शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

घान्द्रुक : गुरुङ समुदायको जीवन्त संग्रहालय

शनिबार, असोज १८ २०८२
घान्द्रुक : गुरुङ समुदायको जीवन्त संग्रहालय

घान्द्रुकमा आशीष होमस्टे सञ्चालन गर्दै आएकी हरिमाया गुरुङ घान्द्रुक आउने पर्यटकका कारण आफूहरु आर्थिक रुपमा आत्मनिर्भर भएको बताउँछिन‍्।

पोखरा- जब प्रकृति, संस्कृति र आतिथ्यता एकै ठाउँमा भेटिन्छन्, त्यहाँ पुग्ने पर्यटकले पनि अलौकिक आनन्दको अनुभूति गर्छन्। कास्कीको अन्नपूर्ण गाउँपालिकाको घान्द्रुक पनि यस्तै प्रकृति, संस्कृति र आतिथ्यताको संगम हो भन्दा फरक पर्दैन। यहाँको मौलिक संस्कृति र यहाँबाट देखिने हिमश्रृंखलाका सुन्दर दृश्यले पर्यटकलाई लोभ्याइरहेको छ। 

पर्यटन राजधानी पोखराबाट करिब ६० किलोमिटरको दुरी र अन्नपूर्ण हिमालको काखमा लुट्पुटिएको घान्द्रुक पर्यटकीय गाउँ मात्रै होइन, गुरुङ जातिको जीवन्त संग्रहालय पनि हो। जहाँ ढुंगाले छाएका घरहरू, सफा र चिटिक्क परेका गल्लीहरू, हँसिला अनुहार र मुस्कुराइरहेका हिमालले घान्द्रुकलाई जीवन्त बनाएका छन्।

पर्यटन प्रवर्द्धनको कार्यक्रम लिएर घान्द्रुक आइपुग्नुभएका गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकीका पूर्वअध्यक्ष नवराज अधिकारीले घान्द्रुक गुरुङ समुदायको जीवन्त संस्कृति र परम्परा धानेको गाउँ भएको बताए।

'घान्द्रुक गुरुङ संस्कृतिको एउटा धरोहर हो, यहाँका घरहरूको वास्तुकला अद्वितीय छ, ढुंगाले बनेका र स्लेटले छाएका परम्परागत घरहरूले गाउँलाई मौलिक रुप दिएका छन्, सफा र चिटिक्क परेका ढुङ्गे गल्लीहरूमा हिँड्दा बेग्लै आभास हुन्छ।' 

पूर्वअध्यक्ष अधिकारीले गाउँमा निर्माण भएको गुरुङ संग्रहालयले गुरुङ जातिको परम्परागत जीवनशैली, प्रयोग गर्ने भाँडाकुँडा, हतियार र वेशभूषाको जीवन्त प्रदर्शनी गरेको बताए। 'हामीले प्रवर्द्धन गर्ने भनेको यही मौलिकता र आत्मीयपन हो, जसले पर्यटकलाई पटक–पटक यहाँ आउन प्रेरित गर्छ।' 

यहाँका अधिकांश घरबास (होमस्टे) महिलाले सञ्चालन गरेका छन्। यसले महिलालाई आर्थिक सशक्तीकरणमा पनि टेवा पु¥याएको पूर्वअध्यक्ष अधिकारीको भनाइ छ। 

घान्द्रुकमा आशीष होमस्टे सञ्चालन गर्दै आएकी हरिमाया गुरुङ घान्द्रुक आउने पर्यटकका कारण आफूहरु आर्थिक रुपमा आत्मनिर्भर भएको बताउँछिन‍्।

'घान्द्रुक हाम्रो जीवन र पहिचान हो, पाहुनालाई पारिवारिक वातावरणमा सेवा दिइरहेका छौँ, त्यसैले उहाँहरु फर्किफर्कि आउनुहुन्छ', उनले भनिन्, 'चुल्होचौकोबाट सुरु भएको मेरो यात्रा आज पर्यटन र आत्मनिर्भरताको कथा बनेको छ। हिमाल हेरेर हुर्किएका हामी महिलाहरू, आज आफ्नै खुट्टामा उभिएर संसारलाई स्वागत गरिरहेका छौँ।' 

पछिल्लो समय यहाँका स्थानीयका लागि पर्यटन आयआर्जनको मुख्य स्रोत हो। होटल सञ्चालक विभिमाया गुरुङले भनिन्, 'होमस्टेमा आउने पाहुनाहरु यहाँको रहनसहन संस्कृति र प्राकृतिक सुन्दरतामा रमाउने गर्छन्, हामीले पनि सकेसम्म राम्रो आतिथ्यता प्रदान गर्दछौँ, पाहुनाहरुले विशेष गरी यहाँको सुन्दरता र परिकारमा बढी रमाउनुहुन्छ।'

पछिल्लो समय उहाँमा नयाँ पुस्ताले होमस्टे एवं होटल सञ्चालनमा चासो नदेखाउँदा घान्द्रुकको मौलिकता र सुन्दरता हराउने हो कि भन्ने चिन्ता छ। 'नयाँ पुस्ता गाउँमा दुःख गर्न खोज्दैन, विदेश जाने रहरले गर्दा आफ्नो मौलिक पहिचान बोकेको घान्द्रुकको विशेषता लोप हुने हो कि भन्ने चिन्ता पो लाग्छ मलाइ त', उनले भनिन्। 

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु केसीले घान्द्रुक पर्यटकीय गाउँ भएकाले यसको विकासका लागि पर्यटन केन्द्रित कार्यक्रममा जोड दिएको बताए। घान्द्रुक देश विदेशका पर्यटकको घुम्न आउने गन्तव्यको रुपमा विकास भएको उनको भनाइ छ। 

अध्यक्ष केसीले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा पर्यटन विकासका लागि २० लाख रुपैयाँ बजेट विनियोजना गरेको जानकारी दिए। उनका अनुसार यहाँ सञ्चालित अधिकांश होटल र घरबास (होमस्टे) हरूले पर्यटकलाई व्यावसायिक सेवा मात्र नभई पारिवारिक वातावरण प्रदान गर्छन्। यहाँ आउने पर्यटकले विशेष गरी कोदोको ढिँडो, गुन्द्रुकको अचार, सिस्नुको तरकारी र लोकल कुखुराको मासु मन पराउने गरेको उनको भनाइ छ।

हिमश्रृंखला, चियावगान, मेश्रमबराहसँगै गाउँमा रहेको पुरानो गुरुङ संग्रहालय पर्यटकहरूका लागि अर्को आकर्षणको केन्द्र हो, जहाँ गुरुङ जातिको ऐतिहासिक रहनसहन, प्रयोग गरिने सामग्रीहरू र वेशभूषाहरूको अवलोकन गर्न सकिन्छ। साँझपख आमा समूहहरूले प्रस्तुत गर्ने परम्परागत सांस्कृतिक नाच (घाँटु, सोरठी) ले पर्यटकलाई गुरुङ संस्कृतिमा अझ नजिकबाट साक्षात्कार गराउँछ। 

घान्द्रुकमा प्राकृतिक सुन्दरता मात्र होइन, लोकजीवन, संस्कृति, अर्गानिक कृषि, पारम्परिक खाना, घरपसल र महिलाहरूको आत्मनिर्भरता पनि पर्यटकहरूका लागि आकर्षण बनेको छ। फागुन चैतमा ढकमक्क फुल्ने गुराँसले सौन्दर्य यस गाउँको थप विशेषता हो। रासस


प्रकाशित : शनिबार, असोज १८ २०८२१०:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend