काठमाडौं- देशमा बढ्दो भ्रष्टाचार र बेथितिविरुद्ध नयाँ पुस्ताले गरेको प्रदर्शन दबाउन सरकारले अन्धाधुन्ध गोली प्रहार गरी युवा विद्यार्थीहरूको 'हत्या' गरेको छ।
काठमाडौं बानेश्वर क्षेत्रमा केही समय तनावग्रस्त भएको प्रदर्शन बिहान ९ बजेदेखि १२ बजेसम्म भने शान्तिपूर्ण रहेको थियो। दशौँ हजारको संख्यामा प्रदर्शनकारी उपस्थित भएपछि भिड सम्हालिन सकेको थिएन। जसले केही प्रदर्शनकारी संसद भवन प्रवेश गरेका थिए। सरकारले प्रदर्शन व्यवस्थित बनाउनभन्दा दबाउनतिर ध्यान दिँदा अप्रिय घटनाहरू घटेको देखिएको छ।
२०६२/६३ मा भएको जनआन्दोलन शाही सरकारले दबाएको भन्दा क्रूर शैली केपी शर्मा ओली नेतृत्वको सरकारले देखाएको छ। झोलामा कापी किताब बोकेर आएका विद्यार्थीमाथि गोली प्रहार भएको छ।
आन्दोलनका तस्बिर र भिडियोहरू सरकारले बन्द गरेको सामाजिक सञ्जालमा आइरहेका छन्। जसमा प्रदर्शनकारीहरू सम्हाल्न सक्ने अवस्था हुँदाहुँदै पनि दर्जनौँ गोली चलेको देखिन्छन्। कफीशपमा बसिरहेका व्यक्तिदेखि सडक किनारमा रहेका निहत्था व्यक्तिमाथिसमेत गोली प्रहार भएको छ। तस्बिर भिडियो संकलन गरिरहेका पत्रकारमाथि समेत गोली प्रहार भएको छ।
सोमबार दिउँसो साढे ४ बजेसम्मको विवरणअनुसार १४ जनाको ज्यान गइसकेको छ। अन्य दर्जनौँ घाइते भएका छन्। घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। कर्फ्युलगायतका कारण उपचारमा रगतको अभावसमेत भएको छ। घाइतेलाई अस्पताल लैजान एम्बुलेन्सकै समेत अभाव भएको छ।
'जेनजी' भनेर चिनिने नयाँ पुस्ताले सामाजिक सञ्जालमार्फत निकालिरहेको विरोधका स्वर सोमबार सडकमा नै वृहत प्रदर्शनमार्फत प्रकट भएको हो। जसमा हजारौँको संख्यामा युवा विद्यार्थी उपस्थित भएका थिए। प्रदर्शनमा उनीहरूले कुनै ढुंगामुढा वा हातहतियार प्रयोग गरेका थिएनन्। पुराना पुस्ताले नयाँ पुस्ताको आवाज बुझ्न नसकेको उनीहरूको गुनासो थियो।
'नेताहरूले युथहरूलाई सिरियस्ली नलिनु भएको हो कि के हो, जे गर्न नि पाइन्छ भन्ने सोच्नु भएको हो कि? हामी सधैँ चुप लागेर दबिएर बस्ने खालका छैनौँ। हिजोदेखि ल केही हुने हो कि भनेर डर त लागिरहेको हो तर पनि हामी परेको अवस्थामा डराएर बस्दैनौँ। यथार्थमा हेर्नुस् र युवाको आवाज सुन्नुस्। उमेर र कालले त कसैलाई नि छाड्दैन' आन्दोलनमा सहभागी विद्यार्थी रेविकाले भनिन्।
रेविकाको जस्तै आवाज अन्य युवाहरूले पनि उठाएका थिए। त्यसको केही समयमा नै प्रदर्शन भड्किँदा अवस्था भिन्न बन्न पुग्यो।
