बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

पुर्खाको प्रमाणित ज्ञानको बेवास्ता गर्दा भोग्नुपरेको पानीको हाहाकार

बिहीबार , असोज १६ २०८२
पुर्खाको प्रमाणित ज्ञानको बेवास्ता गर्दा भोग्नुपरेको पानीको हाहाकार

पानीको स्रोत संरक्षण र सहज पहुँचका लागि परम्परागत प्रविधिको विज्ञान बुझेर अघि बढ्नुपर्ने बेला आएको छ।

काठमाडौं- उपत्यका पानीको यस्तो हाहाकार हुनुपर्ने ठाउँ होइन। कम्तिमा पुर्खाले कुलो, पोखरी, हिटीमार्फत पानीको वैज्ञानिक प्रणालीमा गरेको विकासलाई पछ्याउन सकेको भए अहिले पनि उपत्यकाले विश्वलाई उदाहरणीय काम देखाउने थियो।

हुन पनि इसं ४६४ मा नै नारायणहिटी  बनेको कथनसँगै केही इतिहासकारको खोज पनि छ। त्यसलाई गोपाल वंशावलीसँग जोडेर हेरिन्छ। योगी नरहरिनाथले वंशावलीको उद्वरण गर्दै उल्लेख गरेका छन्, 'कलिगत संवत् १९११ मा राजा विक्रमसेनद्वारा त्यस ढुंगेधारा बनाउन लगाएकामा पानी नआएपछि नासत भूपकेशरीले आफ्नै पिता विक्रमकेशरीलाई बलिमा चढाए..।'

त्यसपछि पनि ढुंगेधाराका विभिन्न प्रमाण र कथनहरू उपत्यकाको समाजसँग जोडिँदै आएको पाइन्छ। उपत्यकामा बुढापुराना आफ्नो वरपर पानीको कस्तो प्रणाली थियो र ढुंगेधारा, पोखरीको विकास कस्तो थियो भन्ने सुनाइरहन्छन्। धेरैले सुनेर रमाइलो मान्ने र छाडिदिने कथा जस्तो लाग्ने ती यथार्थमा यस्तै रहे अब केही वर्षमा त विश्‍वास पनि हुने छैन।

ऐतिहासिक ढुंगेधारा तथा पोखरी संरक्षणमा लागिरहेकाहरू पुर्खाको सीप नयाँ पुस्तामा पुर्‍याउन र त्यसको मर्म बुझ्न ढिलो भइसकेको बताउँछन्।

नदी नाला र पानीको प्राकृतिक मुहान वा पोखरीबाट गहिरो पारी खनेर निर्माण गरिएको मार्ग वा माटोद्वारा निर्मित ठूल्ठूला डुँडहरू एक आपसमा जोडेर निश्चित क्षेत्रमा पानी लैजाने बाटो नै कुलो हो। प्राचीन कालदेखि नै खानेपानी, सिँचाइ तथा पशुपालनका निम्ति कुलोको निर्माण गरी पानीको सहज आपूर्तिका निम्ति उपत्यकाका शासक र बासिन्दाहरू सक्रिय थिए। कुलो, पोखरी र ढुंगेधारामा अनवरत भइरहने र सधैँ बहिरहने पानीको प्रणाली विकास निकै वैज्ञानिक थियो।

काठमाडौं उपत्यका खानेपानी आपूर्ति व्यवस्थापन बोर्डले सन् २०१९ मा गरेको अध्ययनअनुसार उपत्यकामा ५७३ वटा त ढुंगेधारा नै थिए। दशरथ रंगशालादेखि ताहाचलसम्म पुरिएका पोखरीको त यकिन हिसाबसम्म छैन। ढुंगेधारा नै पनि ९४ वटा अस्तित्वमा नै छैनन् भने ५२ वटा नष्ट भए। ४२ वटा त कहाँ थियो भन्ने यकीन ठाउँसम्म भन्न सकिएको छैन।  

ढुंगेधारा र पोखरीसँगै जोडिन्छ राजकुलो। काठमाडौं उपत्यकामा निर्माण भएका राजकुलोहरूमध्ये प्राचीनकालमै लेलेदेखि चापागाउँसम्म निर्माण गरिएको विश्वास गरिने राजकुलो, कीर्तिपुरका पूर्वमध्यकालीन राजा शिवदेवले निर्माण गरेको राजकुलो, राजा प्रताप मल्लले शिवपुरीबाट हनुमानढोका दरबारसम्म ल्याएको राजकुलो, राजा सिद्धिनरसिंह मल्लद्वारा चापागाउँदेखि लगनखेलसम्म विस्तार गरेका तथा भक्तपुरमा राजा जितामित्र मल्लले महादेव पोखरीदेखि भक्तपुर दरबारसम्म निर्माण गरेका राजकुलोहरू प्रमुख हुन्। ती राजकुलोको आजको अवस्था के कस्तो छ सबैलाई थाहै छ।

राजकुलो मासिए पनि प्राकृतिक पानीको स्रोतमा सदावहार बहने  बागमती, विष्णुमती, मनोहरा, नागमती, स्यालमती, हनुमन्ते, लेले, नख्खु, लुभु, बल्खु, चाखण्डे, गोदावरी, रत्नावली, चारूमती, धोबिखोला, इक्षुमती, मनमती आदी नदी तथा खोलाको अवस्था पनि देखेकै छौँ। उपत्यकामा पानीका सानातिना खोल्साखोल्सी पनि हुन्थे भन्दा त अब कसरी विश्वास हुनु?

rajkulo dud.jpg
भक्तपुरका राजा जितामित्र मल्लद्वारा महादेव पोखरीबाट भक्तपुर नगरमा ल्याइएको राजकुलोको डुँड।

नेपालका प्रथम शासक गोपालवंशीहरू नदी वरपरै बसोबास गरेको अनुमान गोपालवंशी बहुह्री नामक गाईले बागमती किनारमा अवस्थित थुम्कोमा गएर सधैँ दूध चढाउने गरेको कथनबाट पनि बुझ्न सकिन्छ। (भुवनलाल प्रधान, नेपालको इतिहासका केही पक्ष)

गोपाल, महिषपालपछि नेपालमा शासन गर्ने किराँतहरू उत्तरपूर्वी हिमालयबाट इपू १० औँ शताब्दीतिर नेपाल प्रवेश गरेको केही विद्धानहरूको भनाइ छ। इतिहासकार डा. सुदर्शनराज तिवारी किराँतीहरूले आफ्नो उच्च स्थानको बस्तीसम्म कसरी वैज्ञानिक ढंगले पानी पुर्‍याएका थिए भन्ने यसरी सुनाउँछन्- उनीहरूले काठमाडौं उपत्यकाको उच्च स्थानमा बस्ती विस्तार गरी आफ्ना बस्तीको नाममा ‘प्रिङ्ग’ शब्द जोडेका थिए, जस्तैः खोप्रिङ्ग, फलपिङ्ग्र, माखोप्रिङ्ग, लोप्रिङ्ग, मुप्रिङ्ग, जोलप्रिङ्ग आदि।

उपत्यका वरिपरिका डाँडा नै नदीनालाका उद्गम स्रोत भएका हुँदा यहाँका बासिन्दालाई पानीको अभाव भने पक्कै थिएन। तर पानी प्राकृतिक गुणले नै भिरालोतर्फ बग्ने हुँदा किराँतीहरूलाई आफ्ना उच्च बस्तीबाट दैनिक नदी नालासम्म धाउन भने मुस्किलै भएको अनुमान गर्न सकिन्छ।

सम्भवत: यसै वाध्यतालाई निराकरण गर्न किराँतहरूले आफ्ना बस्तीभन्दा माथि अवस्थित प्राकृतिक मुहानबाट आफूद्वारा निर्मित पोखरीमा पानी पुनर्भरण भइरहने प्रविधिको विकास गरे। प्राचीन किराँती बस्ती पोखरीमै निर्भर थियो भन्ने कुरा किराँतकालमा विकसित महादेव पोखरी (नगरकोट), दहचोक (थानकोटमाथि), पोखरी भञ्याङ (गुन्डुमाथि), पोखरी थुम्को (फर्पिङ्गमाथि) आदि बस्तीमा रहेका पोखरीहरूबाट बुझिन्छ।

