सोमबार, साउन ४ गते २०८३    
सोमबार, साउन ४ २०८३

अवैधरुपमा एउटै सिमलाई २ हजार ३ सय युआन खर्चिएर साइमेक्सले गरिरहेको छ ‘विदेशी मुद्रा निर्यात’

सोमबार, भदौ १६ २०८२
अवैधरुपमा एउटै सिमलाई २ हजार ३ सय युआन खर्चिएर साइमेक्सले गरिरहेको छ ‘विदेशी मुद्रा निर्यात’

साइमेक्सले सिम कार्ड आयात गर्ने अनुमति दूरसञ्चार प्राधिकरणबाट नलिएकाले यो काम अवैध हो। यसका साथै साइमेक्सले सिम कार्ड आयात गर्दा जति विदेशी मुद्रा चीन पठाएको छ त्यसको लागि सटही सुविधासमेत लिएको छैन।

काठमाडौं- एउटा सिम कार्डको कति रुपैयाँ पर्ला? ५०, ६०, १ सय रुपैयाँ वा अलि बढी। सामान्यतः मोबाइल फोन प्रयोगका लागि आयात हुने सिम कार्डको कर तिरिसकेपछि ल्यान्डिङ कस्ट ६२ देखि ६५ रुपैयाँ परेको तथ्यांक छ। सरकारले अत्यावश्यक सेवाको वस्तुका रुपमा रहेकाले सिम कार्ड आयातमा कर सहुलियत दिएको छ। 

यस्तोमा सिम कार्ड आयात गर्ने अनुमति नै नपाएको कम्पनीले भने एउटै सिम कार्डको खरिद मूल्य नै २ हजार ३ सय चिनियाँ युआनमा ल्याएको पाइएको छ। सिम कार्डको आयात अनुमति नपाएको साइमेक्स इंक प्रालिले अस्वाभाविक मूल्यमा सिम कार्ड आयात गरेकाले विदेशी मुद्रा निर्यात भइरहेको उच्च सम्भावना देखिएको छ।

हङकङमै पनि चाइना मोबाइल हङकङ (सीएमएचके) को सिम कार्डको मूल्य सामान्यत: ३० देखि २ सय हङकङ डलरमा उपलब्ध रहेको छ। यो मूल्यमा निश्चित कल वा डेटासमेत उपलब्ध हुन्छ। सिम कार्डमात्र खरिद गर्ने हो भने त्यसको मूल्य स्वाभाविक रुपमा ३० हङकङ डलरभन्दा कम नै पर्छ।

साइमेक्सले जुन एचएस कोडमा सीएमएचकेको सिम कार्ड आयात गरेको छ त्योअनुसार आयात हुने सिम कार्डको मूल्य २ हजार ३ सय चिनियाँ युआन अर्थात ४४ हजार २२ रुपैयाँमा किनेको भनेर बिल बनाइ विदेशी मुद्रा चीन पठाएको छ। 

साइमेक्स इंकले सिम कार्डको अस्वाभाविक मूल्य देखाएर विदेशी मुद्रा निर्यात गरिरहेको छ। साइमेक्सले हालसम्म हजारौँ सिम कार्ड आयात गर्दा करोडौँ रुपैयाँबराबरको विदेशी मुद्रा नेपालबाट ‘चीन निर्यात’ गरिरहेको छ। एक हजार वटामात्रै सिम कार्ड आयात गरेको छ भने पनि साइमेक्स इंकले २३ लाख चिनियाँ युआनभन्दा बढी रकम चीन निर्यात गरिसकेको छ।

साइमेक्सले सिम कार्ड आयात गर्ने अनुमति दूरसञ्चार प्राधिकरणबाट नलिएकाले यो काम अवैध हो। यसका साथै साइमेक्सले सिम कार्ड आयात गर्दा जति विदेशी मुद्रा चीन पठाएको छ त्यसको लागि सटही सुविधासमेत लिएको छैन। 

साइमेक्स इंकको उद्देश्यमा सवारी तथा सवारीजन्य सामानको आयात गर्ने छ तर सिम कार्ड वा टेलिकम्युनिकेसन उपकरण आयात गर्ने छैन। सोही कारण साइमेक्सले सवारी तथा सवारीजन्य सामानको आयात गर्न पाएको विदेशी मुद्रा सहटीको सुविधा दुरुपयोग गरेर सिम कार्ड आयात गरिरहेको देखिन्छ।

आयात गर्न नपाइने र कम्पनीको उद्देश्यमै नभएको सिम कार्ड आयातका लागि बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले कसरी सटही सुविधा पायो? गम्भीर प्रश्न उठेको छ।

हालसम्म भन्सार विभाग, दूरसञ्चार प्राधिकरण तथा नेपाल राष्ट्र बैंकले करोडौँ रुपैयाँबराबर विदेशी मुद्रा अपचलन भइरहँदा चासो दिएका छैनन्। 

साइमेक्स इंकले मोबाइलमा प्रयोग हुने सिम कार्डकै एचएस कोडमा चाइना मोबाइल हङकङको सिम कार्ड आयात गरिरहेको छ।

दूरसञ्चार प्रयोजनमा प्रयोग हुने सिम कार्ड आयातमा सरकारले कम आयात कर तोकेको छ। यस्ता सिममा भन्सार लाग्दैन भने १० प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत भ्याटमात्र लाग्ने व्यवस्था गरिएको छ।

साइमेक्स इंकले ल्याएको एउटा सिम कार्डको भन्सारमा घोषणा गरेको खरिद मूल्य २ हजार ३ सय चिनियाँ युआन रहेको छ। साइमेक्सले प्रतिसिम कार्ड २ हजार ३ सय चिनियाँ युआन अर्थात प्रज्ञापन पत्रमा उल्लेख गरिएको बिनिमय दर १९.१४ अनुसार ४४ हजार २२ रुपैयाँमा खरिद गरेको छ। यसमा बीमा तथा फ्रेटसमेत जोडेर सबै कर लगाउँदा प्रतिसिम कार्ड नेपाल भित्रँदा ५८ हजार ५ सय ८७ रुपैयाँ परेको देखिन्छ।

सिम कार्डकै भन्सार उपशीर्षक ८५२३.५२.१० मा नेपाल टेलिकम र एनसेलले आयात गरेको सिम कार्डको भन्सारसहित ६२ देखि ६५ रुपैयाँ प्रतिगोटामा आयात भएको छ। तर साइमेक्सले ल्याएको सोही एचएस कोडमा पास भएको सिम कार्डको मूल्य भने अस्वाभाविक देखिएको हो।

यस्तो अस्वाभाविक मूल्यमा आउँदासमेत भन्सारले कुनै सोधीखोजी नगरी जाँचपास गरिरहेको छ। जसको परिणाम साइमेक्सले खुलेआम विदेशी मुद्रा निर्यात गरिरहेको छ। 

साइमेक्स इंकले जीएसएम-डिभाइस आयातको स्वीकृति लिएको डकुमेन्ट देखाएर सिम कार्ड आयात गरिरहँदा दूरसञ्चार प्राधिकरणले पनि कुनै चासो देखाएको छैन। नेपालमा चाइना मोबाइल हङकङको सक्रिय सिम कार्ड साइमेक्सले ‘आधिकारिक बिक्रेता’का रुपमा आयात गरेर बिक्री गरिरहँदा नियामक निकाय मौन देखिएको छ। 

जीएसएम-डिभाइस आयातको स्वीकृति पनि बीवाईडी बिक्रेता साइमेक्स इंकले नभइ डेलकन कम्प्लायन्स प्राइभेट लिमिटेडले लिएको छ। बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडले उत्पादन गरेको जीएसएम डिभाइस आयातको अनुमति डेलकनले लिएको हो। यस्ता डिभाइस पनि साइमेक्सले आयात गर्न पाउँदैन। किनकि यो आयातका लागि विदेशी मुद्रा सटहीको सुविधा साइमेक्सले नभइ डेलकनले मात्र पाउँछ।

यसरी उपकरणको अनुमति लिएर विदेशी कम्पनीको सक्रिय सिम कार्ड आयात गरेर साइमेक्सले नेपाली उपभोक्ताको डेटासमेत ‘चीन निर्यात’ गरिरहेको छ। 

साइमेक्सले उद्देश्यविपरीत र ३० देखि ५० हङकङ डलरमा पाइने सिम कार्डलाई २ हजार ३ सय युआन खर्चिएकाले २२ सय युआनभन्दा बढी विदेशी मुद्रा चीन पठाइरहेको छ। यसरी विदेशी मुद्रा अपचलन हुँदा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ अन्तर्गत कारबाही हुनेछ। 

आयात कारोबारमा विदेशी मुद्राको प्रयोग हुने भएकाले विदेशी विनिमयसम्बन्धी कानून पनि आकर्षित हुन्छ। आयातकर्ताले कुन वस्तुका लागि विदेशी मुद्रा सटहीको सुविधा लिएको हो सोही वस्तुको लागि मात्र प्रयोग गर्नुपर्छ। कार आयातको लागि लिएको विदेशी मुद्रा सिम कार्ड आयातमा प्रयोग गरिएको प्रमाणित भइसकेकाले यो विदेशी विनिमयको दुरुपयोग हो। 

विदेशी विनिमय (नियमित गर्ने) ऐनले यस्तो गैरकानूनी काम गर्ने व्यक्ति वा संस्थालाई जरिवाना र कैदको व्यवस्था गरेको छ। नेपाल राष्ट्र बैंकले यस्तो गतिविधिमाथि निगरानी राख्छ र कारबाहीका लागि सिफारिस गर्छ। 

'कुनै खास उद्देश्यको लागि वा कुनै सर्तमा विदेशी विनिमय प्राप्त गरेको भए त्यस्तो विदेशी विनिमय अन्य काममा लगाउन वा उक्त सर्त उल्लंघन गर्नु हुँदैन' ऐनमा भनिएको छ। 

यस्तोमा साइमेक्स इंकले सिम कार्ड आयात गरेकाले यो उद्देश्यविपरीतको आयातलाई कानूनले अवैध आयात मान्छ। भन्सार जाँचपासको क्रममा आयातकर्ताले आफूले आयात गरेको वस्तुको सही विवरण दिनुपर्छ। यदि कारको पार्ट्स वा अन्य कुनै बहानामा सिम कार्डजस्ता नियन्त्रित वस्तुहरू आयात गरिएको पाइएकाले त्यो अघोषित आयात वा गलत विवरण पेश गरेको प्रष्ट भइसकेको छ।

यसरी आयात गर्दा भन्सार ऐन, २०६४ अनुसार अवैध आयातमा संलग्न व्यक्ति वा कम्पनीलाई सामान जफत गर्नुका साथै सामानको मूल्य बराबरको जरिवाना हुने स्पष्ट व्यवस्था गरेको छ। यसबाहेक त्यस्तो कार्यमा संलग्न कम्पनीको आयातकर्ता इजाजतपत्र पनि खारेज हुनसक्ने कानूनी व्यवस्था रहेको छ। 

बीवाईडीले ‘डेटा चोरी’ गरेको इजरायलको ठहर, नेपालका सुरक्षा निकाय र नियामक मौन बीवाईडीले ‘डेटा चोरी’ गरेको इजरायलको ठहर, नेपालका सुरक्षा निकाय र नियामक मौन

उद्देश्यविपरीत सिम कार्ड आयात गर्न साइमेक्सले कसरी पायो विदेशी मुद्रा सटहीको सुविधा?उद्देश्यविपरीत सिम कार्ड आयात गर्न साइमेक्सले कसरी पायो विदेशी मुद्रा सटहीको सुविधा? जीएसएम-डिभाइस आयातको अनुमति लिएर सिम कार्ड आयात, बीवाईडी चढ्ने नेतादेखि उच्चपदस्थको लाइभ डेटा सिधै चीनजीएसएम-डिभाइस आयातको अनुमति लिएर सिम कार्ड आयात, बीवाईडी चढ्ने नेतादेखि उच्चपदस्थको लाइभ डेटा सिधै चीन बीवाईडी बिक्रेता साइमेक्स इंक ‘चाइना मोबाइल हङकङ’को पनि आधिकारिक बिक्रेता?बीवाईडी बिक्रेता साइमेक्स इंक ‘चाइना मोबाइल हङकङ’को पनि आधिकारिक बिक्रेता? नेपालमा गुड्ने गाडीमा छ्यापछ्याप्ती चिनियाँ सिम कार्डनेपालमा गुड्ने गाडीमा छ्यापछ्याप्ती चिनियाँ सिम कार्ड बीवाईडी सिलायनमा ‘चाइना मोबाइल’को सिम कार्ड : मेकानिकल उपकरणसँगै टेलिकम उपकरणको आयात अनुमति मिल्छ?बीवाईडी सिलायनमा ‘चाइना मोबाइल’को सिम कार्ड : मेकानिकल उपकरणसँगै टेलिकम उपकरणको आयात अनुमति मिल्छ? बीवाईडी बेच्ने साइमेक्स इंकले किन ल्यायो सिम कार्ड? एउटै सिम कार्डको मूल्य ५८ हजार ५ सय ८७ रुपैयाँबीवाईडी बेच्ने साइमेक्स इंकले किन ल्यायो सिम कार्ड? एउटै सिम कार्डको मूल्य ५८ हजार ५ सय ८७ रुपैयाँ

बीवाईडीमा साइमेक्स इंकको बदमासीबारे अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्।


प्रकाशित : सोमबार, भदौ १६ २०८२१४:०४
  • सम्बन्धित विषय:

  • # बीवाईडीमा साइमेक्सको बदमासी


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend