काठमाडौं- सुन। चम्किलो धातु। सजिलै पगालेर बन्छ सिक्कादेखि विभिन्न गहनासम्म। खिया लाग्ने, खुम्चने र क्षय हुने डर छैन। सिधा ठाउँ बनाउँछ आँखामा र दिमागमा। यो अनौठो धातुले विश्व बजारलाई प्रभाव पारिरहेको वर्षौं भयो।
विश्व बजारमा लगानीको भरपर्दो माध्यममा सुनले आफूलाई सधैँ अघि राख्दै आएको छ। यस्तो लाग्छ समाजका हरेक तप्का सुनकै पछि छ। सञ्चारमाध्यमले निरन्तर सुनका ठूल्ठूला ढिक्का देखाएर मूल्य घटबढमात्र होइन तस्करीका काण्ड पनि पढाइरहेकै छन्। अनेकौँ सुन तस्करी काण्डले देश तातेको निकै भयो। यस्ता कति काण्ड आए सेलाए।
नेपालका धेरै समाजमा सुन आभुषणमात्रै होइन संस्कृति नै बनेको छ। नाता जोड्ने माध्यम बनेको छ। कसैको सम्झना बनेको छ। कसैको चिनो बनेको छ। सम्बन्ध चम्काउने माध्यम बनेको छ। जोड्ने बेलामात्रै होइन, छोड्ने बेला पनि सुनकै खाँचो। धेरैको विश्वासमा बन्छ, अन्तिम सास फेर्न तुलसीको मठमा पल्टिएको बेला सुनपानी खुवाए ‘स्वर्गको बाटो'।
नेपाली बजारमा सुनको मूल्यको महँगी उकालो लाग्दो नै छ। अझ उकालो चढ्ने देखिएको सुनको मूल्यले इतिहासलाई छिटो-छिटो पछि पार्दै छ। २०७५ चैतमा ६० हजार ६ सय रूपैयाँ प्रतितोलाको मूल्यलाई अहिले फर्केर हेर्दा नै त्यो भयंकर वृद्धि देखिन्छ।
अहिलेको अवस्था आँकलन गर्दै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अझै बढ्ने अनुमानहरू भइरहेका छन्। मूल्य बढिरहँदा यसमा भइपरीआउने लगानीबाहेक नै पनि आकर्षण कम भएको देखिँदैन।
अमेरिकी डलरको विकल्पका रुपमा सुनलाई लिएर लगानी गर्नेहरू रहेकाले पनि यसको मूल्य बढिरहेको छ। केन्द्रीय बैंकहरूले आफ्नो मुद्राको सुरक्षा प्रत्याभूतिका लागि पनि मुख्य सम्पत्तिका रुपमा सुनको मौज्दात बढाउँदै लगेका छन्।
सुनको मूल्य छिटो छिटो बढ्दै जानुको कारण यसप्रति मानिस र सरकारहरूको विश्वास र साख मुख्य कारण हो। यो विश्वास र साख अहिले मात्रै होइन, ५ हजार १ सय वर्षभन्दा अघिबाटै सुरू भएको मानिन्छ। मौद्रिक हरहिसाबका लागि नोट र अरू माध्यम प्रयोगमा आए पनि सुनको स्वीकार्यता र साख अविछिन्न कायम रह्यो।
लगानीका लागि मात्रै होइन, गरगहना तथा केही विद्युतीय र चिकित्सा उपकरणमा पनि प्रयोग हुन्छ, सुन। सानो टुक्रालाई पनि तन्काएर लामो बनाउन सकिने सुन नखिइने, जीर्ण नहुने र नाश भएर नजाने अमरत्व गुण बोकेको हुन्छ।
यसको धार्मिक र सांस्कृतिक सम्बन्ध मात्रै होइन, औषधीय गुण पनि छ। आयुर्वेदमा स्वर्णभस्मको सेवनले आयु, शक्ति र प्रताप वृद्धि हुने र रोग नाश हुने महत्त्व दर्शाइएको छ। त्यसैले धनकुवेरहरूले आयु र चमकका लागि स्वर्णभस्म सेवन गर्ने गरेको बताइन्छ।
प्राप्त गर्न कठिन भएकाले नै सुनको तेज बढेकोमा शंका छैन। मूल्यको बढोत्तरीले न्यून क्रय क्षमता भएका आम नागरिकका लागि सुन अझै दुर्लभ बन्नेछ।
किन बढिरहेको छ सुनको मूल्य?