प्राचिन कालमा राजकुलो, ढुंगेधारा, पोखरीको उचित व्यवस्थापन र रेखदेखका लागि राज्यद्वारा नीति नियम लागु गर्नुका साथै सामाजिक धार्मिक रुपमा तीनको मर्मत भइरहन्थ्यो। मध्यकालमा त राजकुलोको व्यवस्था तथा हेरचाहका निम्ति ढलपा खटाइन्थे। पानीसम्बन्धी विवाद उठेमा ढलपाले सुल्झाउने र समाधान नभएमा ग्राम पाञ्चाली वा राजाको भित्री इजलासबाट छिनोफानो हुन्थ्यो। यस्तै कडा नियमका कारण प्राचीन राजकुलोहरू संरक्षित थिए। तर समयसँगै व्यवस्था फेरिँदै जाँदा नियम कानून शासन गर्नमा मात्र सीमित भयो, भविष्य हेर्ने शासक भएनन्।

rajkulo.jpg
ललितपुरमा प्राचीनकालमा टिका भैरवद्वारा लेलेदेखि चापागाउँसम्म ल्याइएको विश्वास गरिने तथा मध्यकालमा राजा सिद्धिनरसिंह मल्लद्वारा चापागाउँदेखि लगनखेलसम्म विस्तार गरिएको राजकुलो (चापागाउँ)।

विस २०२१ सालमा गुठी संस्थानको स्थापना भएपछि राज्यका धार्मिक तथा लौकिक गुठीहरू संस्थानको मातहतमा ल्याइयो। पहिलेजस्तो पानीका सम्पदाहरूको संरक्षणमा संस्थानले बेलैमा ध्यान दिन सकेन। काठमाडौं उपत्यकामा विस २०२४ सालमा चक्रपथको निर्माण गरियो। उक्त समयमा उपत्यकाका तीनवटै नगरमा रहेका राजकुलोको सम्बन्ध सहरको भित्री भागसम्म यथावत रहने वास्तुसंरचना निर्माणमा चासो दिइएन। त्यसपछि त राजकुलोको सम्बन्ध पोखरी, भूमिगत जलभण्डारसँग टुट्न गयो। जसका कारण दर्जनौँ पोखरी, भूमीगत जलाधार सुक्नुका साथै अधिकांश ढुंगेधाराहरू संकटकालीन अवस्थामा पुगेर लोप नै भए।

पानी केबल पानीसँग मात्रै जोडिँदैन। जीवनसँग जोडिन्छ। प्रकृतिको प्रणालीसँग जोडिन्छ। धर्मसँग जोडिन्छ। मानवीय संरचनाको केन्द्रमा रहन्छ। तर त्यही पानीको स्वप्रणालीलाई व्यवस्थापन गर्न नसक्दा पुर्खाको ज्ञानले आजको पुस्तालाई धिक्कारिरहेको छ।

विज्ञान भन्छ, अब हामीले जीवनशैली परिवर्तन नगरे उसैगरी बाँचिरहने सम्भावना कम छ। प्रकृतिसँग नजिक नभइ त्यो सम्भव छैन। तर उपाय के हो त?

पानीको स्रोत संरक्षण र सहज पहुँचका लागि परम्परागत प्रविधिको विज्ञान बुझेर अघि बढ्नुपर्ने बेला आएको छ। पानीको स्रोत संरक्षण र ढुंगेधारा पोखरीको संरक्षण र विकासका लागि परम्परागत ज्ञानको विस्तार निकै महत्वपूर्ण छ।

kirtipur rajkulo.jpg
कीतिपुरमा पूर्वमध्यकालीन राजा शिवदेवद्वारा निर्मित, केही दशक अघिसम्म अस्तित्वमा रहेको राजकुलो।

काठमाडौं महाभारत रेञ्जमा भएको उपत्यका हो। यसका नदीहरू बागमतीसहित केही उत्तरी भेगमा केही दक्षिणी भेगमा सुरु हुन्छन्। सबै नदीहरू मनसुनमा पनि निर्भर छन्। बागमती आसपास १४ मिलिमिटर पानी पर्ने गरेको विज्ञहरू बताउँछन्। ठाउँअनुसार त्यसमा भिन्नता पनि छ। काठमाडौंभित्र नै कतै पानी पर्दा कतै परिरहेको हुँदैन। पानी पर्ने समय र मात्राले पनि फरक पार्दछ। मनसुनमा पनि चारै महिना लगातार पानी पर्दैन। अब त्यो पानी जमीनमुनि कसरी पुग्छ भन्ने कुरा पनि छ।

काठमाडौंमा पानीको अर्को विशेषता पनि छ, त्यो भूमिगत पानी हो। एउटा गहिरो स्रोत छ भने अर्को माथिल्लो तहमा नै छ। २५ वर्ष पहिले जलविज्ञानको जुन चक्र थियो, अहिले त्यो चक्र छैन। पानी पर्ने ठाउँमा पनि धेरै कुरा फेरिएका छन्। जमिनको कति सतहलाई पानीले आफ्नो भूमि बनाइरहेको छ भन्ने फेरिएको छ। खासगरी पानी पर्ने चक्र फेरिएको थाहा भए पनि त्यसका सबै कुराहरू थाहा पाउन सकिएको छैन। सिधा जमिनमा पर्ने पानी र जमिनमा हुने गिलोपनमा कमि आइरहेको छ।

त्यसले धेरै कुरामा प्रभाव पारिरहेको छ। पानीको आफ्नै चक्रलाई पनि हामीले फेरिदिरहेका छौँ। त्यसको प्रयोग गर्ने शैलीका कारण पनि। 

जमिनको नियन्त्रण र त्यसको उपयोगितामा ध्यान नदिँदा त्यसको असर पानीको जीवनमा परिरहेको छ। यदि यो सबै कुरालाई पुरानै ठाउँमा फर्काउने हो भने जमिन र पानीको सम्बन्धलाई बुझ्न जरुरी छ।

pokhari rtipureshowr tahachal.jpg
अहिले दशरथ रंगशाला भएको स्थानमा रहेको पुरानो पोखरी (बायाँ) र ताहाचलमा रहेको पुरानो पोखरी (दायाँ) 

नेपालमा पानीबारेको बुझाइ हरेक ठाउँमा अलग अलग नै रहेको विज्ञहरू बताउँछन्। काठमाडौं उपत्यकामा एक किसिमको छ। पहाडमा एक किसिमको छ। तराईमा एक किसिमको छ। परम्परागत ज्ञान पनि ठाउँअनुसार फरक छ। पिउने पानी होस्, खेतीपातीको लागि होस् या अन्य प्रयोजनका लागि होस् सबैतिर त्यसमा फरक विशेषताहरू देखिन्छ।

पानीको बहुउपयोगी शैली पछ्याउने चलन पहिले राम्रो थियो। अहिले व्यापारिक दृष्टिकोणले मात्र त्यसको विकास भइरहेको छ। त्यसैले पानीलाई हेर्ने दृष्टिकोणमा पनि भिन्नता आइरहेको विज्ञहरूको तर्क गर्छन्। हिजो पानीलाई हामी बहन दिन्थ्यौँ र आफूलाई चाहिने जति लिन्थ्यौँ। अहिले त्यस्तो छैन। हामीले पानीलाई थुन्न थाल्यौँ त्यसले धेरै कुरा फेरियो।

पोखरी, धारा, चिस्यानयुक्त जमिन मास्न हुँदैन भन्ने कुरा धर्मसँग पनि जोडिन्थ्यो र मानिसहरूले पानीलाई महत्वका साथ हेर्दथे। पोखरी खनाउनु, धारा बनाउनु पुण्यको काम हो भन्ने थियो। पानीको स्रोतको बचाउ पहिले राम्रो थियो। अहिले पोखरी मासेर व्यापारिक केन्द्र बनाउने र त्यसबाट राज्यले नाफा लिने शैलीको विकास भइरहेको देखिन्छ।

जमिनको पानी पुनर्भरणमा ध्यान नदिइ काम नै छैन। कम्तिमा काठमाडौंको रानीपोखरीको कथा बुझेमात्रै पनि धेरै कुरा बुझिन्छ। परम्परागत ज्ञान र विज्ञानलाई जोडेर अगाडि बढ्न जरुरी छ।

dhunghe dhaara.jpg
गा: हिटी, थँबहील (ठमेल)। तस्बिर : आलोकसिद्धि तुलाधर।

आजभन्दा १५ सय वर्षअगाडि काठमाडौं उपत्यकाको समाजको पानीसम्बन्धी ज्ञान र पानी प्रयोग गर्ने तरीकामा कति वैज्ञानिकता रहेछ भन्ने कुरा बुझ्न जरुरी रहेको इतिहासकार डा. सुदर्शनराज तिवारी बताउँछन्। आजका समस्यालाई कसरी सुधार गर्ने भन्ने कुरा पनि पुरानो ज्ञानलाई बुझेर जान सकियो भने सजिलो हुने उनको भनाइ छ।

काठमाडौं उपत्यकाले मनसुनमा हुने दुई महिनाको पानी नै बाँकी १० महिनाका लागि पनि प्रयोग गर्ने गरिरहेको हुन्थ्यो। त्‍यसले पानीको प्रयोजनमा समन्वय गरेर बाँच्ने तरिका उपत्यकामा बस्नेले जानेका थिए।

पानीको प्रयोग पिउनेलगायत अरू कामका लागि पनि कसरी गरिने भन्ने पहिलेदेखि नै जानेका थिए। पानीलाई सञ्चित गरेर १२ महिना नै उपयोग गर्ने भनेको सञ्चित कसरी गर्ने भन्ने कुरामा पनि ध्यान पुगेको थियो। त्यसमा विशेष गरी इनारको प्रयोग भएको हामीले पाउन सक्छौँ। काठमाडौंमा धेरै अगाडि नै इनार बनेको हो। सतहमा रहेको पानी सकिएपछि प्रयोग गर्न जमिनमुनि पानी राख्ने गर्नुपर्छ भन्ने ज्ञान थियो नै।

त्यसपछि पोखरी बनाउने शैलीको विकास भयो। उपत्यकामा लिच्छवी कालभन्दा अगाडिबाट नै पोखरीको विकास भइसकेको पाइन्छ। लिच्छविकालको सुरुवातमा ढुंगेधाराको प्रचलन सुरु भइसकेको थियो। ती ढुंगेधाराहरू करिब पाँच सय वर्ष चलिरहेका थिए। यो अभ्यास दक्षिण एसियामा नेपालमा मात्र हो।

बगिरहने पानी चाहिन्छ भन्ने कुरा निकै महत्वपूर्ण ज्ञान हो। त्यसमा अरु धेरै कुरा जोडिन्छ। लिच्छवीकालमा विकास भएका पानीको कतिपय तरिका अहिलेसम्म पनि छन्।

लिच्छविकाललाई नै हेर्दा पनि शिलालेख हेर्दा धेरै संस्कृत शब्दहरूमा लेखिएको पाइन्छ। तर पानीसँग सम्बन्धित गैरसंस्कृत शब्द पनि प्रयोग भएका छन्। जस्तै दिमक (पोखरी), तिलम र तिलमक (नहर), लखमक (इनार)। यी शब्द प्रचलित भइसकेकाले लिच्छविकालीन शिलापत्रमा संस्कृत भाषाको प्रयोग नभएको पाइन्छ।

पानी प्रयोगको प्रणाली लिच्छविकाल भन्दाअघि किरातकालमै सुरु भइसकेको देखिने विज्ञहरू बताउँछन्। किनभने लिच्छविकाल आउँदा नै उनीहरूले यो सबै प्रणाली स्थापित भइसकेका थिए। त्यसैले ती शब्दहरू फेरिएनन्। ती शिलालेखमा संस्कृत भाषा लेख्न नयाँ समाजमा सजिलो नहुने पनि देखियो। लिच्छवि शिलालेख लिच्छविहरू आएको चार सय वर्षपछि मात्र सुरू भएको हो। ढुंगेधाराको ज्ञान लिच्छविभन्दा पनि अघिकै ज्ञान हो। ढुंगेधारालाई उपत्यकामा नै यहाँका रैथानेले विकास गरेका हुन्। 

लिच्छविकाल हावी हुँदै गएपछि पानी प्रयोजनका साधनलाई संस्कृत भाषा दिइन थालियो। जस्तै नहरलाई पानी मार्ग भनियो। यी र यस्तै शब्द उतिबेला नै बढी प्रयोग भएकाले पानी प्रणाली विकास भएको पाउँछौँ। त्यसबेला पानीको स्रोतको सुरक्षासँगै सिँचाइ पनि उस्तै राम्रो हुन्थ्यो।

लिच्छविकालको शिलालेख हेर्दा पोखरी, इनार, नहरबाट पिउने पानी, लुगा धुने, नुहाउन, पूजापाठ, सिँचाइ, उद्योग, मठमन्दिर बनाउन प्रयोग भएको पाउँछौँ। अहिले हामीले हेर्दा त्यस्ता प्रयोजनलाई हाम्रो पुर्खाले विकसित गरेको प्रणाली उत्कृष्ट थियो। आज हामीले देखेका र आवश्यकता महसुस गरेका कुरा १५ सय वर्ष पहिले नै भइसकेको थियो। शिलापत्र हेर्दा त्यतिबेला कुपन जलद्रोणीका, सुखा परिखा, तिलम, जलेद्र (पानीका स्रोतहरूको संस्कृत नामहरू) सुरु भइसकेको थियो।

ranipokhari.png
सन् १८४५ ताकाको रानीपोखरी।

लिच्छवि कालमा नै सडकमा हिँड्नेलाई समेत नि:शुल्क पानी पिलाउने प्रणाली विकास गरिएको थियो। पिउने पानी पनि इनारमा आधारित थियो। सलेलोधारा यन्त्रोधपानम कृत्वा (पानीलाई नियन्त्रण गर्ने) मेसिन बनाएको नक्सालस्थित एउटा शिलालेखमा उल्लेख छ। त्यसैले उतिबेला पनि पम्प प्रयोग भइसकेको पाइन्छ।  

त्यस समय हेर्दा पोखरीहरू पनि सिँचाइ गर्ने प्रयोजनले बनाएका थिए। उपत्यकामा पनि यस्ता पोखरी अग्ला ठाउँमा बनाइएका छन्। अग्ला ठाउँमा बनाइएकाले पनि ती पोखरीहरू धेरै सोचेर बनाइएको बुझिन्छ। जस्तै हाडीगाउँको लिच्छविपूर्वको पोखरी जुन उच्च ठाउँमा छ। त्यस्तै ढुंगेधारा, जुन मल्लकालमा पनि धेरै विकसित भए। पाँचौँ शताब्दीमा संसारको कुन चाहिँ देशमा सहरी पानी आपूर्ति प्रणाली थियो भनेर सोध्ने हो भने, काठमाडौं भन्नुपर्ने हुन्छ। अन्त थिएन।

इनार, जदू, राजकुलो पनि बनाइसकेका थिए। लिच्छविकालमा पानीको गुणस्तरबारे पनि चेत थियो। माटो खनेपछि पोखरी बनिहाल्छ भन्ने होइन कि त्यसमा बाह्रै महिना कसरी पानी उपयोग गर्न सकिन्छ भन्ने कुरा पनि विचार गरिएको थियो। पानी देखाउन मात्र राखिएको थिएन त्यहाँबाट ढुंगेधारा र इनारसम्म पानी पुग्थ्यो।

त्यसबेलाको पानीको ज्ञान बुझ्न शिलालेखमा सुस्वादु, शीतल, विशुद्ध, विमलम पानीयाम (सफा पिउने पानी, चिसो, कीटाणुरहित) भन्ने शब्द पनि उल्लेख छ। त्यो बेला पोखरीमा माछापालन गर्नेलाई कर छुट पनि थियो। उनीहरू वैष्णव समुदायको भएकाले माछा खानेभन्दा पनि माछा भए पोखरीको पानी सफा हुन्छ भन्ने रणनीतिको प्रयोग गरेको पाइन्छ। 

उनीहरूले बनाएका ती तिलमको (नहर) मर्मतसम्भार गर्न राज्यले बजेट नै छुट्याउँथ्यो।  अहिले हेर्दा जात्रालाई जात्रा मात्र भनेर बुझेका छौँ तर त्यसबेला यिनै जात्रा, पर्वहरू वार्षिक आम्दानीका स्रोत थिए। त्यो रकमले पानीका स्रोतको मर्मत हुन्थ्यो। त्यसबेला बिग्रन नपाउँदै मर्मत गरिन्थ्यो। कुलोहरू मर्मत गरेपछि भोज खाने चलन सुरु भएको पनि त्यहीबेला नै पाउँछौँ।

