आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

पदयात्राको अनुपम गन्तव्य नेपाल

शनिबार, असोज १८ २०८२
पदयात्राको अनुपम गन्तव्य नेपाल

यातायातका साधनको विकासअघि मानिसहरू बाध्यताबाहेक नै पनि उत्सुकताले एकठाउँबाट अर्को ठाउँमा जान थालेका थिए। यसैले पदयात्राको पूर्वऐतिहासिक कथ्यहरू अनगिन्ति छन्।

काठमाडौं- पदयात्राका लागि उत्साही पर्यटकका लागि नेपालजस्तो गन्तव्य सायदै होला। जहाँ पाइला पाइलामा नयाँ अनुभूति दिने असंख्य सम्भावना छन्। प्राकृतिक सुन्दरताका अनुपम भूगोल छन्। साना र सजिला मानिएका बाटादेखि हिउँका चुचुरा छिचोल्ने चुनौती छन्। 

पदयात्राका कारण नेपाली पर्यटनमा देखिएको उत्साह अहिले लयमा आउँदै छ। कोभिडयता बढ्दो आकर्षण पछिल्लो समयको आन्दोलनले केही घटे पनि सबैको पहलले पुन: उचाइतर्फ लाग्ने नै छ।  

पर्वतारोहणले चिनाएको नेपाल पदयात्राका लागि पनि उपयुक्त गन्तव्य हो भन्ने विश्वमाझ परिचित नै छ। भूपरिवेष्ठित नेपालका लागि प्राकृतिक सुन्दरतासहित यही नै उपयुक्त ‘प्रोडक्ट’ हो। 

समृद्ध जैविक विविधता। मनोरम हिमश्रृंखला। ताल, खोला, नदी, पहाडको मनमोहक परिदृश्य। खानपानको बेग्लै संस्कृति। सांस्कृतिक रूपमा सम्पन्न। आत्मीय व्यवहार। शरदयामको खुला प्रकृति। शिशिरको हिउँ। बसन्तको हरियाली। ग्रिष्मतिरको वर्षा र उज्यालिएको घासे मैदान। यस्ता धेरै कारण छन् जसले पर्यटकहरू नेपाल रोज्छन्। एकपटक आएपछि पुन: नेपालतर्फ फर्कन्छन्। 

विश्वमा सबैभन्दा छिटो फैलिएको व्यवसाय पर्यटन नै हो। एकसमय थियो जो हिँड्न सक्थे तिनै पर्यटक थिए। यातायातका साधनको विकासअघि मानिसहरू बाध्यताबाहेक नै पनि उत्सुकताले एकठाउँबाट अर्को ठाउँमा जान थालेका थिए। यसैले पदयात्राको पूर्वऐतिहासिक कथ्यहरू अनगिन्ति छन्। 

विश्वमाझ सन् १९५० पछि नै नेपाली पदयात्राका मार्गबारे कुराकानी हुन थाले पनि यसको देखिनेगरी सन् १९९० पछि मात्रै विकास हुन थालेको पर्यटन व्यवसायीहरू बताउँछन्। 

manaslu tourist.jpeg

सन् १९५० को जुन ३ मा फ्रेन्च आरोही माउरिक हेरजोग र लुइज लाचेननले नेपाल भ्रमण गरी पैदल यात्रा गर्न नेपालमा ग्रेट हिमालय रहेको भनी आफूले लेखेको पुस्तकमा उल्लेख गरिदिए। त्यसभन्दा अगाडि नै सन् १९४९ मा बेलायतको एउटा समूहले नेपाल भ्रमण गरी नेपालको लाङटाङ, गणेश हिमाल र त्रिशूली नदीको अवलोकन गरेका थिए। सोही समयमा अमेरिकन प्रकृतिविद्ले नेपालको पूर्वदेखि पश्चिमसम्म भ्रमण गरेपछि सन् १९५० मा नेसनल जोग्राफी टेलिभिजन च्यानलमा नेपाल सुन्दर देश भनेर नेपालका भूभाग देखाइदिएपश्चात् भने नेपालको बारेमा युरोपियन र अमेरिकन नागरिकले चासो दिन थाले। 

सन् १९५३ मे २९ मा सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथाको सफल आरोहण गरेपछि भने विश्वभर सनसनी फैलियो। विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहणपछि विश्वका धेरै मानिसले नेपालको बारेमा चासो दिन थाले। सगरमाथामा उक्त सफल आरोहणपछि मात्रै नेपालको पर्यटनले पनि औपचारिकता पायो। 

सन् ६० को दशकमा बेलायती सेनाबाट अवकाशप्राप्त केही सैनिकको टोलीले नेपाल भ्रमण गरेको थियो। उनीहरूले नै नेपालबाट विश्व पर्यटनमा ‘ट्रेकिङ’ शब्दलाई परिचित गराएका कथ्यहरू पनि भेटिन्छन्। जसले ‘नेपालमा ट्रेकिङ गर्ने ठाउँ राम्रा छन्’ भन्ने परिचयलाई नयाँ शब्दमार्फत विश्वसामु लगे। 

कोभिडअघिको समयसम्म नेपालमा पदयात्राका लागि आउने पर्यटकको संख्‍या उल्लेखनीय थियो। ‘नेपाल टुरिजम स्टाटिस्टिक्स २०१९’ अनुसार नेपालमा ट्रेकिङ एजेन्सिज २ हजार ७ सय ६४ साथै ट्रेकिङ गाइड १७ हजार ६ सय २५ जना थिए। त्यो संख्या अहिले बढिसकेको छ। 

tour.jpg

तथ्यांकअनुसार सन् १९९३ मा नै ट्रेकिङ र माउन्टेनिङमा नेपाल आउने पर्यटकको संख्या समग्र संख्याको २३.७ प्रतिशत थियो। त्यसअनुसार पदयात्राका लागि सहज हुने पूर्वाधार र अन्य विषयमा ध्यान नदिँदा पदयात्रामा हुनुपर्ने विकास भइरहेका छैनन्। 

तथ्यांकअनुसार सन् २००१ मा मुस्ताङ, तल्लो र उपल्लो डोल्पा,  हुम्ला,  मनासलु, कञ्चनजंघा, सुम भ्याली, नार्फु र अन्य केही गन्तव्यमा गरेर ट्रेकिङका लागि आउने पर्यटकको संख्या ३ हजार ३ सय ५४ थियो। उक्त संख्या सन् २०१७ मा २९ हजार ९ सय ९३ पुगेको थियो भने २०१९ मा २४ हजार ७९ रहेको थियो।    

माओवादी सशस्त्र द्वन्द्व, गोरखा महाभूकम्प र पछिल्लो समय कोभिडबाट उठेर नेपाली पदयात्रामा रहेका गाउँहरू लयमा फर्कंदैछन्। पछिल्लो आन्दोलनले दोधारमा देखिएको यो क्षेत्रले लय समात्ने नै छ।

नेपालको पर्यटनको प्रमुख आकर्षण मानिएको पदयात्रामा पर्ने मार्गहरूमा जथाभावी बनेका सडकले ती मार्गको आकर्षण तथा गुणस्तर घटाइरहेको भन्दै पछिल्लो समय पर्यटन व्यवसायीले चिन्ता गरिरहेका छन्। सडक निर्माण गर्दा पदमार्ग नबिग्रनेगरी विकल्प खोजिनुपर्ने उनीहरूको माग छ। पदयात्रा मार्ग मिचिएको ठाउँमा वैकल्पिक रूट बनाउने कामसमेत नहुँदा विस्तारै त्यस्ता मार्ग नै हराउन सक्ने उनीहरूको चिन्ता छ। 

अन्नपूर्ण संरक्षित क्षेत्र अन्तर्गतका अन्नपूर्ण बेस क्याम्प, अन्नपूर्ण सर्किट, पुनहिल र उपर मुस्ताङ। सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रका एभरेस्ट बेस क्याम्प, गोक्यो लेक, थ्री पासेस। कञ्चनजंघा सर्किट। लाङटाङ राष्ट्रिय निकुञ्जको हेलम्बु सर्किट र लाङटाङ भ्याली। खप्तड रारा क्षेत्र। मनासलु संरक्षित क्षेत्रको मनासलु सर्किट साथै फोक्सुण्डो र उपर डोल्पा रोजाइका पदयात्रा मार्गमा परिरहेका छन्। त्यस्ता छोटालामा अन्य धेरै गन्तव्यहरू पनि छन्। 

langtang valley.jpg

पछिल्लो समय ग्रेट हिमालय ट्रेल अन्तर्गतका विभिन्न क्षेत्रमा पर्यटकहरूको नजर परिरहेको छ। सरकारले सन् २०११ मा नै विश्वकै लामो पदमार्गका रुपमा अवधारणा अघि सारेको ट्रेलमा सोचेअनुरुप काम नभए पनि व्यवसायीहरू पर्यटक जोड्न लागिपरेका छन्।

नयाँ नयाँ रुटको विकास र भएका रूटमा गर्नुपर्ने कामहरूमा ध्यान दिन सके यस क्षेत्रमा संलग्न व्यवसायीसँगै पदयात्रामा जोडिएका गाइड, कुक, भरियालगायत ठूलो संख्या प्रत्यक्ष लाभान्वित हुनेछन्। देशको अर्थतन्त्र उकास्न पदयात्राको विकास अझ अपरिहार्य देखिन्छ। 


प्रकाशित : शनिबार, असोज १८ २०८२०९:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend