बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

खर्बौँ लगानी, हजारौँ रोजगारी : होटेल तथा रेस्टुरेन्ट व्यवसाय फेरि उठाउने व्यवसायीको प्रण

बिहीबार , असोज ९ २०८२
खर्बौँ लगानी, हजारौँ रोजगारी : होटेल तथा रेस्टुरेन्ट व्यवसाय फेरि उठाउने व्यवसायीको प्रण

विराटनगरमा केही क्याफे र रेस्टुरेन्ट थपिए। पुराना होटेलहरू पुनसंरचना भएर नयाँ भए। होटेलमात्र नयाँ भएनन् हस्पीटालीटी नै फेरियो। इटहरीमा ‘अप स्टेयर्स’ र धरानमा ‘एमसी क्याफे’ खुल्यो। त्यसपछि पूर्वी नेपालमा क्याफे कल्चरमा क्रान्ति नै ल्यायो।

विराटनगर- कोभिड महामारीले अर्थतन्त्रमा पारेको प्रभाव पछिल्लो समय कम हुँदै गइरहेको थियो। अहिले फेरिएको राजनीतिक घटनाक्रम र पछिल्लो आन्दोलनको प्रभाव फेरि अर्थतन्त्रमा देखिन थालेको छ। एउटा लय समाएर उठ्न थालेका व्यवसायमा फेरि मार पर्दा अर्को कठिन यात्रा हुने देखिन्छ। 

अर्थतन्त्रका जानकारहरूका अनुसार कोभिडले स्वास्थ्य संकटमात्र ल्याएन यसले अर्थतन्त्रको दिशा बदल्यो। मानिसको दैनिकीमा फेरबदल ल्यायो। आर्थिक वर्ष २०७७/७८ देखि बजेट तथा कार्यक्रमको खर्च र योजनाको कार्यान्वयनको अवस्था निकै प्रभावित भएको देखिन्छ। स्वास्थ्य संकटबाट आर्थिक संकटसम्मको अवस्था आइलाग्यो।  

कोभिड महामारी जसले संकटबीच नयाँ अवसरको उद्घाटन गर्‍यो। अर्थतन्त्रमा मात्रै होइन सामाजिक परिदृश्यमा नयाँ संरचनाहरू स्थापित भए। रोजगारीका नयाँ अवसरको खोजी भयो। व्यवसायमा नयाँपन सुरुवात भयो। शिक्षा र स्वास्थ्यमा नयाँ पद्धतिको विकास भयो। आईटी र स्टार्टपको लागि सुनौलो अवसर बन्यो कोभिड।

नयाँ मोबाइल एप्लीकेसनहरू विकास भए। विद्युतीय कारोबारमा उछाल आयो। अनलाइन बिजनेसको सुरुवात भयो। अनलाइनकै माध्यमबाट पढाइ सुरु भयो। त्यसको प्रतिफलस्वरुप विभिन्न कलेज तथा विश्वविद्यालयमा अहिले पनि अनलाइन कक्षाहरू चलिरहेका छन्।

ई-डाक्टर सेवादेखि ई-कमर्सले व्यापकता पाएको छ। आईटी डेभलपर्सहरूको लागि कोभिड महामारी सुनौलो अवसर बनेर आयो। 

त्यस्तै नयाँ अवसर बन्यो हस्पिटालिटी क्षेत्रको लागि। कोभिड महामारीपछि होटेल, रेस्टुरेन्ट तथा क्याफेको संख्यामात्र बढेन गुणस्तरसमेत सुधारियो। स्वास्थ्य सावधानीको कारण होटेल तथा रेस्टुरेन्टका सेवाहरू गुणस्तरीय भए। जसले गर्दा पर्यटन प्रवर्द्धनमा आमूल सुधार आयो। कृषि र उद्यमको क्षेत्रमा नयाँपन आयो। त्यसयता व्यावसायिक कृषि फर्महरू बढेका छन्। कफी र ड्रागन खेतीमा चामत्कारिक सुधार भएको छ।  

hotel.jpg

सन् २०१२ मा विराटनगरमा खुलेको पहिलो रेस्टुरेन्ट ‘फिल गुड’ले लामो समय सास्ती भोग्यो। दक्ष जनशक्तिको अभाव झेलिरहेको रेस्टुरेन्टले नियमित ग्राहक पाउन सकेन। रेस्टुरेन्ट कल्चर स्थापित भइनसकेको अवस्थामा थेग्न समस्या भयो। त्यहीबीचमा दिव्य रत्न, नाङ्लो सञ्चालनमा रहँदासमेत विराटनगरमा रेस्टुरेन्ट कल्चर विकास भएन। 

भूकम्पपछि विदेशिएका युवाहरू नेपाल फर्किएर क्याफे र रेस्टुरेन्टमा लगानी गरे। विदेशबाट आएका युवाहरूले लगानीमात्र गरेनन् रेस्टुरेन्टमा गएर खानेदेखि क्याफे कल्चर विकास गरे।

विराटनगरमा केही क्याफे र रेस्टुरेन्ट थपिए। पुराना होटेलहरू पुनसंरचना भएर नयाँ भए। होटेलमात्र नयाँ भएनन् हस्पीटालीटी नै फेरियो। इटहरीमा ‘अप स्टेयर्स’ र धरानमा ‘एमसी क्याफे’ खुल्यो। त्यसपछि पूर्वी नेपालमा क्याफे कल्चरमा क्रान्ति नै ल्यायो। 

जेनजी आन्दोलनपछि लगानीका लागि 'सशंकित' छन् पूर्वका व्यवसायी जेनजी आन्दोलनपछि लगानीका लागि 'सशंकित' छन् पूर्वका व्यवसायी

फिल गुडका सञ्चालक निर्जल श्रेष्ठका अनुसार भूकम्पले केही सपोर्ट गरेपनि कोभिडले क्रान्तिकारी परिवर्तन ल्याएको हो। रेस्टुरेन्ट कल्चरमा कोभिडको योगदान अमूल्य रहेको उनको बुझाइ छ। अनलाइन अर्डर गरेर खानेदेखि रेस्टुरेन्टमै आएर खानेको संख्या एक्कासी बढेर गएको उनको अनुभव छ। काठमाडौं र विदेशमा रहेका युवाहरू फर्किएपछि नयाँ रेस्टुरेन्ट खुल्ने क्रम बढेको बताउँछन् उनी। 

कोभिडलगत्तै विराटनगरमा बाजेको सेकुवा खुल्यो। दुई वर्षको अवधिमा २० वटा बढी रेस्टुरेन्ट खुले। इटहरीमा मझेरी, बहत्तर र इस्ट ब्रु क्याफे सञ्चालकको टिमले यक्ष रेस्टुरेन्ट सञ्चालनमा ल्याए। विराटनगरमा सञ्चालित सबै रेस्टुरेन्ट र क्याफे भरिभराउ भइरहेका थिए। भारतीय र नेपाली ग्राहकले विराटनगर, इटहरी, धरान, भेडेटार देखि बिर्तामोडसम्मका रेस्टुरेन्टको व्यापार चलायमान बनाएको थियो। 

Hotel axis.jpg
होटल एक्सिस।

कोरोना महामारीपछि रेस्टुरेन्टमात्र होइन ठूला होटेलको लगानी पनि त्यही हिसाबका बढिरहेको छ। कोरोनालगत्तै विराटनगरको होटेल विगले चारतारे होटेलको मान्यता पायो। यही बीचमा एक अर्ब ५० लाख लगानीमा मेची क्राउन खुल्यो। मेची क्राउनमा पछिल्लो जेनजी आन्दोलनका क्रममा आक्रमण भयो।

यस्तै बिर्तामोडमा दुई अर्ब रुपैयाँको लगानीमा खुल्यो किङ्स बेरी। जुन चार अर्बमा बिक्री पनि भइसकेको छ। धुलाबारीमा दुई अर्ब लगानीमा होटेल इस्टर्न खुल्ने तयारीमा छ। त्यति नै लागतमा इटहरीमा रमदा होटेल उद्घाटन हुन लागेको छ। इटहरीमा सञ्चालित सोल्टी वेस्टेण्ड समेत हरेक दिन पूर्ण क्षमतामा चलिरहेको बताउँछन् म्यानेजर निगम खनाल। 

व्यवसायी भोला दुलालले दमक र सुन्दरहरैचामा नेपालीरिका होटेल खोले। दुई अर्ब लगानीमा खुलेका दुई होटेललाई चारतारे स्तरको बनाउने गरी तयारी गरिरहँदा पछिल्लो जेनजी आन्दोलनका क्रममा आगजनी भयो।

पाँचतारे होटेलको मान्यता लिएर क्यासिनोको तयारीमा रहेको नेपालीरिका होटेल जलेर नष्ट नै भयो। मोरङको सुन्दरहरैचामा अवस्थित पिएलओ ग्रुपले सञ्चालन गरेको नेपालीरिकामा तोडफोडपछि आगजनी भयो। भारतीय पर्यटकको रोजाइमा रहेको नेपालीरिकामा आगजनीको कारण १० करोड रुपैयाँभन्दा बढीको क्षति भएको बताइएको छ।

सञ्चालक आकाश दुलालले नेपालीरिकासँगै उद्योगीको विश्वास, व्यावसायिक निष्ठा र समाजको विकास ढलेको बताए। उनी भन्छन्, ‘म हारेको छैन। म डगमगाएको छैन। नेपालीरिका होटेलको प्रत्येक कोठाको खरानी बोकेर त्यसलाई शिरमा लगाउँदै फेरि म उठ्नेछु। यसलाई पुनर्निर्माण गर्ने छु। पिएलओ ग्रुप फेरि उठ्नेछ।’

nepalirika hotel.jpg

पछिल्लो आन्दोलनमा भएको तोडफोड र आगजनीको प्रत्यक्ष असर नेपाली अर्थतन्त्रमा पर्ने अर्थशास्त्री भेषप्रसाद धमला बताउँछन्। कोभिडपछि बल्लतल्ल तंग्रिएको अर्थतन्त्र पुनः डामाडोल परिस्थितिमा पुगेको उनको भनाइ छ। 

पाँचतारे बन्ने नेपालीरिकाको सपनामा आगजनीले धक्का, रोकियो देशव्यापी फैलिने योजना पाँचतारे बन्ने नेपालीरिकाको सपनामा आगजनीले धक्का, रोकियो देशव्यापी फैलिने योजना

पर्यटकसँगै बढेको लगानी र रोजगारी  

कोभिडपछि अन्य ठूला होटेल र रेस्टुरेन्टमा लगानी बढिरहेको थियो। विराटनगरमा मात्रै दुईवटा पाँचतारे (रोयल्टन र द एक्सीस) होटेल निर्माणाधीन अवस्थामा छन्। 

कोभिड महामारीपछि नेपालको पर्यटन क्षेत्र पछिल्लो आर्थिक वर्षमा सुधारिएको छ। होटेलको गुणस्तरदेखि पर्यटकको स्तरसम्म सुधारिएको हो। अहिले फेरि नयाँ बाटोबाट सुधारतर्फ बढ्नुपर्ने बेला आएको छ। 

तथ्यांक विभागका अनुसार २०४७ सालमा विदेशी पर्यटकबाट जम्मा ६ करोड ३७ लाख अमेरिकी डलर आर्जन भएको थियो। पछि २०७२ को भूकम्पको समयमा पनि ३९ करोड २७ लाख डलर पुग्यो। तर कोभिड महामारीको समयमा २०७७ सालमा जम्मा ६ करोड १६ लाखमा आम्दानी सीमित भयो। त्यसयताका वर्षहरू होटेलको लगानी गुणस्तर र पर्यटकको आगमन बढिरहेको तथ्यांकले देखाएको छ।

२०७९ मा ६ लाख १५ हजार विदेशी पर्यटक नेपाल भ्रमण गर्दा ३५ करोड ९७ लाख डलर आम्दानी भयो। २०८० मा पुग्दा त्यो संख्या बढेर १० लाख १५ हजार मा पुग्यो जसबापत ५४ करोड ८२ लाख आम्दानी भयो। २०८१ साल सम्म आइपुग्दा हालसम्मकै उच्च ११ लाख ४८ हजार पर्यटन भित्रिएर ६२ करोड ३४ लाख विदेशी मुद्रा आर्जन भएको देखिन्छ। 

पर्यटनको आगमनले होटेल व्यवसाय उत्साहित देखिएका थिए। सोहीअनुसार लगानी पनि बढिरहेको थियो। २०४७ सालमा ५७ वटा तारे होटेल रहेकोमा २०६२ मा ११० पुग्यो। २०७७ मा एकैबर्ष २६ वटा तारे होटेल निर्माण सम्पन्न भए। त्यसयता २०८० सालमा १८२ वटा रहेका तारे होटेल २०८१ मा २१४ पुग्यो। 

२१४ तारे होटेल र १३६४ पर्यटकीय होटेलमा गरी ६२ हजार ६ सय बेड छन्। पर्यटकीय होटेलको लगानी पनि २०७७ को कोभिड पछि निकै बढेको हो। २०७८ मा ३२ हजार ६३७ रहेका पर्यटकीय होटेल २०७९ मा ३७ हजार पुग्यो। २०८२ मा एकै पटक ४२ हजार २९९ पुगेको छ। 

होटेलको खपत र संख्या बढ्नुमा आन्तरिक पर्यटन प्रवर्द्धनले समेत टेवा पुर्‍याएको बताउँछन् व्यवसायी भेला दुलाल। नेपालीको आम्दानी बढेपछि खर्चगर्ने क्षमता वृद्धि भएको उनको भनाइ छ। २०४७ सालमा २०४ अमेरिकी डलर रहेको प्रतिव्यक्ति आम्दानी २०७२/७३ मा पुग्दा ८८८ पुग्यो। त्यसपछि पाँचबर्षको अवधि (२०७७/७८) मा एक हजार २७७ पुग्यो। 

purba.jpg

गत आर्थिक वर्ष २०८०/८१ मा एक हजार ४४३ डलर अर्थात् एक लाख ९२ हजार नेपाली रुपैयाँ पुगेको छ। कुल ग्राहस्थ उत्पादनको हिस्सामा पनि सेवा क्षेत्रको बलियो प्रभाव छ। २०७७/७८ देखि ६० प्रतिशत बढी योगदान गरेको सेवा क्षेत्रले २०८०/८१ मा ६२.४ प्रतिशत योगदान पुर्‍याएको हो। कृषि र उद्योग क्षेत्रको योगदान कमजोर बन्दै जाँदा सेवा क्षेत्र बढी योगदान गरेको छ। 

राष्ट्रिय होटेल तथा रेस्टुरेन्ट सर्वेक्षण २०२३/२४ का अनुसार एक लाख ४२ हजार २२३ होटेल तथा रेस्टुरेन्टमा ३ लाख ८७ हजार ७ सय प्रत्यक्ष संलग्न छन्। त्यसमध्ये १६ सय ८३ जना विदेशी नागरिक रहेको तथ्यांक छ। अस्थायी र नियमित गरी २ लाख ८१ हजार २८८ कामदार छन्। ३ हजार ९९७ म्यानेजर छन्। ८७ हजार ७१४ नियमित जागिरे छन्। 

५ खर्ब ४३ अर्ब २५ करोडको लगानी रहेको होटेल र तथा रेस्टुरेन्ट व्यवसायमा वार्षिक रूपमा २० अर्ब ६१ करोड ५ लाख तलब ज्याला भुक्तानी हुने गरेको छ। ७९ अर्ब ८४ करोड ४८ लाखमा स्थापित भएका होटेलहरू सर्वेक्षणको मूल्यांकनका आधारमा २ खर्ब १६ अर्ब ७३ करोड ८३ लाख पुगेका छन्। 

देशभरका एक हजार एक सय २१ होटेलमा पूर्ण विदेशी लगानी रहेको छ। जसमध्ये एक हजार ७३ होटेलमा एकल लगानी र ४८ मा विदेशीको संयुक्त लगानी रहेको पाइएको छ। देशभर ५९ होटेलमा भने नेपाली र विदेशी लगानीकर्ताको संयुक्त लगानी छ। प्रत्येक दिन ५३ लाख ४९ हजार होटेलको ग्राहक बन्ने गरेको तथ्यांक छ।

यस्तो उचाइ लिइरहेको क्षेत्र पछिल्लो आन्दोलनको मारमा परेका छन्। जसले भौतिक संरचनामा त क्षति गर्‍यो नै उद्योगीको मनोबल गिर्नुका साथै पर्यटकहरूको विश्वास फर्किनसमेत समय लाग्ने देखिन्छ। यस्तोमा पनि व्यवसायीहरू भने अझै प्रयास गरेर फेरि उठ्ने घोषणा गरिरहेका छन्। 


प्रकाशित : बिहीबार , असोज ९ २०८२०७:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend