विराटनगर- जेनजी आन्दोलनको ठीक १० दिनअघि भोलेश्वर (भोला) दुलालले उत्साहित हुँदै लगानीको लागि उपयुक्त वातावरण बनेको सुनाएका थिए। ‘अबको सुन्दरहरैचा’ कार्यक्रमका वक्ता दुलालले केही नीतिगत समस्यालाई समाधान गर्नसके प्रविधि र पर्यटन क्षेत्रमा लगानी बढ्ने बाचा गरे।
दुलालले सञ्चालनमा ल्याएको नेपालीरिका होटेलमा आयोजित कार्यक्रम भव्यरुपमा भयो। नीति निर्मातादेखि स्थानीय उद्यमी र युवासहितको भेलाले कृषि, पर्यटन र प्रविधिमा प्रचुर सम्भावना रहेको निष्कर्ष निकाल्यो।
सोही कार्यक्रममा नेकपा एमालेका नेता राजकुमार ओझासमेत वक्ता थिए। तपाइँलाई जेनजी पुस्ताले कसरी सम्झिन्छ होला? त्यो पुस्ताको लागि तपाइँले के सोचिरहनु भएको छ? भन्ने सहजकर्ताको प्रश्नमा उनी रिसाए। प्रश्नलाई प्रतिशोधपूर्ण भएको भन्दै कड्किए ओझा।
कोशी प्रदेशका पूर्वमन्त्रीसमेत रहेका नेताले जेनजी चिनेनन्। आफ्नो अनभिज्ञता छोप्न प्रश्न प्रतिशोधपूर्ण भएको प्रतिक्रिया दिए। नेताले नचिनेको जेनजी पुस्ताले १० दिनपछि भदौ २३ र २४ गतेको आन्दोलनबाट कहिल्यै नबिर्सिने गरी परिचय दियो। उनको आक्रोश केही दिनमै भयमा परिणत भयो।
सोही आन्दोलनको क्रममा नेपालीरिका होटेलमा आगो लाग्यो। जेनजीको भविष्यबारे बहस भएको होटेल त्यही पुस्ताको आन्दोलनले छियाछिया भयो। आगलागीको समयमा सञ्चालक दुलाल विदेश भ्रमणमा थिए। भोलाका छोरा आकाशसमेत अमेरिका भ्रमणमा थिए।
सुन्दरहरैचा नगरपालिकामा आगजनी गरेर आन्दोलनरत भिड नेपालीरिका पुग्यो। नेताहरू होटेलमा लुकेको भन्दै भिडले तोडफोड गर्यो। नेताहरूको लगानी भएको अफवाह फैलिएपछि झनै भिड अनियन्त्रित बन्यो। तोडफोडपछि केहीले सामान चोरी गरेर भागे। केही घण्टामै आगजनी सुरु भयो। ३२ वटा कोठामा रहेका भारतीय पर्यटकलाई वैकल्पिक द्वारबाट बाहिर निकालियो।
आगलागीको कारण १० करोड रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ। परिवर्तन र विकास विरोधीले होटेलमा निजी स्वार्थपूर्तिको लागि आगजनी गरेको भोला दुलालले बताएका छन्। कारबाहीको लागि किटानी जाहेरी दिने तयारी गरेको उनले सुनाए।
संकटमा उदाएको होटेल आफै संकटमा
२०७२ को नाकाबन्दीको पछि अर्थतन्त्र शिथिल बन्दै गएको थियो। राजनीतिक आन्दोलनको कारण अस्थिरता मौलायो। २०७४ को निर्वाचन पछि केही सुधारका संकेतहरू देखिए। लगानीको वातावरण बनेको भन्दै उद्योगीहरू उत्साहित बने। त्यही समयमा भोला दुलालले नेतृत्व गरेको 'पिएलओ ग्रुप अफ कम्पनी'ले होटेल खोल्ने निर्णय गर्यो।
दुलालले होटेल निर्माणको सुरुवात गर्दा कोभिड महामारी देखापर्यो। कोभिडकै संकटका बीच उनले निरन्तर काम गरे। कोभिड महामारी शान्त भएपछि नेपालीरिका सञ्चालनमा आयो। झापाको दमक र मोरङको विराटचोकमा एकैपटक दुईवटा होटेल खुले। जसले होटेल तथा पर्यटन क्षेत्रमा नयाँ ऊर्जा थप्यो।
राम्रो सेवा दिन सक्दा जुनसुकै ठाउँमा पनि व्यवसाय चलाउन सकिन्छ भन्ने विश्वासका साथ होटेल खोलेको बताउँछन् दुलाल। नभन्दै विराटनगरबाट २० किलोमिटर टाढा रहेको नेपालीरिका भारतीय पर्यटकको रोजाइमा परेको छ। पश्चिम बंगाल र विहारको जनसंख्यालाई मध्यनजर गरेर खुलेको नेपालिरिकाले सोचेजस्तै पर्यटक पायो।
दुईवटा होटेल गरेर १ अर्ब ५२ करोड रुपैयाँ लगानी गरे। ८० करोड बैंकबाट कर्जा र बाँकी पिएलओ ग्रुपले लगानी रहेको होटेल नेपालीरिका होटेल प्रणालीको रूपमा सञ्चालित छ। जसको कारण पछिल्लो समय स्तरीय होटेलहरू खुल्ने क्रम बढ्दै गयो। हाल विराटचोकमा मात्र १ सय ६ जनाले रोजगारी पाएका छन्। त्यसमध्ये ९५ प्रतिशत २८ वर्षमुनी (जेन जी पुस्ता) को रहेका दुलालले बताए।
रोजगारीमात्र होइन नयाँ पुस्तालाई होटेल व्यवस्थापनमा दक्ष बनाउने अभियानमा थिए दुलाल। तर जेनजी आन्दोलनले व्यावसायिक मनोवृत्तिलाई हतोत्साहित गरेको उनले अनुभूति गरेका छन्। अथाह मेहनत गरेर ड्रिम प्रोजेक्टको रूपमा अगाडि बढेको नेपालिरिका आईपीओको अन्तिम तयारीमा रहेको उनले सुनाए। पाँचतारे होटेलको मान्यता लिन ११ करोड रुपैयाँमा थप जग्गा खरिद गरेका थिए। आन्दोलनको कारण पाँचतारे होटेलमा क्यासीनो सञ्चालन गर्ने योजना तुहियो।
कोशि टप्पु, धनकुटाको नाम्जे र इलामको श्रीअन्तुमा आगामी वर्षमा नेपालिरिका खोल्ने अन्तिम तयारी थियो। सातवटै प्रदेशमा नेपालीरिकाका शाखाहरू खोल्ने वृहत् योजनामा थियो पिएलओ ग्रुप।
‘नेपालमा मात्र होइन विदेशमा समेत नेपालीरिकालाई पुर्याउने लक्ष्य राखेका थियौँ। बैंकको ब्याजदर घटेको थियो। सबै कुरा राम्रो भइरहेको अवस्थामा यो दुर्घटनाले ठूलो क्षति भएको छ। यो वित्तीय संकट भन्दापनि मनोबलको संकट हो। अब यी सबै योजनाहरू पूरा गर्न हामी तयार छैनौँ। बैंकको कर्जा नभएको भए यो होटेल पनि नचलाउने अवस्थामा पुगेको छु म,’ उनले भने।
थप प्रष्ट पार्दै उनले भने, ‘हिजो माओवादी द्वन्द्वपछि संविधान जारी हुँदासम्म अब राम्रो होला भनियो। संविधान पछि नयाँ सरकार गठन हुँदा राम्रो होला भनियो। कोभिड पछि राम्रो होला भनियो। अब फेरि यस्तो भयो। यसले उद्योगीलाई धेरै हतोत्साहित बनाएको छ।’
शून्यबाट उठेका दुलाल
नाबालक अवस्थामा नै बुबा गुमाएका दुलाल ठूलो मेहनतले उभिएका व्यवसायी हुन्। बुबाको निधनपछि दुईजना आमाहरू छुट्टिएर अलग भए। बाल्यकालमै ऋणमा परे दुलाल। आमाको नाममा भएको सम्पत्ति र ऋण बराबर भयो। सम्पत्ति बिक्री गरेर ऋण तिरेर शून्यमा पुग्यो उनको परिवार।
दमकमा मासिक दुई सय रुपैयाँमा सञ्जीव मिल मेसिनरीमा जागिर पाए। त्यही बेला दुलालले व्यावसायिक सीप सिके। थोरबहुत व्यावसायिक ज्ञान बटुलेपछि आफ्नै पसल खोल्ने तयारीमा लागे उनी। कृषि सामग्री खरिद बिक्री गर्दा कृषि विकास बैंकले सहुलियत ऋण दिने थाहा पाए। कृषकको जनघनत्व भएको ठाउँ खोजी गर्दै विराटचोक पुगेका उनले पसल सञ्चालन गर्ने निधो गरे।
आफन्तसँगको ऋण र अन्य केही पैसा जोहो गरेर १८ वर्षकै उमेरमा व्यापारमा लागेका हुन् उनी। मिल मेसिनरी पसल सञ्चालक गरेको केही वर्षमै विराटचोकमा घर बनाए। त्यसपछि २०५८ सालमा स्थानीय व्यापारीसँग मिलेर विराटचोकमा पूर्वाञ्चल ल्युब आयल (पिएलओ) उद्योगको स्थापना भयो। एक करोड १० लाखको लगानीमा सुरु भएका पिएलओ ब्रान्ड अहिले चर्चित भएको छ।
२०६४ सालमा जी-सेभेन पेन्टस् उद्योग स्थापनालगत्तै मोभिललाई पुनः प्रशोधन गर्ने जी-प्याक उद्योग पनि सञ्चालनमा आयो। २०५२ सालबाट सुरु भएको माओवादी सशस्त्र द्वन्द्वकै समयमा दुलालको व्यावसायिक उदय भएको हो। संकटकालको समयमा उद्योग खोलेका उनी बारम्बारका हन्डर र समस्या आइरहँदा पनि विचलित भएनन्।
नाकाबन्दी र कोरोना महामारीको समयमा समेत थप व्यवसाय बढाएका उनलाई भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको कारण भने थकित बनाएको छ। व्यावसायिक उत्साह र जाँगरमा कमी आएको बताउँछन् दुलाल।