ठूलो ठूलो प्रणालीको विकास गर्दा त संस्थागत रुपमा नै काम हुने गरेको पनि पाइन्छ। मिननाथको एउटा लेखोटमा गएर हेर्ने हो भने कसले कसरी काम गर्ने भन्ने लेखोट पनि पाइन्छ। हाँडीगाउँमा हुने सत्यनारायणको जात्रा पनि पानीको प्रणालीसँग सम्बन्धित जात्रा हो। मच्छेन्द्रनाथको जात्रा पनि पानी प्रणालीसँग सम्बन्धित रहेको देखिन्छ।

विभिन्न किसिमका पोखरीको प्रयोगले पनि उपत्यकामा पानीको संरक्षण प्रयोग सम्भव भएको हो। त्यसबेला वर्षा, कुवा, नहर, इनारको प्रयोगबाट पोखरी बनाउने प्रविधि विकास गरेका थिए। पोखरी बनाउँदा पानी बन्द गरेमा कति दिनसम्म राख्न सक्नेलगायतको ज्ञान पनि थियो।

जमिन पुनर्भरणबारे उनीहरूलाई थाहा भएकै कारण अग्लो सहर भएको ठाउँमा पनि इनार बनाउन सकेका हुन्। नभए सबै सहर नदीभन्दा माथि नै छन्। नहर पनि कसरी सधैँभरि चल्न सक्छ, कसरी बन्द हुँदैन भन्ने उनीहरूको अध्ययनले नै उपत्यकाका लागि पानी उपयोग हुन सम्भव भएको देखिन्छ। त्यसमा कसरी छुट्याउने र मर्मत सहज हुने गरी पानी पठाउने भन्ने शैली पनि थियो। त्यसले १५ सय वर्षसम्म कसैले त्यसलाई खोलेर मर्मत गर्न परेको थिएन।

ढुंगेधाराकै कुरा गर्दा पनि ढुंगेधारामा पोखरीबाट नहर लगाएर पानी ल्याएको देखिन्छ भने ‘इनफिलट्रेसन ग्यालरी’ बाट पिउनयोग्य पानी बनाउन चारैतिर बन्द गरेर पानी ल्याइएको पनि देखिन्छ। त्यसमा पानी यताउति नहोस् भनेर बन्द गर्न धेरै कालोमाटो प्रयोग भएको पाइन्छ। उनीहरूलाई यसले पानी बन्द गरेर थुनेर ल्याउन सकिन्छ भन्ने पनि जानकारी थियो। पानी परेको बेला बगाएर हिलो ल्याउन सक्ने जोखिमबाट बचाएर पानी पिउनयोग्य बनाउन उपत्यकाका लिच्छविकालीन ढुंगेधाराको मूल पानी आउने मुखमा अध्ययन गर्दा फिल्टर भेटिएको थियो। त्यो फिल्टर बनाउँदा बालुवा र पाकेको इँटा प्रयोग भएका थिए। यो एक किसिमको कार्बन फिल्टर नै हो।

एउटा ढुंगेधारामा गयो भने पाँच वटा धारा देखिन्छ। त्यो पाँचैवटा धारा एकैपटक सुक्दैन। पानी कम भयो भने तीन, दुई र एउटा हुँदै सुक्दै जान्छ। विभिन्न स्तरमा पानी विभाजन गरेर, काठको डुँडहरू प्रयोग गरेपछि यो सम्भव भएको हो। त्यसमा ठूलो विज्ञान छ। त्यसमा सबै कुरा मिलाइएको देखिन्छ। पानी खेर फाल्नु हुँदैन भनी हिटिपुँखु (ढुंगेधाराबाट झरेको पानी सञ्‍चय हुने स्थान) पनि बनाइएका थिए। तर अहिले नयाँ बनाइएका ढुंगेधारामा यो पाइँदैन। धेरै पानी छ भन्दैमा खेर जान दिनु हुँदैन भन्ने बुझिसकेको देखिन्छ

पानीको प्रणालीमा जुन कुरालाई हामीले पश्चिमा ज्ञानका रुपमा लिइरहेका छौँ वास्तवमा त्यो हाम्रै ज्ञान भएको विज्ञहरू बताउँछन्। हाम्रा बाबुबाजेले जे गरेका थिए, प्राकृतिक रुपमा त्यसको केही मात्र हामीले सिकेर अझै गर्न सक्छौँ। यसलाई हाम्रो शिक्षा र नीतिमा पनि समावेश गराउन सके राम्रो नै हुनेछ।


प्रकाशित : बिहीबार , असोज १६ २०८२०५:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend