काठमाडौं- चौधरी समूहको सतुंगलमा रहेको सीजी डिजिटल पार्क आगजनीले ध्वस्त भएको छ। गएको भदौ २४ गते भएको आन्दोलन भड्किँदा त्यसको निसानामा उद्योगी व्यवसायीसमेत परे। निजी सम्पत्तिमाथिको आक्रमणले कतिपय व्यवसाय धराशायी बनेको छ।
भ्रष्टाचार र बेथितिविरूद्ध जेनजीले सुरु गरेको आन्दोलनको दोस्रो दिन व्यापक आगजनी र तोडफोडका घटना भएका हुन्। जसले सरकारीसँगै सार्वजनिक निजी सम्पत्तिमाथि ठूलो क्षति भयो।
२७ रोपनी क्षेत्रफलमा फैलिएको सीजी डिजिटल पार्कको संरचनाका साथै त्यहाँ रहेका इलेक्ट्रोनिक्स सामान र सवारीसाधन खरानी बनेका छन्। आगजनीले सीजी डिजिटल पार्कमा तीन अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
सन् २००५ मार्च २० मा स्थापना भएको सीजी डिजिटल पार्क स्टिल र इलेक्ट्रोनिक्स कम्प्लेक्स हो। उत्पादन क्षमता र व्यवसायिक परिमाण दुवै बढाउने लक्ष्यसहित चौधरी समूहको मुख्य कार्यालय सानेपाबाट डिजिटल पार्क सतुंगल स्थानान्तरण गरिएको थियो।
सीजी डिजिटल पार्क इलेक्ट्रोनिक्स सामग्री रहेको देशकै सबैभन्दा ठूलो स्थान हो। इलेक्ट्रोनिक्स सामग्रीमा वैदेशिक उत्पादनप्रतिको निर्भरता घटाउने उद्देश्यले यो पार्कको स्थापना गरिएको थियो।

सीजी समूहको सतुंगलस्थित सीजी डिजिटल पार्कमात्र होइन समूहका अध्यक्ष विनोद चौधरीको घरमा समेत लुटपाट र आगजनी भएको थियो। समूहकै अटो व्यवसायको थापाथलीस्थित सोरुममा राखिएका गाडीसहित जलाएर ध्वस्त बनाइएको थियो।
सीजी कर्पोरेट हाउसमा रहेको डाटा सेन्टर पनि ध्वस्त भयो। एलजी टीभी एसेम्ब्ली प्लान्ट, स्टोर बिल्डिङ, सीजी ट्रान्सफर्मर र जेनेरेटर पनि पूर्णरुपमा ध्वस्त भयो।

यति ठूलो क्षति व्यहोरे पनि सीजी डिजिटल पार्कले ग्राहकहरूको सेवामा निरन्तरता दिने घोषणा गरेको छ। कम्पनीका प्रतिनिधिहरूका अनुसार चाडपर्वलक्षित अभियानअन्तर्गत १० हजारभन्दा बढी इलेक्ट्रोनिक्स सामग्री बजारमा उपलब्ध गराउने तयारी भइसकेको छ।
पछिल्लो घटनाबाट ठूलो आघात व्यहोरे पनि सीजी डिजिटल पार्कले आफ्नै उत्पादन र सेवामा निरन्तरता दिँदै नेपालको औद्योगिक पुनरुत्थानमा टेवा पुर्याउने प्रतिबद्धता जनाएको छ।


.jpeg)