजिटल घडीहरू प्रचलनमा आउन थाल्यो। त्यसमा समयमात्र होइन गते र बारसमेत हेर्न मिल्ने सुविधाहरू थपिए। त्यसका विकसित रुपमा त क्यालेन्डरसँगै अलार्म र स्टपवाचजस्ता सुविधा पनि थपिएका थिए।
सन् १९९० पछि स्मार्टवाचको आधुनिक क्रान्तिमा त घडी समय नाप्ने साधनबाट निकै माथि पुगिसकेको छ। स्मार्टवाचले फोनमा जस्तै कुरा गर्ने, स्वास्थ्य जाँच्ने, जीपीएस देखाउने साथै इन्टरनेटसँग जोडिएर अन्य विभिन्न सुविधा दिन्छ। सन् २०१५ पछि वास्तविक स्मार्टवाचको रुपमा अघि आएको एप्पल वाचले त पूरै उथलपुथल ल्याइदिएको छ।
समय नाप्ने साधनबाट अघि बढेर हैसियत देखाउने सम्पत्ति हुँदै घडी आधुनिक जीवनशैलीको अभिन्न अंग बनेको छ। स्मार्टफोनको विकाससँगै घडीको प्रयोगबारे दुविधाका विभिन्न प्रश्न उठिरहँदा स्मार्टफोनसँगै जोडिएर घडी अझ परिष्कृत बनेको छ। घडीले मानव सभ्यताको विकासक्रममा प्रकृति, अनुशासन र संस्कृतिसँगै विज्ञान प्रविधिको लामो यात्रा देखाएको छ।