बढ्दै गएको भूराजनीतिक तनाव, अमेरिकी ब्याजदर थप कटौती हुने अपेक्षा र वित्तीय बजारमा छिटोछिटो भइरहेको परिवर्तनका कारण सुनको मूल्य निरन्तर बढिरहेको छ। युक्रेन र मध्यपूर्वमा भएका द्वन्द्वका साथै अमेरिका र चीनबीचको बढ्दो तनावले यस वर्ष विश्वभरका केन्द्रीय बैंकहरूले सुन खरिद बढाइरहेका छन्।
नेपाली बजारमा मूल्यले उच्च हुनुको कारण अन्तर्राष्ट्रिय बजारको मूल्यवृद्धिमात्र होइन डलरको अधिमूल्यन पनि हो। अमेरिकी डलर सूचकांकमा उल्लेख्य गिरावट आएकाले अन्तर्राष्ट्रिय खरिदकर्ताहरूका लागि सुन सस्तो भएको छ, जसले विश्वव्यापी लगानीको माग बढाएको छ।
साथै अमेरिकी फेड रेटमा भएको कटौती, बढ्दो भू-राजनीतिक जोखिम, चीनले व्यापक रुपमा गरिरहेको सुन खरिद, अर्थतन्त्रको अन्य क्षेत्रमा देखिएको अनिश्चितता जस्ता कराणले विश्व बजारमा सुनको मूल्य बढिरहेको छ।
पहिलेदेखि नै सुरक्षित लगानीका रुपमा मानिएको हुँदा यो बहुमूल्य धातुले लाभ उठाइरहेको छ। निरन्तर मुद्रास्फीतिको चिन्ता र अमेरिकामा रहेका राजनीतिक जोखिमहरूले यसको मूल्य वृद्धिलाई बढावा दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।
केन्द्रीय बैंकको सुन भण्डारबारे वर्ल्ड गोल्ड काउन्सिलको २०२५ को सर्वेक्षणअनुसार ९५ प्रतिशत केन्द्रीय बैंकरहरूले यस वर्ष विश्वव्यापी सुन भण्डारण बढ्ने अपेक्षा गरेका छन्। सुनको भाउ हालसम्मकै उच्च भए पनि यस वर्ष आफ्नो भण्डारण घट्ने अपेक्षा कुनै पनि बैंकले गरेका छैनन्।
यस वर्ष देखिएका विभिन्न नाटकीय परिवर्तनका कारण अमेरिकी डलरको मूल्यमा तीव्र गिरावट आएको छ। विदेशी मुद्राहरूको समूहको तुलनामा अमेरिकी डलरको मूल्य ट्र्याक गरेर हेर्दा उक्त सूचकांकमा सबैभन्दा बढी गिरावट गएको मार्चको सुरुदेखि जुलाईको पहिलो सातासम्म आएको थियो। उक्त समय व्यापारिक अनिश्चितता र विश्वव्यापी तनाव उच्च थियो। यसलाई पनि सुनको मूल्य बढ्ने कारणका रुपमा हेरिएको छ।
सुनको मूल्य बढ्ने कारणको रुपमा अमेरिकी मौद्रिक नीतिलाई पनि हेरिएको छ। फेडरल रिजर्भले यस वर्ष पहिलो पटक ब्याजदर घटाउन सुरु गरेको छ। ब्याजदर २०२५ को अन्त्यसम्ममा थप दुईपटक कटौती गर्ने घोषणा भएका छन्। यस्तो मौद्रिक नीतिले सामान्यत: डलरलाई कमजोर बनाउँछ र सुनको मूल्यलाई बढावा दिन्छ। सम्भावित आर्थिक मन्दी र मुद्रास्फीति एकैसाथ हुने चिन्ता बढिरहँदा त्यही परिदृश्यका कारणले त्यसबाट बच्नका लागि सुनको महत्त्व बढेको छ।

.jpeg)