२८ वर्षमुनीका युवाहरूको समूहले काठमाडौं माइतीघरमा गरेको प्रदर्शनमा भ्रष्टाचार, बेथिति र सामाजिक सञ्जाल बन्दविरुद्ध आवाज उठाएका हुन्। प्रदर्शनमा कुनै पार्टी र कुनै समूहमार्फत नभइ स्वतन्त्ररुपमा जोडिँदै गइरहँदा समूह-समूहमा आएका युवाहरूले विभिन्न प्लेकार्ड र नारामार्फत असन्तुष्टि व्यक्त गरेका थिए। प्रदर्शनमा घुसपैठ भएको भन्दै जेनजी समूहले दिउँसो १ बजेतिर घर फर्कन भन्दै सामाजिक सञ्जालमार्फत आह्वान गरेका थिए।
अहिले प्रशासनले बानेश्वर क्षेत्रमा कर्फ्युसमेत जारी गरेको छ। शीतल निवास, उपराष्ट्रपतिको कार्यालय लैनचौर, नारायणहिटी दरबार संग्रहालय र सिंहदरबार क्षेत्रमा पनि कर्फ्यु लागेको छ। बानेश्वर क्षेत्रमा त दिउँसो अबेरसम्म आन्दोलन चलिरहेको छ।
पछिल्लो समय फिलिपिन्स र इन्डोनेसियमा चर्किएको आन्दोलनबाट प्रेरित भएर नेपाली युवाहरूले मुलुकमा मौलाएको भ्रष्टाचार र आसोपासे पोस्ने शासनसत्ताको विरोध गर्न प्रदर्शन गरेका हुन्। टिकटकबाट सुरू भएको आन्दोलनमा सोमबार देशभर विभिन्न ठाउँमा प्रदर्शन भइरहेको छ।
पोखरामा भएको प्रदर्शनमा पनि गोली प्रहार हुँदा एकजना घाइते भएका छन्। इटहरीमा पनि गोली चलेको छ भने कर्फ्युसमेत जारी भएको छ। झापामा पनि गोली चलेको छ। देशका अन्य सहरमा पनि नयाँ पुस्ताले आन्दोलन गरिरहेका छन्।
टिकटकमा युवाहरूले विशेषगरी राजनीतिक नेताका छोराछोरीहरूको भड्किलो जीवनशैली र गरिब जनताको कष्टपूर्ण अवस्थालाई तुलना गरेर भिडियो बनाउन थालेका थिए। सामान्य आम्दानी भएका नेताका छोराछोरीको विलासी जीवनशैली कसरी सम्भव भयो? वैध आम्दानी धेरै नहुँदा पनि अर्बौँको साम्राज्य कसरी खडा गरे? जस्ता प्रश्न उठाएर टिकटकमा युवाहरूले भिडियो बनाइरहेका छन्।
सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएको 'जेनजी' भनेर चिनिएको पुस्ताका युवाहरूले यस्ता दर्जनौँ भिडियो बनाएका छन् जसमा जनताबाट उठेको करमा नेताका छोराछोरीले रजाइ गरेको देखाइएको छ। ‘हाम्रो कर तिम्रो विलासी’, ‘अब पुग्यो’ लगायतका नारा तथा ‘नेपोकिड्स’ लगायतका ह्यासट्याग चलाइएको छ।
पछिल्लो हप्तादेखि चर्किएको भर्चुअल आन्दोलन सोमबार भने सडकमै आएको हो। तर सरकारले आन्दोलन सम्हाल्न नसक्दा धेरैले ज्यान गुमाए। युवाहरूले विरोधका स्वर निकालिरहँदा ओली नेतृत्वको सरकारले त्यसलाई दबाउन 'जनसंहार'को शैली अपनाएको छ।
सामाजिक सञ्जालहरूमा सरकारी 'जनसंहार शैली'को विरोध भइरहेको छ। गृहमन्त्री रमेश लेखकसहित प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने माग उठिरहेको छ।
सर्वोच्च अदालत बार एसोसिएसनले जेनजीको प्रदर्शनको क्रममा भएको दमनको निन्दा गरेको छ। एसोसिएसनका सचिव रमणकुमार कर्णले एक विज्ञप्ति जारी गर्दै घटनाले राज्य प्रशासनको निरंकुश छविलाई उजागर गरेको जनाएका छन्।
