बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

जेनजी आन्दोलनपछि लगानीका लागि 'सशंकित' छन् पूर्वका व्यवसायी

बुधबार, असोज १ २०८२
जेनजी आन्दोलनपछि लगानीका लागि 'सशंकित' छन् पूर्वका व्यवसायी

दुई दिनको आन्दोलनको क्रममा देशैभर ३० हजार बढीले प्रत्यक्ष रोजगारी गुमाएको अनुमान गरिएको छ। ५० खर्बभन्दा बढीको क्षति भएको आकलन छ।

विराटनगर- जेनजी आन्दोलनका क्रममा देशभरका अधिकांश सरकारी कार्यालयहरू जलेर नष्ट भएका छन्। आगजनीका क्रममा जलेका संरचनाबाट तत्काल कार्यसम्पादन हुने सम्भावना देखिएको छैन।

सिंहदरबार, सर्वोच्च अदालतदेखि संसद् भवनसम्म आगजनी हुँदा सेवा प्रभावित बनेको छ। त्यसबाहेक राजस्व संकलनका प्रमुख अड्डाहरू आन्दोलनकारीको निसानामा परे।

आन्तरिक राजस्व कार्यालयका भवनहरू लामो समयसम्म अस्तव्यस्त हुनेगरी थलिएका छन्। स्थानीय तह, प्रदेश र संघ सरकारले संकलन गर्ने राजस्व तथा भन्सारका कार्यालयमा क्षति पुग्यो। संकलन गर्ने कार्यालयमा मात्र होइन राजस्व बुझाउने व्यापारी र व्यावसायिक भवनहरू ध्वस्त बनेका छन्।

भन्सार, राजस्व, यातायात, मालपोत, नापीजस्ता दैनिक सरकारी ढुकुटीमा रकम जम्मा हुने अड्डा लामो समय चल्न नसक्नेगरी थला परेका छन्। आईटी पासवर्डबाट लगइन भएर केही काम गर्न सकिने भएपनि कम्प्युटरका हार्डडिस्क समेत लुटिएपछि कार्यालय प्रशासन अन्योलमा परेको छ।

इटहरीस्थित यातायात व्यवस्था कार्यालयले तत्काल सेवा प्रवाह गर्न नसक्ने भन्दै सूचना टाँस गरेको छ। राजस्व अनुसन्धान कार्यालय इटहरीका समान लुटिएका छन्। कम्प्युटर चोरी भएको छ भने अनुसन्धानको क्रममा रहेका मालवाहक गाडी जलाइएको छ। 

यस्तै प्रवृत्ति राजस्व संकलन हुने प्रत्येक कार्यालयमा परेको छ। पालिकास्तरमा पनि अन्य शाखालाई छाडेर राजस्व शाखामा केन्द्रित आगजनी भएको छ।

suchana.jpg

यसको प्रत्यक्ष असर नेपाली अर्थतन्त्रमा पर्ने अर्थशास्त्री भेषप्रसाद धमला बताउँछन्। कोभिडपछि बल्लतल्ल तंग्रिएको अर्थतन्त्र पुनः डामाडोल परिस्थितिमा पुगेको उनको भनाइ छ। 

जेनजी आन्दोलनबाट सबैभन्दा धेरै क्षति भाटभटेनी सुपर मार्केटले बेहोर्‍यो। भाटभटेनीका अधिकांश शाखा लामो समय चल्न नसक्ने गरी थलिएका छन्। भाटभटेनीमात्र थलिएन यसले धेरैको रोजगारी गुमेको छ।

कोशी प्रदेशमा रहेका भाटभटेनीका पाँचवटा शाखामध्ये इटहरीमात्र सुरु भएको छ। दमक, बिर्तामोड, धरान र विराटनगरमा आगजनीका कारण अझै केही महिनापछि मात्र सञ्चालनमा आउने बताइएको छ।

bhatbhateni.jpg

उपत्यकाबाहिर नेपालगञ्ज, जनकपुर, बुटवल, वीरगञ्ज, धनगढी, इटहरी र भैरहवा शाखामा सेवा सुरु भएको हो। उपत्यकामा भने टोखा, सातदोबाटो, पाटन, कलंकी, अनामनगर, सानागाँउ, राधेराधे, बालाजु र त्रिपुरेश्वर शाखामा आजैबाट सेवा दिन थालिएको छ। यसअघि राजावादीको आन्दोलनको समेत निसानामा परेको भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले सबै शाखालाई सकेसम्म चाँडो सञ्चालनमा ल्याउने बताएका छन्।

पाँचतारे होटेलको मान्यता लिएर क्यासिनोको तयारीमा रहेको नेपालीरिका होटेल जलेर नष्ट भयो। मोरङको सुन्दरहरैचामा अवस्थित पिएलओ ग्रुपले सञ्चालन गरेको नेपालीरिकामा तोडफोडपछि आगजनी भयो। भारतीय पर्यटकको रोजाइमा रहेको नेपालीरिकामा आगजनीको कारण १० करोड रुपैयाँभन्दा बढीको क्षति भएको बताइएको छ।

सञ्चालन आकाश दुलालले नेपालीरिकासँगै उद्योगीको विश्वास, व्यावसायिक निष्ठा र समाजको विकास ढलेको बताए। उनी भन्छन्, ‘म हारेको छैन। म डगमगाएको छैन। नेपालीरिका होटेलको प्रत्येक कोठाको खरानी बोकेर त्यसलाई शिरमा लगाउँदै फेरि म उठ्नेछु। यसलाई पुनर्निर्माण गर्ने छु। पिएलओ ग्रुप फेरि उठ्नेछ।’

nepalirika hotel.jpg

दुई दिनको आन्दोलनको क्रममा देशैभर ३० हजार बढीले प्रत्यक्ष रोजगारी गुमाएको अनुमान गरिएको छ। ५० खर्बभन्दा बढीको क्षति भएको आँकलन छ। निजी क्षेत्रलाई लयमा ल्याउन अझै वर्षौँ लाग्ने देखिन्छ।

निजी क्षेत्रमा आगजनीको क्षतिभन्दा बढी विश्वास र भरोसा गुम्दै गएको बताउँछन् उद्योगी राजेन्द्र राउत। निजी लगानीकर्ता हतोत्साहित भएको अवस्थामा थप लगानी जुटाउन नसकिने र देशको अर्थतन्त्र उकास्न समस्या हुने उनले बताए।

aagjani - todfod - genz.jpg

उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्षसमेत रहेका उद्योगी राउतले आगामी दिनमा व्यवसायमाथि आक्रमण नहुने ग्यारेन्टी गर्नुपर्ने प्रस्ट पारेका छन्। आन्दोलनबाट भएको क्षतिको कारण राजस्व संकलन र कुल ग्राहस्थ उत्पादनमै गम्भीर असर पर्ने उनको भनाइ छ। 

निजी क्षेत्रको गतिविधि निर्बाधरूपमा सञ्चालन नभए अर्थतन्त्रमा थप समस्या हुने र राजस्व नकारात्मक हुने राउतले स्पष्ट पारेका छन्। अर्थतन्त्रमा ८१ प्रतिशत, राजस्वमा ८० प्रतिशत र रोजगारीमा ६८ प्रतिशत योगदान गरेको निजी क्षेत्रलाई हतोत्साहित हुन नदिन राउतले आग्रह गरे। 


प्रकाशित : बुधबार, असोज १ २०८२१३:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend