विराटनगर- लागुऔषध (ड्रग्स) मा फसेका युवाहरू व्यावसायिक जीवनमा फर्किने क्रम बढ्दै गएको छ। पछिल्लो समय बढ्दै गएको कफी कल्चरले पुराना ड्रग्स रिकभरीलाई एकीकृत गराउने काम गरेको छ।
कफीको माध्यमबाट सामाजिक जीवनमा मात्र फर्किएका छैनन् त्यसैलाई व्यवसाय बनाउने पनि छन्। कुनै समय ड्रग्सको लतमा परेका युवाहरू अहिले कफीमा भुलेका छन्। मुख्यतः उनीहरू एस्प्रेसो, डोपीयो, लुंगो रुचाउँछन्।
लागुऔषध सेवनले परिवार, समाज, प्रतिष्ठा, प्रेम, व्यावसायिकता, जिम्मेवारीले रोक्न नसक्ने गरी छुट्टै संसारमा पुर्याउँछ। डिलरदेखि पैसाको जोहोसम्ममा दैनिकी चलिरहेको हुन्छ। हरेक दिनको जोहो कसरी गर्ने भन्ने ध्याउन्नमा हुन्छन् उनीहरू। कफी कल्चर जसले एक समयका यस्तै प्रयोगकर्ताको दैनिकी फेर्न सहयोग पुर्याएको छ।
त्यस्तै सीमित साथीभाइको लागि कफी खान सुरु गरेको सानो कफीसप अहिले पूर्वको चर्चित क्याफे भएको छ। बिहानदेखि साँझसम्म नियमित चल्ने क्याफे बनेको छ 'मंक एण्ड पंक'। यो मंकदेखि पंकसम्मका लागि कफीको प्रमुख हब बनेको छ।
कुलतबाट बाहिर निस्किए पनि खगेन्द्र मगरको पुरानै संगतले परिवार सशंकित भयो। विकल्पमा उनले आफ्नै घरमा क्याफे खोलेर भेटघाटको माहौल बनाए। क्याफेले खगेन्द्रलाई सामाजिक र व्यावसायिक व्यक्तित्व बनाएको छ। दोस्रो व्यक्तिसँग संवाद गर्न नचाहने उनमा अहिले सबैलाई नमस्कार गर्ने बानी परेका छन्। उनी क्याफे सञ्चालकमात्र होइन समाजको प्रेरणादायी युवा बनेका छन्।
जमघटको लागि खुलेको क्याफे अहिले युवा उद्यमीदेखि राजनीतिकर्मीको विचार मन्थन गर्ने थलो बनेको छ। मुख्यतः संगतको कारण नै कुलतबाट बाहिर आउने र व्यवसायमा लाग्ने गरेको मगर सुनाउँछन्। कफीमा पाइने क्याफिनको कारण शरीरमा नयाँ ऊर्जा प्राप्त हुने र त्यसले पुरानो लतलाई बिर्साउने गरेको उनको अनुभव छ।
यस्तै अवस्था भोगेका झापाका उत्सव ढकाल अहिले व्यावसायिक भएका छन्। लंका रेस्टुरेन्ट सञ्चालन गरेका उनले ड्रग्सविरुद्धको अभियान चलाइरहेका छन्। अहिले कुलतमा फसेका युवालाई उद्धार गर्ने र पुनर्जीवन केन्द्रमार्फत व्यावसायिक जीवनमा फर्काउन लागि परेका छन् उनी।
सन् २०११ पहिलोपटक धरानमा क्याफे खोलका पूर्ण राई ड्रग्स छाडेका युवाहरूले बढी मात्रामा कफी सेवन गर्ने गरेको सुनाए। रिकभरीबाट आएका युवाहरू नियमित ग्राहक बनेको कारण धरानमा क्याफेको सम्भावना बढेको उनको भनाइ छ। हाल धरानमा मात्र ५० वटाभन्दा बढी कफीसप सञ्चालनमा छन्।
कफी कल्चरले गाउँमा पनि कफी प्रयोगकर्ता बढेका छन्। पहिला मानिसको भेट्ने जक्सन भनेकै चौतारो र खुला ठाउँ थिए। ती मासिँदै गएपछि क्याफेले त्यसलाई पूर्ति गरेको छ। खुला चौर र चौतारा नभएको कारण मानिसहरू कफी सपमा आकर्षित भएका छन्।
विराटनगरमा पहिलोपटक कफीसप सञ्चालन गर्ने युनेसराज श्रेष्ठले कफी कल्चरले युवाहरूलाई उद्यमको जोडेको अनुभव सुनाए। पहिला कफीको नाममा जोक गर्नेहरू अहिले कफीसपलाई व्यावसायिक छलफलको थलो बनाउन थालेको उनी बताउँछन्।
उनले भने, ‘अहिले कफीले ड्रग्सको रि-युज घटाएको छ। पहिला ड्रग्स सेवन गर्ने युवाहरूले आफूलाई सुधार गर्दै कफीको सेवन बढाएका छन्। यसले कफीको व्यापारमात्र बढाएको छैन उनीहरूको आत्मबल पनि बढेको छ। कफीसँगै जोडिएर आउने यसको कल्चर हो जसले समाजलाई उद्यमसँग जोड्ने काम गर्छ।’
कफीसप प्रोफेसनल मिटिङदेखि आईटी र युवा विद्यार्थीको अध्ययन गर्ने थलो बनेको छ। कामको नयाँ ट्रेन्ड स्थापित हुँदै गएकाले कफी र क्याफेप्रतिको आकर्षण बढेको श्रेष्ठको भनाइ छ।
कफीखेतीमा समेत संलग्न भएका श्रेष्ठ नेपालको कफी विश्वका अन्य देशहरूको भन्दा उत्कृष्ट रहेको दाबी गर्छन्। भौगोलिक वातावरण र नेपाली माटोको कारण कफीको स्वाद अन्यभन्दा फरक र मीठो हुने श्रेष्ठले सुनाए।
नेपालको उत्पादनले माग धान्न नसक्ने अवस्था आएकाले थप खेतीको जरुरी रहेको उनी बताउँछन्। पहाडी क्षेत्रमा कफीको व्यावसायिक खेतीमा किसानलाई आकर्षित गर्न सके रोजगारी र उद्यमशीलता थप विकास भएर जाने उनको बुझाइ छ।
